को हुन् योगमाया ?

समाधान संवाददाता २०७६ फागुन ८ गते १४:४२

खिम लामिछाने काजी

जुन कुरा निलम कार्की निहारिकाले धेरै मेहेनत र अनुसन्धान गरी लेखेको उपन्यास ‘योगमाया’ पढेर थाहा पाएँ— नेपालको इतिहासमा एउटा छुट्टै पहिचान बोकेकी ऐतिहासिक पात्र हुन् योगमाया । यद्यपि योगमायालाई अहिलेसम्म चिन्न नसक्ने मजस्ताहरु थुप्रै छन् भन्ने कुराको बोध भएपछि ऐतिहासिक घटनामाथि लेखिएको उपन्यास ‘योगमाया’ माथि केही नलेखी बस्नै सकिनँ । योगमाया उपन्यास फगत एक उपन्यासमात्रै होइन । इतिहासको पुनर्लेखन पनि हो । राणाकालीन अवस्थ्यामा नारी मुक्तिका कुरा, सती प्रथा, बाल विवाह, उच निच जातजाति उन्मूलन, विधवाले पुनः बिहे गर्न पाउनु पर्छ भन्ने जस्ता अनेकौ क्रान्तिकारी माग राखी राणाहरुको विरुद्धमा आवाज उठाउने वीरंगनाबारे लेखिएको उनको जीवनी हो ।

आजभन्दा १५२ वर्ष अगाडि (विसं १९२४) पूर्वी नेपालको भोजपुरमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन् । तत्कालीन अस्वथामा समाजको कठोर शासन प्रति विद्रोहको चरम स्वर उराल्ने क्रममा उनले संवत् १९९८ असार २२ गते शनिबार आफ्ना अनन्य भक्तहरू समेतलाई समेटेर जलसमाधि लिएकी थिइन् । त्योभन्दा ३ वर्ष अगाडि विसं १९९५ मा आफू लगाएर २४० जनाले सामूहिक अग्नि समाधि लिने घोषणा गरेका थिए । त्यति बेलाको त्यो सत्य घटना पनि आज एकादेशको दन्त्यकथा झैँ लाग्छ । विसं १९९७ मा धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्दलाई राणाहरुले शासन व्यवस्थाको विरोधमा लाग्योे भनेर मारेका थिए । अहिले उनीहरुलाई ४ सहिदको बलिदानको रुपमा सधैं सम्झिरहन्छौं । तर उस्तै प्रकृतिको योगदान दिने योगमाया भने इतिहासको पानामा किन छायामा परिन् भन्ने लाग्छ ।

Advertisement

तत्कालीन शासन सत्ताको विरुद्धमा आवाज उठाउने क्रममा आफूसहीत ६८ जना एकै साथ अरुण खोलामा हाम्फालेर जलसमाधि लिने साहस पक्कै सानो थिएन । त्यो सिर्फ आत्महत्या मात्रै थिएन । ठूलो संघर्ष थियो । त्यो सरकारविरुद्घ निकै ठूलो विरोधको अभिव्यक्ति थियो । ६८ जनाको सामूहिक आत्मसंहार गर्ने कार्य कुनै पनि तर्कले झिनो मसिनो हुनै सक्दैन ।

योगमाया साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक हुन् । अक्षर कोरेर शब्द निर्माण गर्न नसक्ने योगमागा आशुकवयित्री थिइन् । जे देख्यो त्यसैलाई कविताको रुपमा भन्न सक्ने, जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सक्ने बिलक्षण प्रतिभाकी प्रतिमूर्ति थिइन् । योगमाया नेपाली नारी मुक्ति आन्दोलनको अभियन्ता हुन् । साहसी महिला हुन् । उनी निडर थिइन् । हासेर सधैं भन्ने गर्थिन् ‘मार्छन् किन भन्ने डर छैन केही, आखिर काल गतिको चाह भित्रेको देही’ जस्ले तत्कालीन राणा शासनको अवस्थामा नारी शोषण, बाल विवाह, सती प्रथा, कमाराकमारी प्रथा, चक्रबर्ती ब्याज, जातपात, छोइछिटो, उचनिच, दमन, उत्पीडन, बिरुद्ध आवाज उठाएकी थिइन । राणा श्री ३ लाई ‘तँ पापी होस्, त असत्ति होस्’ भनी चिन्न लेख्न लगाउने दुस्साहस गर्ने नारी हुन् योगमाया । तत्कालीन अवस्थामा मान्छे मरेको घरमा वाचन गरिने पुराण भन्न नै बन्द गरिनुपर्ने धारणा व्यक्त गरिन् । पण्डितहरुले स्वर्ग र नर्कको कल्पना गर्दै सर्वसाधारणलाई शोषण गरेको, घरका मान्छे मरेर दुखित भइरहेको अवस्थामा सेमत दान माग्नेहरु विरुद्ध चर्को आवाज उठाइन् ।

Advertisement

रजस्वला सुरु हुनु पहिले लगभग ७–८ वर्षकै उमेरमा बिहेवारी गर्ने प्रचलन हुँदाको समयमा योगमायाको बिहे जन्मघरदेखि धेरै टाढा भएको थियो । सानै उमेरमा बिहे हुने हुँदा बिहेपछि चार–पाँच वर्ष माइत नै बस्ने प्रचलन थियो । तर, योगमायाले त्यो सुविधा पाइनन् । सासुको दिनरातको बुहार्तन र घरमा निकै कष्ट झेल्नु परेपछि १२ वर्षकै उमेरमा भागेर माइती आइन् । २ दिन जंगलमै बास बसिन् । रुखमा चढेर रात कटाइन् । बिहेदान गरेर दिएकी छोरीलाई घरमा राख्न नमिल्ने भनेर बाउले फिर्ता लिएर जान्छन् । तर घरमा २ दिन हराएकी बुहारीलाई फिर्ता राख्न मान्दैनन् र माइतीमा नै बस्न बाध्य हुन्छिन् । माइतीमा पनि सबैले हेलाँ गर्न थाल्छन् र उनी आसामतिर एक्लै लाग्छिन् । आसाममा कँडेल थरका केटासँग बिहे गरी छोरी नैनाकलाको जन्म हुन्छ । केही वर्षपछि योगमायाले आफ्ना गाउँमा पुराण लाग्ने हल्ला सुन्छिन् । त्यसपछि कँडेल दम्पती छोरी च्यापेर पुराणस्थल पुग्छन् । ‘परस्त्री वा परपुरुष गमन गर्नाले भविष्यमा नर्कको यातना भोग्नु पर्छ । यदि अज्ञानवश कसैले यस्तो अपराध गरेको रहेछ र ज्ञान प्राप्त भएपछि त्यो अपराध त्याग्यो भने त्यसको प्रायश्चित्त हुन्छ ।’ भन्ने पुराणको कथाले योगमायाको मन परिवर्तन हुन्छ ।

आफूले गल्ती गरेको भन्ने लाग्छ । गल्तीको प्रायश्चित गर्ने भनरे एक अर्कामा छुट्टिएर बस्ने निर्णय गर्छन् । त्यसबेला योगमायाकी छोरी नैनकला चाहिँ योगमायासँगै बस्ने सहमति हुन्छ । आसममा छोरीसँग एक्लै बस्न गाह्रो भएपछि माइतीमा दाजु र भाउजुलाई खबर गर्छिन् । दाजुले लिएर आउँछन् । तर समाजमा उनका अनेकौ कुराहरु चल्न थाल्छन् । त्यसपछि उनी स्वर्गद्वारी पनि पुग्छिन् । स्वर्गद्वारीका चैतन्य महाप्रभु अभयानन्द द्वितीयबाट दिक्षा लिन्छिन् । विभिन्न साधना गरेर योगमायाले वर्षौं वर्ष गुफामा नै बसेर साधना गर्छिन् ।

जाडो दिनमा उनी आधा महिनासम्म अरुण नदीमा कम्मरसम्म डुबाएर ध्यान गर्छिन् भने गर्मी महिनामा धुनी जगाएर आगोका राप नजिकै बसेर तपस्या गर्छिन् । उनकी छोरी नैनाकलाको बृद्धसँग बिहे गरिएको हुन्छ । नैनाकलाको पतिको मृत्युपछि आमाछोरीसँगै बस्न थाल्छन्, कुटीमा । योगमायाले कुटीबाटै प्रवचन दिन सुरु गर्छिन् । अन्याय अत्याचार शोषण विरुद्ध बोल्न थालिन । ठूली हजुरको नामले प्रख्यात हुँदै गइन् । समाज परिर्वतनका लागि उनीले भनेका क्रान्तिकारी विचारहरुलाई ‘हजुरवाणी’ भनिन थाल्यो । त्यसले तत्कालीन समाजमा उथलपुथल ल्याउछ । समाजका प्रबुद्ध वर्ग उनी विरुद्ध खनिन्छ भने निमुखाहरुले उनको साथ दिन्छन । योगमाया जति कविता भन्थिन् नैनकला त्यति नै कण्ठाग्र पार्ने गर्थिन । योगमाया र नैनकला दुवै निरक्षर थिए ।

योगमायाका क्रान्तिकारी कविताहरुलाई प्रेमनारायण भण्डारीहरुद्वारा लिपिबद्ध गरी हजुरवाणीको रुपमा धेरै ठाउँमा वितरण गरिन्छ । समाज सुधारका लागि कुरीति, अन्धविश्वासको विरोध गर्दै गाउँमा जागरणको कदम चाल्दा धर्म भिक्षाका लागि तत्कालीन श्री ३ सँग पटकपटक आफ्ना अनुयायी पठाइन् । आफ्ना अनुयायी प्रेमनारायणमार्फत श्री ३ बाट धर्मभिक्षाको आश्वासन पाएको भएता पनि त्यसप्रति सरकार उदासीन रहेको हुँदा अन्त्यमा स्वयं काठमाडौं पुगेर श्री ३ जुद्धशमशेरसँग भेट गरी धर्मभिक्षा मागिन् । जुद्धशमशेरबाट धर्म भिक्षाको वचन पनि पाएको तर वचनअनुसार राणाहरूले कुनै काम नगरेकाले र झुक्याउने काम गरेकाले श्री ३ लाई चुनौती दिँदै आफ्ना २४० भक्तहरूका साथ अरुण नदीछेउ अग्निदाह गर्ने घोषणा गरिन् । अग्निदाह गर्ने भनी तोकिएको ठीक अघिल्लो दिन धनकुटा र भोजपुरका बडाहाकिमहरू ५ सय जति सैनिक लिएर मझुवाबेसी पुगी योगमाया र उनका अनुयायीलाई बन्दी बनाए ।

पुरुष अनुयायीलाई धनकुटा झ्यालखानमा थुने । अग्निदाहको आरोपमा पक्राउ परेका रत्नबहादुर बस्नेतको धनकुटा कारागारमै मृत्यु भयो भने उनकी धर्मपत्नी र चार छोरीहरुले जलसमाधि लिएका थिए । तीन वर्षभित्र सबै बन्दी थुनामुक्त भएपछि योगमायासहित ६८ जनाले विसं १९९८ असार महिना हरिशयनी एकादशीका दिन अरुण नदीमा जल समाधि लिए । योगमाया भक्ति मार्गबाट समाज सुधारका लागि क्रान्ति गर्ने पहिलो महिलावादी हुन् ।

योगमायाबारे विगतमा लेखिएका कतिपय त्रुटिहरुलाई लेखक कार्कीले स्थलगत अध्ययन गर्ने क्रममा पत्ता लगाएकी छन् । योगमायाबारे सम्पूर्ण जानकारी लिने हेतुले लेखिका कार्की योगमायाको जन्मघर, कर्मघर, उनले ध्यान तपस्या गर्ने गरेको स्थल, एकैपटक ६८ जनाले आत्मसंहार गरेको अरुण खोलाको किनारा, योगमायाका अहिलेका जीवित आफन्तीहरु, आत्मसंहार गर्नेहरुको परिवारहरु सबैसँग भेटकी छन् । त्यसैले यो इतिहासको पुनर्लेखन पनि हो ।

लेखिकाले सबै ठाउँहरु गएर फोटो पनि खिचेको बताएकी छन् । इतिहासबारे जानकारी नभएका, योगमायाबारे थाहा नपाएका म जस्ताहरुका लागि यो उपन्यास मात्र नभएर एउटा इतिहास नै हो । योगमायाका बारेमा खोजी गर्नेहरुका निमित्त अत्यन्तै उपयोगीसिद्ध हुनेछ यो उपन्यास । भाषाशैली अन्यन्तै सरल छ । जनजीब्रोले बोल्ने भाषालाई प्रयोग गरिएको छ । उपन्यासका पृष्ठहरु धेरै भएता पनि रोचक घटनाक्रमले गर्दा ‘अब पछि के होला भन्दै कौतुहलताले पाठकलाई रोमाञ्चित बनाउँछ । उपन्यासमा तत्कालीन सामाजिक साँस्कृतिक परिवेशको चित्रण गरिएको छ । साथै थुप्रै लोपोन्मुख नेपाली शब्द तथा स्थानीय शब्दहरुको प्रयोग गरिएको छ । कतिपय शब्दको अर्थ आजका युवा पुस्तालाई थाहा नै छैन । जस्तैः मिही खाबो, हत्तर, फुलकाश, जस्केला, घिड्किसो आदि । उपन्यास पढिसकेपछि पाठकलाई २०७४ सालको मदन पुरस्कार पाउनै पर्ने कृतिले पाएको रहेछ भन्ने आत्मसन्तुष्टि अवश्य मिल्नेछ । उपन्यास पढ्दा पढ्दै आँखा अगाडि चलचित्र झै घटना र पात्रहरु घुमिरहन्छ, यो नै लेखिकाको कला हो । जसले उपन्यासलाई जीवन्त बनाएको छ ।

योगमायाले प्रयोगमा गरेको सन्दुक, बस्ने गरेको पिर्का अझसम्म पनि रहेछ । लेखक स्वयंले हेरेको देखेको कुरा उल्लेख गरिएको छ । योगमायासँग सम्बन्धित ऐतिहासिक वस्तुहरुको उचित संरक्षण गरी संग्रालय बनाउँदा योगमायाबारे शोध गर्न आउनेलाई सजिलो हुने थियो । भावी पुस्ताले योगमायाबारे जानकारी लिन सक्थे । लेखिकाले उपन्यास योगमायासँग सम्बन्धित ठाउँहरु जन्मघर माझुवाबेसी, सिम्ले, कर्मघर धोद्ले, भोजपुर, दिङ्ला, आमटारी, बडहरे, चिर्खुवा खोला, कात्तिकेघाट लगाएर योगमाया आफ्नो आनुयायीहरुसँग काठमाडौं आउँदा बास बसेको स्थान, ६८ जनाले एकैपटक जलसमाधि लिएको अरुण खोला सबै ठाउँहरुमा पुगेको फोटो खिचेको कुराको चर्चा गरेकी छन् । अन्तमा एकैपटक अरुण खोलामा ज्यान दिएर सहिद हुनेहरु र आज जीवित तीनका पुस्ताहरु बीच सपनामा केही संवाद हुन्छ कि हुँदैन होला ? कुराकानी भयो भने कस्तो कुरा हुन्छ होला ? धर्ती हेरेर योगमायाहरु के भन्दै होलान् ? भन्ने जस्ता प्रश्नहरु गरेकी छन् ।

योगमायाबारे नाटक पनि मञ्चन गरिएको थियो जस्मा योगमायाको भूमिका मिथिला शर्माले निर्वाह गरेकी थिइन् । योगमायाको योगदान र उनी बसेको ठाउँहरुको संरक्षण र सम्बर्धन गर्ने हेतु योगमाया स्मृति प्रतिष्ठान, कुलुङ, योगमाया शक्तिपीठ, मझुवाबेसी जस्ता संस्थाहरुले छन् । योगमाया जस्तै इतिहासको कुनै कालखण्डमा समाज सुधारका लागि योगदान दिने अन्य महिला पुरुष पनि होलान । जस्को चर्चा हुन सकिरहेको छैन । उनीहरु बारेमा पनि यस्तै गरी ऐतिहासिक उपन्यास लेखिनुपर्छ । जसले गर्दा आजका पुस्ताले साहित्य मार्फत इतिहासमा घटेका घटना र पात्रहरुबारे जान्ने अवसरहरु पाउने छन् । अर्कोतिर समाज र राष्ट्रको योगदान दिनेको उचित कदर पनि हुनेछ ।

तपाईको प्रतिक्रिया