कफी खेतीमा संकटकाल !

समाधान संवाददाता २०७६ फागुन ११ गते १४:२३

समाधान संवाददाता
पोखरा

सुरुमा पात ओइलाउने, फल हरियोमै झर्ने, हाँगाको टुप्पोबाट सुकेर मर्दै जाने र दाना बोटमै सुक्ने जस्ता नयाँ समस्या देखिएसँगै कास्कीका कफी किसान चिन्तित बनेका छन् । गत माघ १५ देखि कफी खेतीमा यस्तो समस्या देखिएको हो ।

समस्या देखिएका ठाउँमा सरोकारवालाले अनुगमनसमेत गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ मा लगाइएको कफीमा यो समस्या धेरै देखिएको छ । माछापुच्छ्रे उत्तम कफी सहकारी अध्यक्ष कुलाधर भुगाइले महामारीको रुपमा आएको यस रोगका कारण किसान समस्यामा परेको बताए । चीनमा भाइसर आए जस्तै नेपालमा पनि कफी भाइरस आएको महसुस भएको उनले सुनाए ।

Advertisement

लागेको फल फल रातो भएर पाक्छ भनी बसेका किसान बोट नै सुक्ने र फल सेतो हँुदै सुक्न थालेपछि समस्यामा परेका हुन् । वडामा ६ सय १० रोपनीमा कफी खेती हुने गरेको जानकारी दिँदै उनले २०६३ मा संस्था गठन गरी सुरुवातमा ६१ हजार ५ सय बिरुवा लगाएको भुगाइले जानकारी दिए । कफी खेती थालेको १३ वर्षमा पहिलो पटक यस्तो समस्या देखिएको उनले बताए ।

‘गत वर्ष २० हजार र यो वर्ष ३० हजार बिरुवा रोप्यौं, राम्रो उत्पादन देलाभन्दा किसानलाई अहिले रुवावासीमै पारेको छ,’ उनले भने । कफीको बिमा गर्न खोजे पनि समस्या आएको उनले जनाए । उनले भने, ‘बिमा गर्न ५ सय बगान हुनुपर्ने भनेपछि बिमा नगरी फर्कियौं ।’

Advertisement

बागवानी अनुसन्धान केन्द्र पोखरा प्रमुख युवराज भुसाल यो समस्या कास्कीमा मात्र नभई अन्य जिल्लामा पनि देखिएको बताउँछन् । यस वर्ष अघिल्ला वर्षको तुलनामा बढी चिसो भएकाले यस्तो भएको हुन सक्ने उनको अनुमान छ । बिहान बेलुकी एकदमै चिसो र दिउँसो तातो हुने भएकाले कफीका लागि वातावरण अनुकूल बन्न नसकेको उनले सुनाए । भुसालले जरा सुख्खा भएका ठाँउमा पानी हालिदिने गरे सुकेका बोट बिस्तारै पलाउँदै जान सक्ने सम्भावना औंल्याए ।

राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड पोखरा कार्यालय प्रमुख चन्द्र पुरीले कफीका फरक फरक जात लगाएका कारण पनि यस्तो समस्या आएको हुन सक्ने अनुमान गरे । पहिला यस्तो समस्या नदेखिएकाले के कारणले यस्तो भयो अनुसन्धान भइरहेको उनको भनाइ छ । यस वर्ष ९ लाख किलो चेरी उत्पादन हुनुपर्नेमा ४० प्रतिशत उत्पादन घटने अनुमान गरिएको छ । यो समस्याका कारण कफी संकट वर्ष नै घोषणा गर्नुपर्ने उनको तर्क छ । कास्कीसँगै स्याङ्जा, पाल्पा, तनहुँ, गोरखा, लमजुङ, सिन्धुपाल्चोक, ललितपुर लगायतका जिल्लामा यो समस्या देखिएको छ ।

जिल्ला कफी सहकारी संघ कास्की अध्यक्ष आन्नद सुवेदीले कास्कीमा थुप्रै ठाउँमा कफी मर्ने समस्याले किसानलाई चिन्तित बनाएको बताए । केही दिनमै बगान सुक्दा किसान हतोत्साही भएको उनको भनाइ छ । समस्या समाधान गर्न वा किसानलाइ राहत उपलब्ध गराउन सरकाले पहल गर्नुपर्ने उनको माग छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका अधिकृत सागर घिमिरेले तत्काल यस्तो समस्याका लागि आकस्मिक सेवा अन्तर्गत बढीमा १० रोपनीमा भएको ठाउँमा पुनस्र्थापनाका लागि क्षति भएका बिरुवा उपलब्ध गराउन सकिने उल्लेख गरे । कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी अधिकृत किरण सिग्देल कफी रैथाने बाली नभई आयातीत भएकाले यो नौलो समस्या आएको विचार राखे ।

नेपालमा १९९५ मा कफी खेती सुरु भए पनि २०४० बाट व्यावसायिक रुपमा खेती गर्न थालिएको हो । नेपालमा हाल २ हजार ७ सय ६१ हेक्टर जमिनमा कफी खेती गरिएको छ भने नेपालमा वार्षिक ५ सय ३० टन कफी उत्पादन हुन्छ । नेपालमा करिब ११ लाख हेक्टर जमिनमा कफी खेती गर्न सकिने बताइन्छ । करिब ९० हजार हेक्टरमा उच्च गुणस्तरको कफी खेती हुने अध्ययनले देखाएको छ ।

गण्डकी प्रदेशका ८ जिल्लामा १६ प्रतिशतले १ रोपनीभन्दा कम जग्गामा व्यावसायिक कफी खेती गरेका छन् भने ७१ प्रतिशतले ५ रोपनीभन्दा कम र ४ प्रतिशतले १० रोपनीभन्दा बढी क्षेत्रमा कफी खेती गरेको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया