सडक सुरक्षाका लागि पहिरो जाने ठाउँमा सुरुङ मार्ग निर्माण गर्ने याेजना

समाधान संवाददाता २०७६ फागुन ११ गते १४:३९

समाधान संवाददाता
काठमाडौं

सरकारले देशका मुख्य राजमार्गमा सडक सुरक्षा र चुस्त ट्राफिक व्यवस्थापन गर्न छोटा सुरुङ मार्ग निर्माण गर्ने योजना बनाएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्र अन्तर्गतको नव प्रबद्र्धन तथा वैकल्पिक शाखाले छोटा सुरुङमार्ग बनाउन उपयुक्त स्थानको पहिचान गरिरहेको छ ।

शाखाको इन्जिनियर टोलीले सडक विभागका देशभरका राजमार्ग हेर्ने इन्जिनियरहरुसँग समन्वय गरेर त्यस्ता स्थान पहिचान गरिरहेको छ । केन्द्रका निर्देशक घनश्याम बस्नेतका अनुसार टोलीले समन्वय गर्दै सम्भावित स्थानको पहिचान गर्नेछ । १ महिनाभित्र सुरुङमार्ग बनाउने स्थानको पहिचान हुने र त्यसपछि अध्ययनका लागि दिइने प्रस्तावना (टिओआर)तयार पारिनेछ ।

Advertisement

त्यसपछि सूचना निकालेर परामर्शदातामार्फत सम्भाव्यता अध्ययन हुनेछ । उक्त प्रतिवेदनले ती स्थान सुरुङमार्ग निर्माण गर्न सम्भव देखाए थप अध्ययन, विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को प्रक्रिया अघि बढ्नेछ । परामर्शदाताले करिब ६ महिनामा रिपोर्ट तयार पार्ने छन् । ‘पहाडी क्षेत्रको सडक वर्षातमा पहिरोले सताउँछ,’ उनले भने, ‘केही स्थानमा २ देखि ३ सय मिटर सुरुङ बनाउन सकिए त्यस्ता समस्याबाट मुक्ति पाइन्छ ।’

बस्नेतका अनुसार बेनी जोमसोम सडक खण्ड बर्सेनि बर्खामा बग्ने गरेको छ । त्यहाँ छोटो सुरुङमार्ग बनाउन सकिए सडक सहज हुने अवस्था छ । स्याङजामा भालु पहाडमा पनि छोटो सुरुङमार्गको आवश्यकता छ । मुग्लिन नौविसे, नारायणगढ मुग्लिन लगायतका क्षेत्रमा समेत सुरुङमार्गको अध्ययन हुनेछ । राजमार्गलाई बाह्रै महिना सञ्चालन हुने वातावरण बनाउन सुरुङमार्ग निर्माण अध्ययन अघि बढेको हो । यसले नेपाल सुरुङ मार्गको क्षेत्रमा नयाँ भएकाले इन्जिनियरहरुको क्षमता अभिवृद्धिमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । साना सुरुङमार्ग बनाउन सकिए धेरै सिक्ने र बुझ्ने अवसर प्राप्त हुने बस्नेतको दाबी छ ।

Advertisement

सुरुङमार्ग सम्वन्धी नेपालको आफ्नै ‘कोड अफ डिजाइन’ छैन् । मापदण्ड बनाएर ‘कोड अफ डिजाइन’ समेत ल्याउन लागिएको बस्नेतले जानकारी दिए । अहिले नौविसे नागढुंगा सडक ‘अन्तर्राष्ट्रिय कोड अफ डिजाइन’का आधारमा निर्माण भइरहेको छ । जापानको आर्थिक र प्राविधिक सहयोगमा यो सुरुङमार्ग निर्माण हुँदै छ ।

पाल्पाको सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि नेपालले आफ्नै स्रोतबाट निर्माण गर्न स्पेसिफिकेसन र विडिङ डकुमेन्ट तयार पारिरहेको छ । स्विस सरकारको सहयोगमा डिजाइन तयार पारिएको यो सुरुङमार्गको ठेक्का निकाल्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया