एमसिसीका केही बुँदा अमान्यः नेकपा नेता झलनाथ खनाल

समाधान संवाददाता २०७६ फागुन १३ गते १२:४८

समाधान संवाददाता
पोखरा

नेकपा वरिष्ठ नेता झलनाथ खनालले एमसिसीका केही बुँदा अमान्य रहेको बताएका छन् । एमसिसीका केही बुँदा स्वीकार गर्न नसकिने भएकाले सच्याउन सुझाव दिएको खनालले बताएका हुन् ।

नेकपाले गठन गरेको एमसिसी अध्ययन गर्न कार्यदलका संयोजक खनालले नेकपा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा यस्तो बताएका हुन् । उनले तत्कालीन सरकारले केही गम्भीर बुँदामा हस्ताक्षर गरेको बताउँदै अब त्यसलाई सच्याउन सुझाव दिए । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही अमान्य बुँदा रहेको सम्झौतामा हस्ताक्षर गरेको उनको भनाइ थियो ।

Advertisement

अमेरिकाले दिने ५० करोड डलरको अनुदानलाई नराम्रो भन्न नसकिने भए पनि त्यसका केही बुँदा अमान्य रहेको उनले उल्लेख गरे ।

‘एमसिसी सम्झौता ५ वर्षका लागि हो ’, उनले भने, ‘१० वटा यस्ता बुँदा छन्, जो सदाका लागि भनेर लेखिएको छ, त्यो कुरालाई मान्न सकिँदैन् । झुटा कुरा धेरै भनेर काम छैन, हामी प्रकाशित गर्छौं, तपाई पनि गहनतापूर्वक अध्ययन गर्नुस्।’

Advertisement

एमसिसीलाई इन्डोप्यासिफिक स्ट्राटेजीको अंग हो नभनेको खनालको भनाइ छ । अमेरिकी नेताले ठाउँ कुठाउँ अंग हो भनेको उनले बताए । यसबारे अमेरिका नै प्रष्ट नरहेकाले प्रष्ट्याउनुपर्ने खनालको भनाइ थियो ।

तपाईको प्रतिक्रिया