सिटी रेवानको आठाैं फुड फेस्टिबल २३ देखि २५ सम्म

समाधान संवाददाता २०७६ फागुन १४ गते १३:४३

निश्चल प्रजापती
पोखरा

आठौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल फागुन २३ देखि २५ सम्म हुने भएको छ । महोत्सव पोखराको सिर्जनाचोकबाट आलुमाइला चोकसम्मको सडकमा आयोजना गरिने छ । पोखरा नगर रेस्टुरेन्ट एन्ड बार एसोसियसन (सिटी रेवान) ले आयोजना गर्दै आएको हो । महोत्सवको आठौं संस्करण छोटो बनाइएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यो वर्षको महोत्सव र फुड फेस्टिभल सडकमा नै गर्न लागिएकाले महोत्सव छोट्याइएको सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले बताए । नेपाल भ्रमण वर्ष २०२० लाई समेटेर ‘सडकमा नै खाऔं, सडकमा नै रमाऔं’ भन्ने उद्देश्यले महोत्सव सडकमा गर्न लागेका बताए । महोत्सव तथा फुड फेस्टिबलको प्रवेश टिकट पनि निशुल्क गरिएको छ । त्यसैले आर्थिक पाटोका कारण पनि महोत्सवको यस संस्करणलाई छोट्याएका हौं,’ तिमिल्सिनाले बताए ।

Advertisement

पत्रकार सम्मेलनमा विभिन्न निकायबाट अनुमति लिएर, टोलबासी र टोल सुधार समितिसँगको समन्वयमा सडकको १ पट्टि मात्रै कार्यक्रम गर्न लागिएको जानकारी दिए । सर्वसाधारणलाई कुनै समस्या नपर्ने पनि अध्यक्ष तिमिल्सिनाले बताए । बिहान ११ बजेदेखि राती ८ बजेसम्म सञ्चालन हुने महोत्सवमा रेस्टुरेन्ट प्रयोजनका लागि १६ र अन्य प्रयोजनका लागि १० गरी स्टल रहने छन् । प्रवेश निशुल्क रहेको महोत्सवलाई ३० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

महोत्सवमा विभिन्न प्रतियोगिताको आयोजना हुने छ । ढिंडोे खाने प्रतियोगिता, रत्यौली प्रतियोगिता, भाले छोप्ने प्रतियोगिता पनि समावेश गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका लोक दोहोरी र हाँस्य कलाकाको प्रस्तुतिले मनोरञ्जन लिन सकिने छ ।

Advertisement

महोत्सवमा पप कन्सर्टका साथै कृषि र स्थानीय कृषिजन्य वस्तुको प्रदर्शनी हुने छ । आयोजकले स्थानीय मौलिक खाना उजागर गर्न र लोप हुन लागेका खाना बिलाउन नदिन पनि महोत्सवलाई निरन्तरता दिने उल्लेख गरेको छ ।

२० लाख खर्च लाग्ने अनुमान गरेको महोत्सवबाट २० लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान छ । आयोजकले बचत हुने ५० हजार असहाय बालबालिकाको सहयोग र पर्यटन प्रवद्र्धनमा खर्च गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया