चिकित्सकको राष्ट्रिय सम्मेलन सुरु

समाधान संवाददाता २०७६ फागुन १६ गते १३:०६

समाधान संवाददाता
पोखरा

पोखरामा ३२ वर्षपछि चिकित्सकको राष्ट्रिय भेला सुरु भएको छ । भेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । नेपाल चिकित्सक संघ ७० वर्षअघि स्थापना भएको हो । २८ औं राष्ट्रिय सम्मेलनमा देशभरका विभिन्न क्षेत्रका ५ सय चिकित्सकको सहभागिता छ ।

बिहीबार सुरु भएको सम्मेलन शनिबार सकिनेछ । सम्मेलनबाट निस्किएको निष्कर्ष एवं पोखरा घोषणा पत्रलाई सरकारसमक्ष पेश गरिनेछ । पहिलो दिनको स्वास्थ्य तथा राजनीति सम्बन्धी छलफल भएको छ । छलफलमा डा. केके राईले प्रस्तुति राखेका छन् । पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा, नेपाल मेडिकल एसोसियनका प्राडा अर्जुन कार्की लगायत चिकित्सकको टोलीले फरक फरक समूहमा रहेर समूहगत रुपमा छलफल गरेका थिए ।

Advertisement

सम्मेलन ३ दिनसम्म हुनेछ । उपचारमा आधुनिक उपकरणको प्रयोग, औषधी लगायत विभिन्न सेवा सुविधाको बारेमा छलफल गरिनेछ । प्राप्त स्रोत र साधनका भरमा बिरामीको स्वास्थ्योपचार गर्नुपर्ने विद्यमान परिस्थितिका बारेमा समेत छलफल केन्द्रत भएको छ । सहरी क्षेत्रमा भन्दा ग्रामीण तहमा स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेको अवस्थामा भएका स्वास्थ्यचौकीलाई प्रभावकारी बनाउने विषयमा चिकित्सकको छलफल केन्द्रीत रहेको नेपाल चिकित्सक संघ गण्डकी शाखाका उपाध्यक्ष एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका दन्तरोग विशेषज्ञ डा. सुनील पनेरुले बताए ।

सम्मेलनमा नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, सम्मेलनबाटै पदभार ग्रहण गरेका अध्यक्ष डा लोचन कार्की, नेपाल चिकित्सक संघ गण्डकी शाखाका महासचिव डा. कृष्णचन्द्र रिजाल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया