आगामी वर्ष सबै घरमा बिजुली र पानीः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षभित्रमा गण्डकी प्रदेशका सबै घरमा बिजुली बत्ती र आधारभूत खानेपानीको प्रवन्ध गरिने बताएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका १ र २ लाई जोड्ने गरी खारपानी स्थित सेती नदीमा निर्माण गरिएको पक्की मोटरेबल पुल सोमबार उद्घाटन गर्दै उनले प्रदेशका करिब ६ लाख घरधुरीमा नै खानेपानी र बिजुली बत्तीको प्रवन्ध गर्ने अभियानका साथ सरकारअघि बढेको उल्लेख गरे ।
सरकारको पहिलो निर्णय २ वर्षभित्र खानेपानी र बिजुली बत्ती पुर्याउने भए पनि तथ्यांक संकलनमा ढिलाइ हुँदा १ वर्ष समय खर्चिनु परेकाले आगामी वर्ष यो पूरा हुने उनले जनाए । यसका लागि चालु वर्षमा ३४ खानेपानी आयोजना सुरुआत गरिएको छ भने नेपाल विद्युत प्राधिकरणको बुटवल र पोखरा क्षेत्रीय कार्यालयसँग प्रशारण लाइन पुर्याउने गरी सम्झौता भएको छ ।
राष्ट्रिय प्रशारण लाइन पुग्न ढिलाइ हुने मुस्ताङ र उत्तरी गोर्खाका केही गाउँमा सोलार प्यानलबाट बत्ती लैजाने योजना छ । मुख्यमन्त्री गुरुङले भने, ‘धेरै बिजुली उत्पादन गर्ने प्रदेश भए पनि यहाँका ९ प्रतिशत घरमा बिजुली नपुग्दा टुकी बाल्नुपर्ने बाध्यता छ । अर्को वर्ष गण्डकी प्रदेशका सम्पूर्ण घरमा बिजुली पु¥याएर उज्यालो प्रदेश घोषणा गर्छाैं ।’ प्रदेश सरकार जनताको हित र ग्रामीण गरिबी हटाउँदै विकासका लागि सडक, खानेपानी, बिजुली, कृषि तथा पर्यटनमा नयाँ नयाँ योजना अघि सारेर विदेश र पोखरामा बस्नेलाई गाउँ फर्काउने योजनामा रहेको उनले उल्लेख गरे ।
भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकार गठनपछि २० पुल सम्पन्न भएको तथा १ सय ४५ सडक तथा पुलका योजना निर्माण चरणमा रहेकामा यसै आर्थिक वर्षभित्रमा ३० देखि ४० वटा पुल सम्पन्न हुने जानकारी दिए । वर्षौदेखि सम्पन्न नभएका योजनासमेत प्रदेश सरकारलाई हस्तान्तरणपछि सम्पन्न हुँदै गएको उनले दाबी गरे । चालु वर्षमा १ सय २१ झोलुंगे पुल निर्माण गरी जहाँ समस्या, त्यहाँ प्रदेश सरकार भन्ने अभियानका साथ अघि बढेको मन्त्री बस्नेतले सुनाए ।
गण्डकी प्रदेश सभा सदस्य रामजीप्रसाद बरालले गाउँपालिकाको रातोपानी, धिप्राङ र मर्दिखोलामा पक्की मोटरेबल पुल निर्माणका लागि योजना पेश गरिएको बताउँदै यसबाट गाउँपालिकाको ९ वटै वडा तथा पोखरासम्म सडक सञ्जालको छुने बताए । साविक जिल्ला विकास समितिबा २०७२ चैत १९ गते निर्माण सम्झौता भएको यो पुल प्रदेश सरकार गठनपछि पूर्वाधार विकास कार्यालय मातहतमा आएको थियो । ४ करोड ९ लाख ३३ हजार ७ सय ४० लागतमा निर्माण गरिएको प्रि–स्ट्रेसड आरसीसी बक्स ग्रिडर डिजाइनको सो पुल ५८ मिटर लामो छ ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले उर्जा, कृषि तथा पर्यटन विकासका माध्यमबाट समृद्धि प्राप्तिमा अघि बढेको उल्लेख गरे । कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य मीना गुरुङ, गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी, डोलिडारका पूर्व डिभिजनल इन्जिनियर गंगाबहादुर बस्नेत, स्थानीयवासी भीमबहादुर गुरुङ, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ लगायतले पुल नहुँदा गाउँपालिका पुग्न पोखरा हुँदै जानुपर्ने बाध्यता हटेको बताए ।
तपाईको प्रतिक्रिया