गोरखालीका कहर

समाधान संवाददाता २०७६ फागुन २९ गते १२:०५

ऐतिहासिक ठाउँ भइकन पनि गोरखा जिल्ला सडक सञ्जालका हिसाबमा धेरै पछाडि परेको ठाउँ हो । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको तत्कालीन राज्य गोरखा मानव विकास सूचकांकका हिसाबले समेत पछाडि परेको छ । गण्डकी प्रदेशमा २ वटामात्रै त्यस्ता गाउँपालिका छन्, जहाँ सडक सञ्जाल पुगेको छैन, त्यसमध्ये एउटा गोरखामा पर्छ । तराईंजस्तो भूभागदेखि हिमाली भेग गोरखा जिल्लाको विशेषता हो । गोरखाका उत्तरी गाउँबाट सदरमुकाम गोरखा बजार आइपुग्न ३ दिन पैदलै हिँड्नुपर्ने बाध्यतासमेत छ । चुमनुब्री गाउँतिरका बासिन्दासम्म सरकारको राम्रो उपस्थिति हुन सकेको छैन । चुनावमा भोटै माग्नसमेत उम्मेदवार पुग्न सक्दैनन्, त्यो गाउँ । विकास कसरी र कहिले पुर्‍याउने ?

तथाकथित विकास भनेको बाटै हो । त्यसले छोएकै छैन । कथंकदाचित ज्यानै जोखिममा पर्ने दुर्घटना वा आपत आइलाग्दा सक्नेले हेलिकोप्टर मगाउँछन्, नसक्नेको ज्यानै बित्थामै जान्छ । हुँदा हुँदा पनि २०७२ को भूकम्प पनि गोरखालाई नै केन्द्रबिन्दु बनाएर गयो, थुप्रैको जीवन उजाडियो । आजसम्म कैयौंको घर बन्न सकेको छैन । यही गोरखाका थुप्रै कच्ची सडकले कैयौंको ज्यान लिएको छ । यो सातामात्रै लगालग २ दुर्घटना भए । अघिल्लो बुधबारको दुर्घटनामा धार्चे गाउँपालिकाका वडा सचिव किरण रिमालको ज्यान गयो । गाउँपालिका उपाध्यक्ष फूलकुमारी गुरुङसहित ७ जना गम्भीर घाइते भए र हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं लगियो । अस्ति मंगलबार पनि फेरि वारपाक सुलीकोट गाउँपालिकाको स्वाराँमा दुर्घटना हुँदा १० जना घाइते भए । ४ जनालाई हेलिकोप्टरबाटै उद्धार गरी काठमाडौं लगियो ।

सडक दुर्घटनामा गएको मानिसको ज्यानको औसत हिसाब गर्ने हो भने दिनमा ७ जनाले ज्यान गुमाउँछन् भन्ने तथ्यांक बेलाबेला सार्वजनिक हुने गरेको छ । वर्षमा २ हजारजनाले सडकमै ज्यान गुमाउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकले भन्छ, ‘नेपालमा वर्षमा जति मानिसको मृत्यु हुन्छ, तीमध्ये सडक दुर्घटनामा परेर अकालमा ज्यान फाल्नुपर्नेको संख्या ७ प्रतिशत छ ।’ यो निकै डरलाग्दो तथ्यांक हो । सडक दुर्घटनाबाट मानिसको मृत्यु हुनुमा सबैभन्दा ठूलो कारण मानवीय कमजोरी नै जिम्मेवार मानिँदै आएको छ । चालकको लापरबाही धेरै हदसम्म सडक दुर्घटनाको मुख्य कारण हो । सडकको विकराल अवस्था अर्काे कारण हो । मेसिनरी कारण फेरि अर्काे कारण छ । थोत्रा बस र जिपलाई यात्रुबहाक बनाएर पैसा कमाउन खोज्ने प्रवृत्तिले थुप्रै नेपालीको ज्यान गएको छ । गोरखाका पछिल्ला दुर्घटना हेर्दा सडकको दुरावस्था नै प्रमुख कारण देखिन्छ । बल्लतल्ल ट्र्याक खुलेको साँघुरो सडकमा क्षमताभन्दा धेरै यात्रु बोक्दा गोरखामा यी २ दुर्घटना भएका छन् । नागरिकको ज्यान यसरी अकालमा जाने गरी सडक दुर्घटना भइरहँदा पनि सरकार संवेदनशील नहुनु निकै दुखद कुरा हो । कतै सडक नपुग्दा राज्यविहीनताको अवस्था त कतै भएका सडकमा राज्यविहीनताको अवस्था । यी दृश्यले वास्तवमै हाम्रो राज्य व्यवस्थामाथि निकै ठूलो प्रश्न खडा गरेका छन् ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया