१८ औं आहा रारा गाेल्ड कपः पुलिसलाई ३–४ ले हराउँदै मनाङ विजेता

समाधान संवाददाता २०७६ चैत २ गते १२:३२

सुरेशराज अधिकारी
पोखरा

आहा रारा गोल्ड कप उपाधि मनाङ मस्याङ्दी क्लबले जितेको छ । टाइब्रेकरमा पुलिसलाई ३–४ ले हराउँदै मनाङ विजेता बनेको हो । मनाङले १० लाख १ हजार रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

उपविजेतामा चित्त बुझाउँदै पुलिस क्लबले ५ लाख १ हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । मनाङको जितका लागि टाइब्रेकरमा अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रञ्जन विष्टले गोल गरे । टाइब्रेकरमा निशान लिम्बुको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले बचाउ गरे ।

Advertisement

पुलिसका लागि भोला सिलवाल, हेम तामाङ र बुद्ध तामाङले गोल गरे । ट्राइब्रेकरमा पुलिसका खेलाडी तेज तमाङ र अजित भण्डारीका प्रहार मनाङका किपर अशोक बरालले असफल बनाए । शनिबार पोखरामा रंगशालमा भएको फाइनल खेलमा निर्धारित समयमा कुनै टिमले खाता खोल्न सकेनन् । अतिरिक्त समयमा पनि दुवै टिम गोलविहीन भएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

मनाङको तर्फबाट खेलको ६१ औं मिनेटमा अन्जन विष्टले प्रहार गरेको बल क्रसबारबाट बाहिरियो । ६९ औं मिनेटमा भिदाल लुइसको पासमा विमल रानाले प्रहार गरेको बल गोल हुन सकेन । खेलमा मनाङले राम्रो खेल प्रर्दशन गरे पनि फिनिसिङ गर्न सकेन ।

Advertisement

पुलिसका लागि खेलको ७४ औं मिनेटमा तेज तमाङको पासमा भरत शाहले प्रहार गरेको बल पनि क्रसबारबाट बाहिरियो । पहिलो हाफमा पुलिसका खेलाडीले राम्रो खेल्न सकेनन् । पुलिसले पाएका केही अवसरलाई गोलमा परिणत गर्न सकेन ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मनाङका अशोक बराल, बेस्ट डिफेन्डर मनाङका सुरज विक, बेस्ट मिडफिल्डर मनाङका खेलाडी नितिन थापा र बेस्ट स्टाइगर मनाङका खेलाडी अन्जन विष्ट घोषित भए । पुलिसका भोला शाहा, मनाङका अन्जन विष्ट, पुलिसका निरकुमार राई र थ्रि स्टारका सुशन श्रेष्ठले समान २ गोल गर्दै हाइ स्कोरर भए । उत्कृष्ट कोच मनाङका फुजा टोपे र बेस्ट प्यलेर पुलिस क्लबका अजित भण्डारी बने ।

मनाङले यसअघि ५ पटक उपाधि उचालेको छ । २२ फागुनबाट सुरु भएको प्रतियोगितामा १० टिम सहभागी थिए । प्रतियोगिताका लागि १ करोड १८ लाख आम्दानी र ९९ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । सहारा क्लबले सञ्चालन गरिरहेको सहारा फुटबल एकेडेमीमा हाल १५ जिल्लाका २४ जना बालबालिका आश्रित छन् । क्लबले पोखरा १७ दोबिल्लामा फुटबल एकेडेमी स्थापना गरेको छ । प्रतियोगिताको बचत यही एकेडेमीमा खर्च हुने जनाइएको छ ।

राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशाला निर्माण अब ३ महिनामा सकिने बताए । उनले यही रंगशालामा ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अन्य संरचना निर्माण गरिने उल्लेख गरे । सिलवालले पौडी, गल्र्फ, मार्सल आर्ट लगायतका खेलका संरचना पोखरामा रंशालामा बनाउने सुनाए । उनले पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने केन्द्र बनाउने योजना सुनाए ।

तपाईको प्रतिक्रिया