विशेष सम्पादकीयः कोरोना विरुद्धको लडाइ, पुरानै सम्बन्ध–पृथक शैली

समाधान संवाददाता २०७६ चैत ९ गते ९:११

रामकृष्ण ज्ञवाली, सम्पादक समाधान राष्ट्रिय दैनिक

विश्व मानव समुदायले यतिबेला अकल्पनीय अवस्था भोगिरहेको छ । प्राण घातक कोरोना भाइरसबाट बच्ने प्रयास गर्दै करोडौं मानिस आफ्नै घरमा बन्दी भएका छन् । २ लाख हाराहारीमा अस्पताल वा आइसोलेसन वार्डमा उपचाररत छन भने झण्डै १२ हजार जनाले ज्यान गुमाइसकेका छन् । तीव्र गतिमा फैलिने विशेषता भएको यो भाइरसबाट जोगिन र यसलाई परास्त गर्न विश्व एक ढिक्का भएर प्रयास गरिरहेको छ । यो विषम परिस्थितिमा नेपाल पनि उच्च जोखिममा छ । युरोप र अमेरिका जस्ता सम्पन्न देश त निरीह बनिरहेको वर्तमान अवस्थामा हाम्रो देशमा यो भाइरस फैलियो भने त्यसका विरुद्ध लड्न हामीसँग ज्यादै थोरै विकल्प हुने छन् । त्यसकारण यसलाई फैलिन नदिन हामी सबै जिम्मेवार बन्नै पर्छ ।
अहिले नेपाल सरकारले देशमा सेमी लकडाउन घोषणा गरेको छ । बेलैमा उच्च सतर्कता अपनाएको चीनले भाइरसमाथि काबु पाइसकेको छ भने हेलचक्र्याई गर्दाको परिणाम इटलीसहित युरोप, अमेरिका लगायतका देशले भोगिरहेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस तीव्र गतिमा विस्तार हुन थालेपछि हामी उच्च जोखिममा छौं । यो अवस्थामा सरकारले चालेका हरेक कदममा साथ दिएर कोरोना विरुद्धको लडाइ लड्नुको विकल्प हामीसँग छैन । र, पनि हामी तपाई पाठकले विश्वास गरेको भरपर्दो सञ्चारमाध्यम भएको नाताले यो महामारी फैलिएको बेलामा चल्ने अफवाहलाई चिर्ने र सत्य सूचना तपाईहरु माझ पु¥याउनु पर्ने दायित्वबाट बिमुख हुन सक्दैनौं । यसैले निरन्तर प्रकाशन हुनुको विकल्प छँदै छैन । यस्तो बाध्यता एकातिर छ, तर हाम्रा कर्मचारी र सहकर्मीको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार पनि हामीसँग छैन ।

यस्तो कठिन परिस्थितिमा पाठक र पत्रिकाबीचको सम्बन्धलाई निरन्तरता दिन केही पृथक शैली अपनाउनुपर्ने भएको छ । समाचार संकलन गर्न फिल्डमा जान सक्ने अवस्था नरहन सक्ने भएकाले संवाददाताहरुले घरमै बसेर रिपोर्टिङ गर्नुहुनेछ भने केही डेक्स सम्पादक र अत्यावश्यक कर्मचारीमात्र कार्यालयमा उपस्थित रहनेछौं । सबैभन्दा ठूलो चुनौती पत्रिका विरतणमा देखिएको छ । आजसम्म हामीले तपाईका घर घरमा पत्रिका पुर्‍याइरहेका छौं । तर भोलिका दिनबाट यो सम्भव नहुने देखिएको छ । यस्तो अवस्थामा सम्भव भएसम्म तपाईकै घर नजिकैका प्रतीक्षालयहरुमा समाधान दैनिक राखिएको हुनेछ । त्यहाँबाट निशुल्क रुपमा आफ्नो प्रति लिन सक्नुहुनेछ । समाधान दैनिकका वार्षिक ग्राहक बाहेकका अन्य महानुभावलाई विशेष आग्रह छ, प्रतीक्षालयमा राखिएको पत्रिका पढेर त्यही छोडिदिनु होला । वार्षिक ग्राहकले मात्र पत्रिका घरमा लैजानु होला । यसका अलावामा समाधान मिडिया प्रालिले सञ्चालन गरेको samadhannews.com अनलाइन न्युज पोर्टलमार्फत् हामी निरन्तर अपडेट भइरहनेछौं । पोखरा र आसपासमा स्थानीय प्रतिक्षालयसम्म पत्रिका पुर्याउने प्रयास गरेपनि १० गते देखि लामो दुरीका बस सेवा बन्द हुने भएकाले बाहिर जिल्लामा पठाउन सम्भव छैन । त्यसैले तपाईको घरमा पत्रिका नआए पनि यो न्युज पोर्टलमा इपेपर अपलोड भएको हुनेछ । यो कठिन परिस्थितिमाथि जित हासिल नहुन्जेलसम्म यही इपेपरले तपाई हाम्रो विश्वासिलो सम्बन्ध कायमै राख्न सघाउनेछ भन्ने विश्वास लिएको छु ।

Advertisement

एउटा सानो गल्तीले ठूलो विपत्ति निम्त्याउन सक्छ । त्यस कारण भाइरस फैलिन नदिने गरी उच्च सतर्कता अनपाउनु हाम्रो साझा दायित्व हो । हामी नेपाली हौं, हाम्रो आत्मबल बलियो छ । विश्वास छ हाम्रो आत्मबल र सजगताका कारण कोरना भाइरस पराजित हुनेछ । त्यसैले संयमित बनौं, आतंकित नबनौं । अप्ठेरो परिस्थितिमा एकले अर्कोलाई सहयोग गरौं । कामना गरौं हामी छिट्टै सामान्य जनजीवनमा फर्किनेछौं र पूर्ववतशैलीमै संवाद गरिरहनेछौं ।

Advertisement

तपाईको प्रतिक्रिया