गण्डकी सरकारको निर्णयः ठूला अस्पतालमा आइसाेलेसन वार्ड

समाधान संवाददाता २०७६ चैत ९ गते १३:२०

समाधान संवाददाता
पोखरा

कोरोना कहरविरुद्ध गण्डकी प्रदेश सरकारले आवश्यक तयारी थालेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पोखराका निजी तथा सरकारी ५० शैयाभन्दा माथिका अस्पतालमा न्यूनतम ५ बेड आइसोलेसन वार्ड तत्काल स्थापना गर्ने निर्णय गरेको हो ।

सम्भावित कोरोना संक्रमणलाई ध्यान दिँदै सरकारले अस्पतालमा व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) १० सेटसमेत तयारी अवस्थामा राख्न र ल्याबका कर्मचारीलाई अवाश्यक तालिम निर्देशन दिएको छ । भेन्टिलेटरसमेत चालु अवस्थामा राख्न भनिएको छ ।

Advertisement

क्वारेन्टाइनका लागि कृषि तालिम केन्द्र मालेपाटनलाई पहिलो चरणमा उपयोग गरिने भएको छ । शिक्षा, वन, भेटेरिनरी तालिम केन्द्र र सशस्त्र बल, विपद व्यवस्थापन केन्द्र लामापाटनलाई क्वारेन्टाइन होमका रुपमा बन्दोबस्ती अवस्थामा रहन प्रदेशले निर्देशन दिएको छ । शुक्रबारकै बैठकले मोहरियामा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ‘डेडिकेटेड’ आइसोलेसन अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिइन् । अस्पताललाई तत्कालै ६० शड्ढयासम्म विस्तार गरी सञ्चालनमा ल्याउन सकिने उनले बताइन् ।

प्रदेशले वैकल्पिक व्यवस्थाका लागि मातृशिशु मितेरी अस्पताल बाटुलेचौरलाई तोक्ने र आर्मी अस्पताललाई आइसोलेटेड अस्पतालका रुपमा प्रयोग गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । आइसोलेसन वार्ड व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका अस्पताललाई तयारी अवस्थामा रहन भनिएको छ । मणिपाल शिक्षण अस्पताल १५, गण्डकी मेडिकल कलेज १५, चरक मेमोरियल अस्पताल ३०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान १०, जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँलाई ३० बेड क्षमताको आइसोलेसन वार्ड तत्कालका लागि तयारी अवस्थामा राख्न बैठकले निर्देश गरेको हो । बैठकले व्यक्तिगत सुरक्षा सामग्री ५ सय, इन्फ्रारेड थर्मोमिटर ५ सय, मास्क २० हजार थान, सेनिटाइजर र डिसिन्फेक्टेन्ट सय लिटर उपलब्ध गराइदिन संघीय सरकारलाई अनुरोध गरेको छ । आइएनएफ लगायतका सहयोगी संस्थासँग पनि उक्त सामग्री उपलब्ध गराइदिन प्रदेश सरकारले आग्रह गरेको छ ।

Advertisement

त्रिवेणी, दाउन्ने, गैंडाकोट नवलपुर, मुग्लिन, आबुखैरेनी, तनहुँ, आरुघाट, गोरखा, बुर्तिबाङ बागलुङ र स्याङ्जा राम्दीमा हेल्थ डेस्क स्थापना गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरी स्वास्थ्य चेकजाँच प्रक्रिया थाल्ने सरकारले निर्णय गरेको छ । मुग्लिन, आबुखैरेनी, तनहुँ, गल्याङ स्याङ्जामा सञ्चालित हेल्थ डेस्कमार्फत भारतबाट प्रवेश गरी आउने गाडीलाई विशेष निगरानीका साथ चेकजाँच गरिने भएको छ ।

तपाईको प्रतिक्रिया