कोरोना विरुद्धको लडाईमा गण्डकी सरकारको १५ करोडको कोष

समाधान संवाददाता २०७६ चैत १२ गते २३:०७

समाधान संवाददाता

Advertisement

गण्डकी प्रदेश सरकारले कोरोना रोकथामका लागि १५ करोड रूपैयाँको कोष स्थापना गरेको छ। प्रदेश मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त कोष स्थापना गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।

‘हामी सबै मन्त्रीको एक महिनाको तलब कोषमा राख्ने, सांसद र निजी क्षेत्र एवं संघसंस्थालाई पनि अनुरोध गर्ने निर्णय गर्‍यौं’, मन्त्री चुमानले भने, ‘अर्थमन्त्री किरण गुरूङ संयोजक रहने गरी म, भौतिक पूर्वाधार र सामाजिक विकासमन्त्री तथा प्रमुख सचिव सदस्य रहेको रोकथाम तथा व्यवस्थापन समिति बनाएका छौं।’

प्रदेश सरकारले कोरोनाका बिरामीको निशुल्क उपचार गर्नेदेखि अरू व्यवस्थापनमा उक्त कोषको रकम खर्च गर्ने जानकारी मन्त्री चुमानले दिए।

गण्डकीले प्रदेशमा भएका ५० बेडमाथिका सबै अस्पतालका आइसोलेसन वार्ड अनिवार्य गरेको छ। क्वारेन्टाइनका लागि पनि ठाउँ छुट्याएको छ।

Advertisement

प्रदेश सरकारले सबै ११ जिल्लाकै जिल्ला अस्पताललाई कोरोना रोकथाम गर्न यसअघि दिएको ५र५ लाख र फेरि त्यति नै रकम थप्ने भएको जानकारी सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले दिए।

मन्त्री बस्नेतका अनुसार भारत लगायत विदेशबाट आएका १७ जनालाई प्रदेशले व्यवस्था गरेको क्वारेन्टाइनमा राखिएको छ। कृषि तालिम केन्द्र मालेपाटन पोखरामा प्रदेशले क्वारेन्टाइन बनाएको छ।

तपाईको प्रतिक्रिया