गण्डकी प्रदेश सांसद धनञ्जय दवाडीको लकडाउन अनुभूति

समाधान संवाददाता २०७६ चैत २१ गते १६:१२

धनञ्जय दवाडी

उडी हिँड्ने चरीलाई कति गाह्रो हुन्छ भन्ने अनुभूति यतिबेला सबैलाई भएको छ । स्वतन्त्रता जस्तो प्यारो केही नहुने रहेछ भन्ने पुनःपुष्टि भएको छ । यसैले मान्छे स्वतन्त्रताको लडाइँमा गोली बनेर पड्किन तयार रहेछ । यसरी अञात ताकतसँग घरमै लकडाउन भएको दर्जन दिन पार भइसक्यो । लडाइँ बन्द हुन सुरसार छैन । रेडियो, टेलिभिजन र अनलाइनहरु दुनियाँभरका समाचार दिइरहेका छन् । फेसबुक, मेसेन्जर, ट्विटरहरुमार्फत हात धुन सिकाइरहेका छन् । हात धुँदाधुँदा भाग्य रेखा मेटियो भनेर चिन्ता गर्ने पनि भेटिँदैछन् ।

कोरोनाले विश्व भ्रमण गरेको धेरै भए पनि नेपाली समाज निष्फिक्री नै थियो । पोखरा त झन् भइहाल्यो—पर्यटनको राजधानी । गण्डकी प्रदेश सभा फागुन अन्त्यतिरै अवरुद्ध भइराथ्यो । चैतको पहिलो हप्ता पनि तुँवालो हटेन । सूचना प्रकाशन गरी स्थगित छ । संसद र संसदीय गतिविधि प्रभावकारी हुँदामात्रै लोकतन्त्र सुदृढ हुने र जनस्तरसम्म पुग्ने हो । तर गण्डकी प्रदेश सभा कहिले काहिँ वहकिन्छ— यसपटक पनि वहकियो । अनि ढोका मै टुप्लुक्क आइपुग्यो— कोरोना । अनि सुरु भयो यसैको कहर ।

केटाकेटीमा सुनेको कुरा बुझ्न पनि समय लाग्दो रैछ । महासंकटमा छौं । सरकार आफ्नो बुताले भ्याउने गरी लडिरहेको छ । यो लडाइँ जनताको साथले मात्रै जित्न सकिन्छ । उपप्रधानमन्त्रीले भनेका छन्—यो लडाइँ जित्दा हामी सबैले जित्छौं, हार्दा सबैले हार्छाैं । ‘यो अन्तिम युद्ध हो….’ भन्ने बारम्बार सम्झन्छु । मानव सभ्यताले नै लड्नुपर्ने यो क्रुर लडाइँ राजनीतिक स्वार्थ, व्यापारिक स्वार्थ, व्यक्तिगत राग मिसिएको देख्दा लोभले लाभ, लाभले विलाप भन्ने याद आउने रहेछ ।

अटल विहारी वाजपेयी भारतका पूर्व प्रधानमन्त्री थिए । केही समयमात्रै सत्तामा बसे । प्रतिपक्षमा पनि बसे । उनले सत्तालाई तामस भनेका छन् । सत्ताले नेतालाई एक्ल्याउँछ भनेका छन् । आज हाम्रा नेतालाई पनि सत्ताले तामसी बनाएकै छ । सत्ताले जनता र कार्यकर्ताबाट एक्ल्याएकै छ । प्रयत्न नेतृत्वले नै गर्नुपर्छ दुवैतिर हेर्न—दलाल र कार्यकर्ता चिन्ने । नेताले भने भनेर विवेक बन्धक राख्ने हो भने लोभले लाभ, लाभले विलाप बनाउँछ । प्रधानमन्त्रीका सहयोगी भरोसायोग्य पात्रहरुमा बारम्बार प्रश्न उठ्नुमा सत्ता तामसी भएर हो कि ! आफैभित्र लड्न सुरु भएको हो— सबैले ख्याल गर्नुपर्छ ।

सबै मिलेर सामूहिक रुपमा लड्नुपर्ने यो लडाइँमा एक आपसमा हिलो छ्यापाछ्यापा गर्दा नरहे बाँस नबजे बाँसुरीको अवस्थामा नपुगिएला भन्न सकिन्न । मानव सभ्यताको रक्षा र विकासले मात्रै नयाँ युगमा प्रवेश गर्न सकिन्छ । सबै आआफ्नो ठाउँमा डटौं होइन आआफ्नो ठाउँमा बसौं ।
प्रधानमन्त्रीको देशबासीलाई गरिएको सम्बोधन सुन्दा लमजुङको मध्यनेपाल पुगिएथ्यो । लकडाउन धेरै दिन त नहोला भन्ठानेथें । भारतले एक्काइस दिन घोषणा गरेपछि अब ढुक्क भइयो । ठिकै त छ नि ! घरै बस्ने हो । छोराछोरी परिवारका साथ रमाइलो नै त हुन्छ भनेको त होइन रहेछ । यो तनाव र छटपटी रहेछ ।

मान्छेलाई बाँच्न मान्छे नै चाहिन्छ, त्यो बरु शत्रु नै किन नहोस् । उसको समाज चाहिन्छ पछौटे नै भए पनि भन्ने अनुभूति बलियो बन्दै पो छ त । यो कोरोना भन्ने भाइरस कति धेरै शक्तिशाली रहेछ, शदियौंदेखि मान्छेले बनाएको समाज भत्काएर घरघरमा सीमित बनाउन सक्ने, हामीबाट म मा मान्छेलाई केन्द्रित गर्न सक्ने । उफ् !

अब समाजका सदस्य सबैलाई थाहा भएकै छ, यो लडाइँ सबैले लड्नुपर्छ । एक्लाएक्लै रहेर तर सामूहिक उद्देश्यका लागि । अनलाइन पत्रिकामा समाचार पढिरहको छु । ती सबै पत्रकारले मिहिनेत गरेका छन् । कति समाचार त कपिपेस्ट पनि हुँदा रहेछन् । कतिपयको सक्कली अनुहार यतिबेला देखिएको पनि छ । फुर्सदिलो भएपछि पढ्नै प¥यो । कठै कपिपेस्ट पत्रकारिता ।

हिजो सडकमा गोली चल्दा नडराउने पत्रकारहरु, जनतालाई स्वतन्त्रताका गीत सिकाउने कलाकार, गगनभेदी नारा लगाएर सडक तताउने युवाहरु, समाजवाद र पुँजीवादको सिद्धान्तमा बहस गर्नेहरु सबै दुला पसेका छन् । ठिकै हो, डढेलो लाग्दा मुसाहरु जमिनमुनि पस्छ र बाँच्छ, बाहिर हुने बलवान, द्रुतगतिवान सखाप हुन्छन् । यतिबेला घरमा लुक्नु नै भविष्य सुरक्षित पार्नु हो । हुलमुलमा जिउ र अनिकालमा बिउ जोगाउनु त्यसै भनिएको होइन रहेछ । कोरोनाको कहरले सिकाएको पाठ यही हो ।

जनप्रतिनिधि
नेपालमा नेताहरु, जनप्रतिनिधिहरु, मन्त्री वा सांसद हुनु सबैभन्दा बढी जान्न हुनु हो कि ! भन्ने लाग्छ । कहिलकाहिँ भाषण गर्न पाएपछि स्रोताले सुनोस नसुनोस बोलेको बोल्यै गर्ने प्रवृत्ति छ । सम्झी सम्झी भाषण गर्ने । यतिबेला भाषण गर्न पाइएन खसखस भइरहन्छ । हाम्रा भाषणले त राजनीतिक परिवर्तनमा अलिकति सहयोग गर्‍यो होला । तर आर्थिक परिवर्तन त उत्पादन गरेर पो हुन्छ त । भाषणले उद्योगको मेसिन चल्दैन । फर्सी पलाएर दस हात लामो हुँदैन ।

कोरोनाले सिकाएको पाठ ! इमान्दार हुनु, निष्पक्ष हुनु, कसैलाई भोको नराख्नू भनेर जनप्रतिनिधिलाई कोरोनाले पाठ पढाएको छ— कति हुन्छन् पास र फेला । स्थानीय तहका जनप्रतिनिधिहरुलाई भ्याइनभ्याइ छ —सकस छ । संघीय र प्रादेशिक जनप्रतिनिधिहरुलाई भ्याइनभ्याइ छ । जनप्रतिनिधिहरु चलायमान छन् ।

कोरोनाले अब जनप्रतिनिधिहरुको औचित्य पनि खोजी गर्न सिकाएको छ । दुखका बेला नपाइने प्रतिनिधि किन छान्नु र ? कोरोना रोकथामका लागि प्रदेश सरकारको कोषमा रकम जम्मा गर्ने एउटै दलका पनि सम्पन्न, मध्यम र विपन्न वगका जनप्रतिनिधि बने ।

इटलीका चर्चित उपन्यासकार फ्रान्सेस्का मेलान्ड्रीले लेखेकी छन् नि— बगैचासहितको घरमा थुनिनु र भिडभाडयुक्त झुपडपट्टिमा थुनिनुमा धेरै भिन्नता छ । घरबाटै काम गर्न पाउनु र काम गुमाउनुमा पनि भिन्नता छ । हो धनी हुनु र गरिब हुनुमा भिन्नता छ । कोरोना सबैभन्दा बढी धनीलाई सताएको छ । यसैलाई हल्ला बढी छ ।

अब भविष्यका कुरा
हरेक युद्धपछि पुनर्निर्माणको युग सुरु हुन्छ । कोरोना युद्ध सकिएपछि हामीले पुनर्निर्माण थाल्नुपर्छ । उत्पादनलाई बढाएर मात्र सुरक्षित भविष्य बनाउन सक्छौं । गणतन्त्रमा आइपुग्दा पनि हाम्रा योजना र बजेट पावर कै वरिपरि नाचिरहेर, खोजेको परिणाम प्राप्त भएन । अब अध्ययन, अनुसन्धानमा लगानी गर्नु पर्‍यो । विदेशका सामान उपभोग गर्ने शैलीलाई छोडेर आफै विकासमा लाग्नुपर्छ । परम्परागत ज्ञान र सिपलाई विकास गरी आत्मनिर्भर बन्न कोरोनाले सिकाएकै छ । लकडाउनमा बस्दा फारो गर्न, भोजभतेर नगर्न, भिडभाड नगर्न, व्यक्तिगत दुरी कायम गर्न सिकाएको कुरा व्यवहारमा उतार्न सके हामी हाम्रो सुन्दरता कायम गर्न सक्छौं । हाम्रा सुन्दरताले दुनियाँलाई चकित पार्दै उभिन सक्छौं । हाम्रा हिमाल फेरि चम्कने छन् । हाम्रा दिन फर्कने छन् । सुखी नेपाली समृद्ध नेपाल बन्ने नै छ । हामी होसियार हुनेछौं । किनभने हामीले नचाहँदा पनि कोरोना जस्तै महामारी आउन सक्छ भन्ने ठानेर संकट पार लगाउन हामी एकताबद्ध हुनेछौं ।

यो संकटमा लड्नेहरु सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै हुन् । उनीहरुलाई हरतरहले सहयोग गरौं । सबेले सम्मान गरौं । सलाम गरौं ।

दवाडी गण्डकी प्रदेश सभा सदस्य हुन् ।

तपाईको प्रतिक्रिया