वकिलको लकडाउन बकपत्र ः आफू कैदी श्रीमती जेलर

समाधान संवाददाता २०७७ वैशाख ७ गते २०:४३

सुरेन्द्र थापामगर

चीनको वुहानमा अनौठो रोगबाट मानिसको मृत्यु भएको खबर समाचार माध्यममा सुनेको थिएँ । त्यति बेला कोरोनाको न्वारान भै सकेको थिएन । त्यो अनौठो रोग चीनबाट नेपाल आउँछ अथवा बाहिर विश्वमा जान्छ भनेर कल्पना गरेको थिइनँ । चीनको वुहानको सडक पेटीमा मानिसहरुको लास यत्रतत्र फिँजारिएको टेलिभिजनको पर्दामा देखिन्थ्यो । बाहिरी विश्वले चीनलाई हेयको दृष्टिकोणले हेरिरहेका थिए ।

सुरुका दिनका समाचारहरुमा चीनमा चमेराको मासु खाएर यो रोग आएको भनेर हल्ला पनि सुनियो । कतिपयले चीनले नयाँ भाइरस आफै निर्माण गरेको चर्चा पनि गरे । केहीले जैविक हतियार निर्माण गर्दा गल्तीवश बाहिर आएर चीनको वुहानमा यो भयावह भएको भने । समाचारको दुनियामा यसबारे अनेक थरी चर्चा परिचर्चा चल्यो । सञ्चारमाध्यममा सामाजिक सञ्जालमा कोरोना बाहेक अर्को विषय नै भएन ।

Advertisement

पछि विश्व स्वास्थ्य संगठनले यसको नाम कोभिड १९ भनी नामकरण ग¥यो । कोभिड १९ यो भाइरसको राख्ने नाम भन्दा बोलाउने नाम कोरोना बढी लोकप्रिय भयो । पहिले पहिले मान्छेहरुको एउटा राख्ने नाम अर्को बोलाउने नाम हुन्थ्यो । यो भाइरसको पनि त्यस्तै भयो ।
सुरुका दिनमा चीनको वुहानमा ४१ जना बिरामी जसलाई अनौठो न्युमोनियाबाट सुरु भएको यो रोग नोबल कोरोना हुँदै कोभिड १९ भएर विश्वमा महामारीका रुपमा फैलिएको छ । चीन बाहिर गत पुस २८ गते थाइल्यान्डमा पहिलो संक्रमित पुष्टि भएको थियो । त्यसपछि छिमेकी देश भारतमा माघ २६ गते कोरोना देखा प¥यो । गत माघ २८ गते विश्व स्वास्थ्य संगठनद्वारा यो संक्रमणको नाम कोभिड १९ घोषणा गरिएको थियो । त्यसपछि कोरोनाले विश्वव्यापी संक्रमण ग्रहण गरिसकेको थियो । फागुन १५ मा विश्व स्वास्थ्य संगठनका निर्देशक टेडोस एडानो गेहब्रेयरले जेनेभामा आयोजित पत्रकार सम्मलेनमा कुनै पनि मुलकले कोभिड १९ आफ्नो देशमा भित्रिन्न भनेर सोचे गम्भीर गल्ती हुन्छ भनेर बताएका थिए । हामी लगायत अन्य देशले यो सचेतनाप्रति उच्च सर्तकता अपनाउन सकेनौं ।


जब चैत १० गते भारतमा ४ सय ७१ जनामा कोरोना संक्रमण देखा प¥यो र संक्रमित ९ जनाकोे मृत्यु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोही दिन जनता कफ्र्युको घोषणा गरे । त्यसपछि नेपाल सरकारले १ साता लामो लकडाउन घोषणा गरेको थियो ।
यसभन्दा अगाडि वुहानबाट यो लकडाउन शब्द आयात भइसकेको थियो । मानिसहरुले दैनिक आवश्यक खाद्यान्न जोहो गरिसकेका थिए । भारतमा २१ दिनको बन्दाबन्दी घोषणा भएपछि नेपाली समाज अति बढी आतंकित र भयभित भयो । नेपालमा लकडाउन भएपछि मैले हाम्रा ज्येष्ठ नागरिकले भनेका केही श्रुतिहरु सम्झन पुगें । बिफर आउदा एउटा गाउँको व्यक्ति अर्को गाउँमा जाँदैनथ्यो । त्यो गाउँमा जाने बाटोमा सिउँडीको बार हालिन्थ्यो रे । बाटामा सिउँडीको बार देखे त्यो गाउँमा महामारी रोगको प्रकोप छ भनेर बुझ्नु पथ्र्योे । आखिर त्यो असली लकडाउन रहेछ ।

Advertisement

गाउँघरमा बाहिरबाट घरभित्र आउँदा सोझै बच्चाबच्चीलाई छुन हुँदैन पहिला आगो छोएर छुनु पर्छ भन्छन् । रोग संक्रमण हुन्छ भन्ने हाम्रो पूर्वीय मान्यता वैज्ञानिक नै रहेछ । बाहिरबाट घरभित्र पस्दा हातगोडा धोएर प्रवेश गर्ने हाम्रो स्वास्थ्य चलन पहिले देखि नै चलिआएको छ । यति बेला हात धुने चलनले हामीलाई सम्झायो । लकडाउनको बेला मैले मिथक नै भए पनि सीतालाई रामको भाइ लक्षमणले कोरेको लक्ष्मण रेखाभित्र बस्न भनेको घटना सम्झें । लक्ष्मणले कोरिदिएको रेखा नाघ्दा सीतालाई रावणले हरण गरे । त्यो पनि १ प्रकारको लकडाउन थियो । खाना खाँदा नयाँ कपडा फेरेर खाने चलन पनि रोगबाट जोगिने उपाय रहेछ ।

हिजो हाम्रो पुर्खाले भान्सा (चौका )मा सेतो धोती लगाउँथे । यो राम्रै चलन हो । बेठिक त कहाँनेर भयो भने हामीले पूजापाठ गर्दा, भान्सा गर्दा धोती लगाउँदा चोखो हुने हाम्रा तराईका दाजुभाइले धोती लगाउदा उनीहरुलाई धोती भनेर हेला गर्ने प्रवृत्ति खराब छ । लकडाउनमा रहँदा बस्दा यी कुरा मैले सम्झें ।

कोरोना नियन्त्रण गर्ने विश्वमा २ वटा विधि मानिसले अवलम्बन गरेका छन् । एउटा विधि भनेको ठूलो मात्रामा स्वास्थ्य परीक्षण गर्ने र संक्रमित पत्ता लगाई उपचार गर्ने । अर्को विधि भनेको लकडाउन गर्ने । विश्वमा पहिलो भन्दा दोस्रो पद्धति बढी सफल भएको देखिन्छ । चीनले लकडाउन पद्धतिबाटै आफ्नो नागरिकलाई बढी संक्रमित हुनबाट जोगायो । यतिखेर कोरोनाको महामारी विश्वमा भयानक त हुँदैछ तर मानिसहरुको लागि यो नौलो होइन । सन् १४९२ मा जब युरोपेलीहरु अमेरिका प्रवेश गरे तब अमेरिकी आदिवासीमा नयाँ रोग देखा परेको थियो । त्यो थियो दादुरा, रुघाखोकी, ज्वरो, बिफर । ती रोगबाट सय वर्षको अवधिमा नब्बे प्रतिशतभन्दा बढि आदिवासी अमेरिकी मारिएका थिए । अहिले पनि विश्वमा दुषित हावाका कारण फोक्सोको क्यान्सर दम न्युमोनियाबाट ७० लाख मानिसको ज्यान जाने गरेको छ । दुषित पानीका कारण बर्सेनि ३५ लाख मानिस मर्ने गरेका छन् ।


कोरोना संक्रमणले संसारलाई नयाँ पाठ पढाएको छ । यो पृथ्वी मान्छेको लागि मात्र होइन । संसारका सबै जीवजन्तुका लागि पनि हो । हामीले पृथ्वी हाम्रो लागि मात्र भन्यौं । केबल पैसा र नाफामा मानिसको प्रत्येक काम धन्दा हुने गरेको छ । धनी औद्योगिक राष्ट्रहरुले विकासको नाममा प्रत्येक पलमा वायुमण्डललाई प्रदुषित गरिरहेका छन् । त्यसैले ओजोन तह फाटेर विकराल समस्या सिर्जना भएको छ । त्यतातिर हामी मानिसहरुको कत्ति पनि ध्यान गएको छैन । हाम्रो दैनिक क्रियाकलापले पृथ्वी हल्लिरहेको थियो ।

यतिखेर ओजोन तह नसोचेको राम्रो अवस्थामा आएको छ भन्छन् । विश्वका धेरै देशका मानिसहरु घर भित्र छन् र त खोला ताल तलैयामा माछाहरु निर्भय रुपमा तैरिएका छन् । वनमा हरिण, मृग, बाघ, जस्ता जनावर आफ्नो प्राकृतिक स्वतन्त्रताको अनुभूति लिँदै छन् । हामी मानिसहरु आफ्नै कारणले आाफूलाई लकडाउनमा राखेका छौ । अब मानिसले बुझ्नुपर्छ । यो पृथ्वी मान्छेको लागि मात्र होइन जल, थल र वायुमण्डलमा रहेका सबै जीवजन्तुको साझा घर हो । त्यसैले सबै मानव समुदाय सँगसँगै नहिड्ने हो भने कसैको सुरक्षा छैन भन्ने कुरा समयले बुझाएको छ ।

लकडाउनको समय काट्न मलाई कुनै मुस्किल भएन । बिहान प्रत्येक दिन शारीरिक कसरत गरेर पूर्वीय दर्शन अनुसारको योग र ध्यान गरिरहन्छु । यो मेरो नियमित प्रक्रिया हो । योग ध्यान हाम्रो जीवन पद्धति हो । धर्मका ठेकदारहरुले यसलाई धर्मसँग लगेर जोडिदिए । वास्तवमा योग र ध्यान धर्मसँग जोड्नुपर्ने विषय होइन । हुन त धर्मको छुट्टै परिभाषा छ । यहाँ धर्मको व्याख्या गर्न चाहन्न ।

लकडाउनको पहिलो साता नेपालको झापादेखि कैलाली कञ्चनपुर वा सुदूर पश्चिमसम्मका कानुन व्यवसायी मित्रहरुलाई फोन गरें । सबैको गुनासो कोरोनाको संक्रमणले निम्त्याएको भयावह थियो । विराटनगरका अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले फोनमा बडो मार्मिक कुरा गर्नु भयो । यतिबेला फोन गर्दा कसैले उठायो भने पनि खुशी हुनुपर्छ भनेर । साँच्चै मानिस बिरामी नभएको खबर सुन्दा खुसी लाग्छ नै ।


साथीहरुसँग फोन गर्दा केही साथीहरुलाई ठट्टा गर्दै भने लक डाउनमा घरमा म कैदी श्रीमती जेलर भनेर । साँच्चै हामीले घरमा समय दिएका थिएनांै । लकडाउनले हामीलाई बाध्य पा¥यो

विराटनगरमा बस्ने वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती पद र पैसासँग साइनो गाँस्न रुचाउनु हुन्न । धेरै कानुन व्यवसायीको अर्दश पुरुष हो उहाँ । मैले उहाँलाई दाजु नाताले सम्बोधन गर्छु । प्रधानमन्त्री पद नखाने लौहपुरुष गणेशमान श्रेष्ठ झंै उहाँ पनि सर्वोच्च अदालतको न्यायाधीश पद नखाने एउटा आदर्श वकिल हो । पद भनेपछि हुरुक्क हुने हाम्रो मानवीय कमजोरीप्रति उहाँ अपवाद हो ।

लकडाउनको समयमा मैले पुराना केही किताबहरु पढ्ने समय पाएँ । धेरै मानिसहरुले बारम्बार चर्चा गर्ने गीता यस पटक पढ्ने मौका मिल्यो । गीताको व्याख्या धेरैले धेरै प्रकारले गरेका छन् । ओशोको व्याख्या अलि फरक रहेछ । लकडाउनको समयमा पनि सान्दर्भिक हुने भनाइ रहेछ । सम्पूर्ण जगतमा आफूले अनुशासित गर्न सक्ने त १ जना मात्र हुँदो रहेछ र त्यो भनेको आफै हो । गीतामा भनिएको रहेछ जीवन अदभूत अवसर रहेछ । आनन्द लिने अदभूत अवसर । जीवनको मूल अर्थ रहेछ आनन्दित हुनु । सुख त मानिसको प्राकृतिक स्वभाव पो रहेछ । दुख हामीले बेसाएका रहेछौ । गीताको दर्शन भन्छ– जीवनमा रहस्यमय नियममा नमागिएको कुरा पाउनु र मागिएको कुरा नपाउनु पर्दछन् ।

कोरोनाको महामारी नमागिएको हो । हामी जसको पछि पर्छौ त्यो गुमाउँछौ, जसका लागि दौडन छोड्छौ त्यो हाम्रो पछिपछि छाया झंै आउँछ ।


यो समयमा मैले आफ्नो पेसागत ज्ञानबारे केही अध्ययन गरें । कानुनका पुराना नजिरहरु दिनको एउटा समयमा क्रमश हेर्दै गएँ । यसबीचमा प्रसिद्ध गीतकार कालीप्रसाद रिजालको काँडामा हाँसेको जिन्दगी, चिनिया राष्ट्रपति सी चीन पिङ जीवन र संघर्ष, र अरुण स्वामीको ओशो जो अचम्म मैले देखें र गितादर्शन पढ्न मेरो दैनिकी बन्यो । यो बीचमा सबैभन्दा बढी घर बस्ने समय मिल्यो ।

साथीहरुसँग फोन गर्दा केही साथीहरुलाई ठट्टा गर्दै भने लक डाउनमा घरमा म कैदी श्रीमती जेलर भनेर । साँच्चै हामीले घरमा समय दिएका थिएनांै । लकडाउनले हामीलाई बाध्य पा¥यो । सबैको श्रीमान श्रीमती घरपरिवारसँगै बस्न आफैमा आनन्ददायी हुन्छ । त्यसमाथि मानव सभ्यताको सुरुआती सृष्टिकर्ता नै महिला हुन् । भनिन्छ स्त्री वर्ग अगाडि थिएन् भने मानव सभ्यता जहाँको त्यहीं रहन्थ्यो । यो लकडाउनको समयमा जीवनलाई पुराना बन्धनहरुमा होइन नयाँ जोखिमहरुमा खोज्नुपर्छ भन्ने कुरा मैले सिकें ।

खास गरी जनस्वास्थ्यको जिम्मा निजी अस्पताललाई होइन राज्यले लिनुपर्छ भन्ने कुरा वर्तमान समयले सिकाएको छ । महामारीमा भ्रस्टाचारको गन्ध आउनु निन्दनीय कार्य हो । मान्छे धनले धनी भएर मात्र नहँुदो रहेछ, मानसिक दरिद्र भएपछि कात्रोमा पनि नाफा खान्छन् भनेको साच्चै रहेछ ।
थापामगर नेपाल बार एसोसिएसन केन्द्रीय उपाध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया