बाटामा अलपत्र मजदुरलाई मोदीका युवाहरुद्वारा घर पुर्याउने प्रयास

समाधान संवाददाता २०७७ वैशाख ८ गते १२:०१

फोटो–डिमुवामा खाना खाँदै पैदल हिडेका मजदुर

समाधान संवाददाता

लकडाउन लम्बिएपछि घर पैदल नै घर फर्कने मजदुरहरुको बाटो मै बिचल्ली भएको खबर आइरहेका छन् । घर फर्कने प्रयास गर्दा त्यस्तै बिचल्लीमा परेका मजदुरहरुलाई पवर्तको मोदी गाउ पालिकाका युवाहरुले सहयोग गरिरहेका छन् ।
पैदल हिडेर पश्चिम जान हिडेका सयौं जनाको उद्धार गरेको पवर्त तिलाहरका स्थानीय युवा तथा पोखरा टाइगर गु्रपका कोषाध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।
कालिगण्डकी करिडोर लगायतका विभिन्न आयोजनामा काम गर्न खटिएका सयौं मजदुर लामो समयसम्मको अन्यौलका कारण घर फर्कन लागेका हुन ।
तिनै मजदुरलाई लक्षित गरेर डिमुवा बजारमा निशुल्क खानाको व्यवस्था गरिएको छ । ‘धेरै जसो मजुदुर त भोक भोकै आएका छन ।’ श्रेष्ठले समाधानसंग भने–उनीहरुलाई डिमुवामा खाना खुवाउने व्यवस्था गरेका छौं । हरेक दिन दुई छाक नै खाना पकाइरहेका छौं ।’
त्यहाँ खाना खाएपछि जिल्लाको सिमानासम्म पुर्याउने व्यवस्था मोदी गाउपालिकाले गरेको छ । गाउपालिकाले एउटा बस नै रिजर्व गरेर बाग्लुङ, कास्कीको सिमानासम्म पुर्याईदिने गरेको पनि उनले बताए । उनका अनुसार अन्य जिल्लाका सुरक्षाकर्मी र उद्योग बाणिज्यसंघसंग सहकार्य गरेर पैदल हिडेका मजदुरहरुलाई गृह जिल्लासम्म पुर्याउने व्यवस्था समेत मिलाइएको छ ।
कतिपय मजदुरहरु राजमार्गमा हिड्दा प्रहरीले रोक्छ भन्दै गाउ गाउ हिडेको भन्दै उनीहरुले त्यसो नगर्न पनि आग्रह गरेका छन । ‘सकेसम्म नहिड्नुहोस, हिडिसक्नु भएको छ भने डिमुवा हुँदै आउनुहोस खाना खुवाउने र सकेसम्म तपाईलाई गाडी मै पठाउने व्यवस्था गर्छौ ।’ श्रेष्ठले आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया