कृषि एम्बुलेन्स सञ्चालनपछि किसान हर्षित

समाधान संवाददाता २०७७ वैशाख १७ गते १६:२५

स्याङ्जा

फेदीखोला गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिँदै गएपछि चिन्तित बनेका किसान हर्षित भएका छन् ।

फेदीखोला गाउँपालिकाले बन्दका कारण किसानले उत्पादन गरेका तरकारीका साथै कृषिजन्य वस्तु किसानको घरघरमै पुगेर खरिद गर्ने व्यवस्था मिलाएपछि उनीहरु खुसी भएका हुन् । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लकडाउनका कारण किसानले उत्पादन गरेका तरकारीलगायतका खाद्यवस्तु बारीमै कुहिएर खेर जाने र बजारमा खाद्यवस्तुको अभाव हुने भएकाले किसानको घरघरमै पुगेर किसानले उत्पादन गरेका तरकारी फलफूललगायतका वस्तु गाउँपालिकाले खरिद गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

वडा नं २ स्थित मुख्यमन्त्री नमूना कृषिगाउँ तल्लो कुडुलेका अध्यक्ष विष्णु सुवेदीले लकडाउनका कारण खेतबारीमै कुहिएर जान लागेको आफूहरुको तरकारी घरमै आएर पहिलेभन्दा बढी मूल्य दिएर खरिद गरेकामा खुशी लागेको बताउनुभयो ।

Advertisement

गाउँपालिकाले जतिसक्दो उत्पादन गर्नुस् खरिद गर्ने जिम्मा पालिकाको भयो भनेर भनेकाले थप उत्साह बढेको उहाँले बताउनुभयो । अर्का किसान फेदीखोला–४ का छाँयादत्त पौडेलले पनि गाउँपालिकाले किसानका लागि निकै राम्रो काम गरेको बताउनुभयो । पशुपालन व्यवसाय गर्दै आउनुभएका पौडेलले आफूले उत्पादन गरेको पनिर गाउँपालिकाले घरमै आएर खरिद गरेर लैजाने गरेको बताउनुभयो ।

गाउँपालिकाले यसभन्दा पहिले कृषिमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानले उत्पादन गरेका वस्तुलाई १० प्रतिशत अनुदान दिँदै आएको थियो । लकडाउनको शुरु भएसँगै किसानको घरघरमा पुगेर उत्पादित वस्तु खरिद गर्न थालेपछि किसान थप हर्षित भएका छन् । किसानले उत्पादन गरेका वस्तु ढुवानीका लागि गाउँपालिकाले दुई सवारी साधनको व्यवस्था गरिएको र किसानको घरघरबाट ल्याएका वस्तु बजारमा ल्याएर उपभोक्तालाई उपलब्ध गराउने गरेको गाउँपालिकाले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया