‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’

समाधान संवाददाता २०७७ वैशाख १८ गते ५:४८

काठमाडाैं

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेकपा विवाद समधान गर्न नयाँ ‘एंगल’ प्रस्तुत गरेका छन् ।

कोरानाको नियन्त्रणपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उनले अघि सारेका छन् । त्यस्तै वरिष्ठ नेता माधव नेपाललाई पनि अध्यक्ष बनाएर सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने उनको प्रस्ताव छ । प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव ल्याएपछि नेकपा विवाद नयाँ मोडमा प्रवेश गरेको छ । नयाँ प्रस्तावबारे दुई दिन छलफल गरेर शनिबार बैठक बस्ने निर्णय भएको समाचार नयाँ पत्रिका दैनिकले प्रकाशन गरेकाे छ । 

‘जतिसुकै वादविवाद होस्, घेराबन्दी होस्, म तत्काल त राजीनमा दिन्नँ । हामी कोरोनाविरुद्ध लडिरहेका छौँ । यस्तो वेला सरकार छाडेर हिँड्दा जग हँसाउने कुरा मात्रै हुन्छ,’ सचिवालयका एक सदस्यका अनुसार बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘कोरोनापछि मैले पनि छाडौँला, विकल्पमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव छ ।’

Advertisement

वामदेवलाई एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने व्यवस्था गरेर अघि बढ्न सकिने उनको प्रस्ताव थियो । त्यस्तै ओलीले वरिष्ठ नेता नेपालको वरीयता पनि अपुग भएको भन्दै तीनजना पार्टी अध्यक्ष बनाएर नेपाललाई पनि अध्यक्ष बनाउने प्रस्ताव अगाडि सारेका छन् । 

निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर उपनिर्वाचनमा वामदेव गौतमको पक्षमा जनमत जुटाउन सहज छैन, राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न नेकपासँग दुईतिहाई छैन, तर पनि प्रस्तावले वामदेव उत्साही भएका छन् ।

Advertisement

ओलीको प्रस्तावलाई सकारात्मक भन्दै गौतमले यो विषयमा औपचारिक निर्णय गर्न प्रस्ताव गरेका थिए । उनको भनाइ थियो, ‘प्रधानमन्त्रीज्यूले अगाडि सारेको प्रस्ताव ठीकै छ । यसलाई सकारात्मक रूपमै लिउँ । तर, पार्टी बैठकमै प्रवेश गराएर निर्णय गरौँ । आजै गरे पनि गरौँ । सचिवालयमै निर्णय भयो भने स्थायी समितिमा जानैपर्छ भन्ने पनि छैन ।’

तर, गौतमले फेरि विगतमै जस्तै धोका हुने हो कि भनेर आशंका पनि व्यक्त गरेका थिए । वामदेवलाई राष्ट्रिय सभा सदस्य मात्र बनाउने पार्टी सचिवालयको निर्णय प्रधानमन्त्री ओलीकै कारण अलपत्र परेको छ । राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा गौतमलाई  फागुनमै सचिवालयले गरेको निर्णय ओलीले अस्वीकार गरेका थिए । 

त्यस्तै पार्टी एकता हुँदा तेस्रो वरीयतामा रहेका नेता नेपालका ठाउँमा ओलीले गत साउनमा झलनाथ खनाललाई ल्याएपछि नेपालले पनि अपमानित महसुस गरेका थिए । सो विषयमा विवाद बढेपछि लामो समयसम्म ओली र नेपालबीच संवाद पनि भएको थिएन । 

महासचिव विष्णु पौडेलले पार्टी विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले अगाडि सारेको प्रस्ताव सही विकल्प भएको बताएका थिए । नेता ईश्वर पोखरेलले पनि प्रधानमन्त्रीको प्रस्तावमा आफ्नो समर्थन रहेको बताएका थिए । तर, यो विषयमा थप छलफल आगामी बैठकमा मात्र गर्ने निर्णय भएको छ । 

प्रधानमन्त्री ओलीले बैठकको सुरुमै अर्का अध्यक्ष प्रचण्डलाई आफ्ना धारणा राख्न आग्रह गरेका थिए । केन्द्रीय समिति बैठकले ऊर्जा भरेको पार्टीलाई सरकारको कदमले पछाडि धकेलेको र परिस्थिति जटिल हुँदै गएकाले प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने धारणा उनले राखेका थिए । सचिवालयका एक सदस्यका अनुसार प्रचण्डको भनाइ थियो, ‘सरकारको कदम र तपाईंको कार्यशैलीले पार्टी फुटको दिशातिर गएको छ । अध्यादेश ल्याएर बबन्डर गर्नुभयो । पार्टी र देशका लागि पनि तपाईंले प्रधानमन्त्री पदबाट राजीनामा दिनु नै सबैभन्दा उपयुक्त हुन्छ ।’

प्रचण्डपछि बोलेका वरिष्ठ नेता नेपालले पार्टी, सरकार र प्रधानमन्त्री आफैँको पनि प्रतिष्ठा धुमिल भएकाले राजीनामा दिएर निकास दिनुपर्ने प्रस्ताव गरे । ‘हेर्नुस्, सुन्दा नमिठो लाग्ला । प्रधानमन्त्रीका रूपमा तपाईंको प्रतिष्ठा घटेको छ । तपाईं त होइन भन्नुहोला, सरकारको पनि प्रतिष्ठा कहाँ पुग्यो कहाँ । अब सरकारको नेतृत्वको निरन्तरता तपाईंबाट सम्भव नै छैन । तपाईं सक्नुहुन्न । पार्टी, जनता र सबै परिवेश बुझेर राजीनामा दिँदा नै तपाईंको, पार्टीको र देशको पनि हित हुन्छ,’ नेता नेपालको भनाइ थियो । 

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीको राजीनामाको प्रसंग स्थायी समिति बैठक बसेर टुंग्याउनुपर्ने बताएका थिए । ‘अब राजीनामा दिनुको विकल्प छैन । स्थायी समितिबाट निर्णय गरौँ,’ खनालको भनाइ थियो । अर्का नेता रामबहादुर थापा बादलले सरकारका कमीकमजोरी भए सच्चाउन सकिने, तर प्रधानमन्त्रीले अहिले राजीनामा दिन नहुने अडान राखे । 

बैठकपछि प्रवक्ता श्रेष्ठले विवाद समाधान गर्न तथा स्थायी समिति बैठक बोलाउन सचिवालयको बैठक शनिबार पनि बस्ने जानकारी दिए । उनले पत्रकारहरूसँग भने, ‘सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता र सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरूले माग गर्नुभएको पार्टीको स्थायी कमिटी बैठक र यससँग जोडिएको विधि पक्षमा गम्भीर विचार विमर्श भयो । बैठक जारी छ,’ उनले भने, ‘पार्टीको नेतृत्व टिमले अनौपचारिक प्रक्रिया अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय गरेको छ ।’ नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया