काेराेना कहरबारे पोखरा उद्योग वाणिज्य संघले थाल्यो उद्योगी व्यवसायीसँग परामर्श

समाधान संवाददाता २०७७ वैशाख १८ गते १९:१३

पोखरा

पोखरा उद्योग वाणिज्य संघले लकडाउनले व्यवसायमा परेको असर र समाधानका उपायहरुबारे छलफल थालेको छ । संघले बिहीबार पर्यटन तथा उद्योगसँग आवद्ध व्यवसायीहरुसँग लकडाउनले पारेको प्रभाव, क्षति र आउँदा दिनका चुनौतीहरुबारे राय सुझाव मागेको हो । संघले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा निजी क्षेत्रको तर्फबाट दिइने सुभावमा व्यवसायीका समस्या समेट्ने समेत जनाएको छ ।


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले लकडाउनको समयमाभन्दा लकडाउनपछिको समय उद्योगी÷व्यवसायीहरुको लागि झन चुनौतीपूर्ण हुने बताए ।  ‘अहिले लकडाउन छ, बैंकहरुले कर्जाको किस्ता र ब्याजको लागि टेलिफोन गरेका छैनन ’, उनले भने,‘खुल्नासाथ व्यवसायीहरुलाई बैंकले फोन गर्छन्, श्रमिकलाई तलब खुवाउनुपर्छ,लकडाउनपछिको समय महामारीको भन्दा खतरापूर्ण हुन्छ ।’

Advertisement

उनले उद्योगी÷व्यवसायमा लकडाउनले परेको क्षतिको मूल्याङ्कन गर्दै राज्यले पुनर्उत्थान र राहतको प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिए । छलफल समस्या र कस्तो किसिमको प्याकेजको माग गर्नेबारे सम्बन्धित भएको पनि उनले प्रष्ट पारे ।
 पर्यटन व्यवसायीहरुसँग भएको अन्तरक्रियामा बोल्दै नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नी कँडेलले लकडाउनले पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित भएको बताउँदै व्यवसाय तंग्रन दुईवर्षभन्दा बढी समय लाग्न सक्ने बताए । उनले र्बैंकहरुको ब्याजदर घटाउनुपर्ने, किस्ता बुझाउने समयसीमा बढाउनुपर्ने माग पनि गरे ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले पनि बैंकको ब्याजदर नघटाए व्यसायीहरु पलायन हुने अवस्था आउने बताए । उनले घरभाडा समायोजनको माग पनि गरे । ट्रेकिङ सामान बेच्ने व्यवसायीहरुका सामान थन्किँदा त्यो कामै नलाग्ने अवस्थामा पुग्ने भएकाले राहत प्याकेज घोषणा गर्दा समग्र पर्यटनको समस्या संवोधन गरिनुनुपर्ने उनको भनाई थियो ।

Advertisement

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले राहत प्याकेजको माग दोहो¥याउँदै खाद्यान्न र  मासुजन्य पदार्थको मूल्य अभिबृद्धि कर घटाउनुपर्ने धारणा राखे । उनले बिजुलीको डिमाण्ड शुल्क मिनाहा हुनैपर्ने बताए ।  टानका अध्यक्ष हरि भुजेललले ट्रेकिङ व्यवसाय दर्ता गर्दा राखेको धरौटी पछि तिर्ने गरि फिर्ता गरेमा व्यवसायीहरुलाई केही राहत मिल्ने बताए ।

उनले कुल ग्राहस्थ उत्पादनमा गरेको योगदानलाई आधार मानेर हैन कि व्यक्तिको लगानी हेरेर राहत दिनुपर्ने बताए । रेवानका अध्यक्ष भिमसेन भुजेलले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदूरहरु बेरोजगार भएको अवस्थामा राज्यले उनीहरुको जिम्मा लिनुपर्ने धारणा राखे । नाट्टाका अध्यक्ष संजयकान्त सिग्देलले व्यवसायीहरुले कर्मचारीलाई तलब दिनको लागि  २–३ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले राहतको प्याकेज मापदण्ड पुर्‍याएर आउनुपर्ने, आउँदा दिनमा पुँजी नपुगे पनि आयका आधारमा व्यवसायीहरुलाई  ऋण दिनुपर्ने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले कोरोनाले उद्योग, पर्यटनन मात्रै नभएर अन्य व्यवसायमा पनि प्रभाव पारेको बताउँदै राहतको प्याकेज ल्याउँदा सबै क्षेत्रलाई संवोधन गर्नुपर्ने बताए ।


यता बिहीबार नै पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा औद्योगिक क्षेत्रमा रहेका उद्योगका प्रतिनिधिहरुसँग त्यहाँको समस्याबारे बारे जानकारी लिँदै राहतको प्याकेजबारे सुझाव लिएको छ ।

संघका अध्यक्ष दामु अधिकारीले आगामी बजेट निजी क्षेत्रको समस्या सम्वोधन गर्ने खालको हुनुपर्ने बताउँदै उद्योग क्षेत्रका सबैखाले समस्या संवोधन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्ने उद्योगीहरुले लकडाउन अवधिको बिजुलीको डिमाण्ड शुल्क मिनाहा हुनुपर्ने, बैंकको ब्याजदर घटाउनुपर्ने,अत्यावश्यक खाद्यबस्तुको उत्पादनलाई आवश्यक पर्ने पुरक उद्योगहरु चल्न दिनुपर्ने, नोक्सान देखिएको ब्यालेन्स सिटमा पनि कर्जा प्रवाह हुनुपर्ने, घरमा बसेका मजदूरलाई ५० प्रतिशत तलब दिने प्रावधानले काम गरिरहेका मजदूरमाथि अन्याय गरेकोले यो समस्या संवोधन गर्नुपर्ने लगायतका माग गरेका थिए । यसैगरि उद्योगबाट कोेरोना संक्रमण फैलिएमा कडा कारबाही गर्ने भनिएकाले उद्योगीहरु हतोत्साही भएको पनि सुनाए ।

उद्योगी बाबुराम पन्तले सामाजिक सुरक्षा कोषमा जम्मा भएको ३६ अर्ब रुपैयाँबाटै मजदुरहरुलाई लकडाउन अवधिको तलब खुवाउनुपर्ने बताए ।
 ‘सामाजिक सुरक्षा कोषमा ३६ अर्ब छ’, उनले भने,‘ देशभर संगठित क्षेत्रमा भएका ५ लाख मजदुरको एक महिनाको तलव खुवाउने हो भने ६ अर्ब हाराहारीमा मात्रै आउँछ ।’
 

अर्का उद्योगपति चन्द्रराज राजभण्डारीले घरमै बस्ने कामदारले ५० प्रतिशत तलव पाउने घोषणा पछि उद्योग खोल्दा पनि मजदुरहरु काममा नआएको बताए । उनले यो घोषणाले उद्योगमा काम गरिरहेका मजदुरलाई अन्याय गरेको र व्यवसायीलाई पनि हानी गरेको बताए ।

उनका अनुसार भारतबाट कच्चा पदार्थ आउन बन्द भएकाले अब ७ दिनभन्दा बढी उद्योग चलाउन नसक्ने अवस्था रहेको जानकारी पनि दिए । औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष बलभद्र नकर्मीले अत्यावश्यक खाद्यवस्तुलाई आवश्यक पर्ने पुरक उद्योगहरु खोल्नुपर्ने र ब्याजदर घटाउन माग गरे ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला लगायत पनि सहभागी भएका थिए । 

तपाईको प्रतिक्रिया