लकडाउन र सडक बालबालिका

समाधान संवाददाता २०७७ वैशाख २६ गते ११:३९

रामचन्द्र पौडेल

संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक, चिल्ड्रेन–नेपाल

कोरोना संक्रमण फैलिन नदिन गत चैत ११ गते सरकारले एक्कासि लकडाउन घोषणा गर्‍यो । लकडाउनकै बीच पोखराका सडक बालबालिकाको उद्धार थालियो ।

Advertisement

पोखरा महानगरपालिकाको पहलमा जिल्ला प्रहरी कार्यालय कास्की र चिल्ड्रेन नेपालको सहयोगमा उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–१ लेवाडेस्थित चिल्ड्रेन नेपालको फूलबारी स्रोत केन्द्रमा राखिएको छ ।

बालबालिकाहरुको खानापिन, स्वास्थ्य उपचार, लेखपढ, मनोसामाजिक परामर्श सेवा, मनोरञ्जनजस्ता आधारभूत गतिविधिमार्फत उनीहरुको हेरचाह गरिएको छ । बालबालिकाको प्रारम्भिक विवरण लिँदा उनीहरुको स्थिति विकराल देखापर्‍यो ।

Advertisement

उनीहरुको मन सडकबाट टाढा बहकाउन मनोसामाजिक परामर्श सेवाको गतिविधि सञ्चालन गर्न लागेका थियौं । खेल खेल्न चौरमा सबैजना गोलो घेरामा उभिए। सहजकर्ताले खेलको नियम भन्न लागेका थिए ।

एक जना करिब १५ वर्षको बालक भुइँमा सुत्यो र लडिबुडी खेल्यो । हेरचाहकर्ताले उसलाई उठाएर घरको पछाडितिर लगे । ४/५ मिनेटपछि त्यो बालक फूर्तिसाथ खेल्न तयार भएर आयो । लाग्यो घर पछाडि लगेर सहजकर्ताले कुनै बुटी खुवाए ।

पछि थाहा भयो हेरचाहकर्ताले चकलेट र ल्वाङ खुवाएर ल्याएका रहेछन् । उसले बिहानैदेखि चुरोट र खैनी मागेको रहेछ । त्यो नदिँदा उसका हात खुट्टा चलेका थिएनन् ।

‘सडकमा हुँदा दिनमै एक बट्टा चुरोट र एक बट्टा खैनी सिध्याउँथ्ये रे । दिनमा २÷३ पटक गम (डेनड्राइट) सुग्ने गर्थे । रक्सी,चुरोट खैनी त यहाँ खान पाइँदैन । मैले विस्तारै चुरोट र खैनीलाई चकलेट, ल्वाङ, सुकमेल जस्ता बस्तुले विस्थापित गर्ने प्रयास गरेको छु,’ हेरचाहकर्ताले मलाई सुनाए ।

उद्धार गरिएका बालबालिकामध्ये अधिकांशले ‘गम’ सुग्छन् । गमको तल–तलले गर्दा उनीहरु स्थिर छैनन् । उनीहरुको स्मरण शक्ति क्षीण हुँदै गएको देखिन्छ । धेरैकुरा सम्झन सक्दैनन् ।

उनीहरुमा एकोहोरोपना, टोलाउने र रिसाउने र झगडा गर्ने बानी परेको छ । एकले अर्कोलाई गाली गर्ने, होच्याउने, अपशब्द बोल्ने, कुट्ने, पिट्ने बानी छ । केही कुरा दिन खोज्दा खोसा खोस गर्छन् ।

बालबालिकामा लागुपदार्थको लत यति नराम्रोसँग बसेको छ । त्यो नपाए उनीहरु जे पनि गर्न सक्छन् । केन्द्रबाट भाग्ने मात्र होइन मारकाट पनि गर्न सक्छन् । झन्डै ३ दशक बालबालिकासँग दिन बिताउँदा यस्ता अनगिन्ती अनुभव स्मरणमा छन् ।

धेरैजसोले लेखपढ गर्न जान्दैनन् । अभिभावकको साथमा हुँदा १÷२ कक्षा पढेको भएपनि बिर्सिसकेका छन् । स्वास्थ्य परीक्षण गराउँदा सबै जसोमा छालाको समस्या देखियो । सबैलाई लुतो भएको रहेछ ।

पेट, छाती र कानको समस्या भएका पनि रहेछन् । अधिकांश बालबालिका परिवार विखण्डनको कारण सडकमा पुगेको देख्छु । ती बालबालिका कुलतबाट छुट्कारा पाउन चाहन्छन् । कोही सिप सिकेर नयाँ जीवन सुरु गर्ने इच्छा प्रकट गर्छन् । यो देखेर मन आनन्दित हुन्छ ।

सौतेनी आमा÷बुवाको दुव्र्यवहार र हिंसाको कारण घर छाडेर हिँडेका छन् । केही बालबालिका टुहुरा छन् । कतिकाआमा/बुवा बितिसकेकाछन् भने कतिका बेपत्ता छन् । कतिपयका आमा वा बुवा भए पनि आर्थिक विपन्नता र हेरचाह नपाएको कारणले संगतले सडकमा आउने गरेको पाएको छु । कतिपय बालगृहबाट निस्केर सडकमा आएका छन् ।

केही बालबालिका ६ महिनाभित्रमा सडकमा आएका छन् भने केही १२ वर्षदेखि सडकमा छन् । रोल्पा, पर्वत, बाग्लुङ, म्याग्दी, रुपन्देही, रौतहट, रामेछाप, लमजुङ, तनहुँ र कास्कीका विभिन्न गाउँबाट पोखराको सडकमा रहेका यी बालबालिकाहरु सडकमा माग्ने, प्लास्टिक टिप्ने, निर्माण कार्यमा मजदुरी गर्ने, होटलमा भाडा माझ्ने, ट्वाइलेट सफा गर्ने जस्ता काम गरेर दिन बिताउँदा रहेछन् ।

उद्धार गरी फूलबारी स्रोत केन्द्रमा राखिएका बालबालिकामध्ये कतिपय सहयोगी पनि छन्। ठूला बालबालिकाले सानालाई हेरचाह गर्ने, खाना पकाउने, सरसफाई गर्नेजस्ता जिम्मेवारी स्वयंसेवी रुपमा नै लिएका छन् । साना साना बालबालिका र अपांगता भएका बालबालिकालाई उनीहरुले राम्रो हेरचाह गरेका छन् ।

बेवारिस तथा श्रमिक बालबालिकाको उद्धार गरेपछि उनीहरुको रेखदेख र हेरचाह, खाना, आवास, लत्ताकपडाको व्यवस्था गरिएको फूलबारी स्रोत केन्द्रमा रहँदा प्रारम्भिक विवरण लिइन्छ ।

प्रारम्भिक विवरण लिने बेला उनीहरुको अवस्था हेरी तुरुन्तै उपचार गर्नुपर्ने, कुनै किसिमको आड भरोसा दिनुपर्ने, सरसफाइ जस्ता कुरालाई पहिलो प्राथमिकता दिइन्छ ।

प्रारम्भिक विवरण लिने र तत्काल प्रदान गर्नुपर्ने सेवाको क्रममा व्यक्तिगत घट्ना व्यवस्थापनको निम्ति मनोसामाजिक परामर्शको माध्यमबाट उनीहरुको अवस्था र चाहनाको पहिचान गरी त्यसै आधारमा क्रियाशील हुन प्रेरित गरिन्छ ।

बालबालिकालाई कानुनी सेवा, चिकित्सा सेवा, थेरापी सेवा र निरन्तर मनोसामाजिक परार्मश सेवा, प्रदान गरिन्छ । बालबालिकाको मानसिक र संवेगात्मक स्वास्थ्य सुधारको निम्ति योग ध्यान, खेल, मनोरञ्जन, संगीत जस्ता गतिविधि दैनिक, साप्ताहिक र मासिक रुपमा समय तालिका बनाएर सञ्चालन गरिएको छ ।

उनीहरुको आत्मविश्वास बढाएर जीवनको लक्ष्यलाई चरणबद्द रुपमा प्राप्त गर्ने योजनाको निम्ति जीवन उपयोगी सीप, वृत्तिपरामर्श, शिक्षा, विद्यालय प्राविधिक शिक्षा, कृषि, पशुपालन विषयसँग सम्बन्धित अवसरहरु प्रदान गर्ने योजना छ ।

बानीमा सुधार हुँदै गएपछि विभिन्न किसिमका तालिम, कार्यशालाको माध्यमबाट उनीहरुको जीवन र जगतप्रति सचेत र सक्रिय रहने क्षमता बढ्ने अवसर हुन्छ ।

यसरी एकातिर बालबालिकाको पालनपोषण, शिक्षादिक्षा हेरचाहको काम हुन्छ भन्ने अर्कोतर्फ उनीहरुको परिवारको खोजी/सम्पर्क गरी परिवार सदस्यहरुलाई बालबालिका पुर्नस्थापनाको तयारी हुन्छ ।

यो काम स्थानीय तहमा गठित न्यायिक समिति र नागरिक समुदायको सहयोग र जिम्मेवारीमा बालबालिकाको पुर्नस्थापना गरिन्छ । परिवार पत्ता नलागेका, नभएका वा कुनै हिसावले परिवारमा पुर्नस्थापना हुन नसक्ने बालबालिकाको हकमा तिनलाई बालगृह तथा समुदायमा पुर्नस्थापना गरिन्छ । यसरी पुर्नस्थापना भएका बालबालिकाको व्यवस्थापन केन्द्रले अनुगमन गर्दछ ।

बेवारिसे तथा श्रमिक बालबालिकाको अधिकार स्थापना गर्न र बेवारिस अवस्थामा बालबालिका नपरुन् भन्ने उद्देश्यले स्थानीय र राष्ट्रिय तहमा बालअधिकारको पैरवी गर्नुपर्ने हुन्छ ।

स्थानीय तथा प्रदेश सरकारले कस्तो नीतिनियम बनाउँदा र सरोकारवालामा कस्तो जनचेतना फैलाउँदा यस्ता बालबालिका संरक्षित हुन्छन् भन्ने विषयमा अनुभवको आधारमा निरन्तर छलफल बहस गरी योजना बनाउन सुझाव प्रदान गर्ने योजना छ ।

यी सबै सेवा कार्यहरुलाई व्यवस्थित गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका र चिल्ड्रेन नेपालबीच समझदारी भई जिम्मेवारी विभाजन भएको छ ।

उक्त समझदारीको आधारमा फूलबारी स्रोत केन्द्रमा पूर्वाधार निर्माणको काम भईरहेको छ । यसलाई अझ व्यवस्थित गर्न राष्ट्रिय बाल अधिकार परिषद्सँग थप साझेदारिता विकास गर्ने सवालमा विभिन्न चरणमा छलफल भैरहेको छ ।

विगत २५ वर्षदेखि अनवरतरुपले बालबालिका र तिनका परिवारको हकहित संरक्षण र कल्याणको पक्षमा कार्यरत चिल्ड्रेन नेपाल संस्थाको भौतिक पूर्वाधार र यसका अनुभवी कार्यकर्ताले व्यवस्था गरेको फूलबारी स्रोत केन्द्रमा बेवारिसे तथा श्रमिक बालबालिका व्यवस्थापन केन्द्र सञ्चालन गर्न राष्ट्रिय बाल अधिकार परिषद्को पनि सहयोग गर्ने आश्वासन प्राप्त भएको छ ।

नेपालको संविधानको धारा ३९ मा बालबालिकाको मौलिक हकको व्यवस्था छ । संविधानको मर्मअनुसार बालबालिकाको सुनिश्चित भविष्यको लागि प्रदेशस्तरमा पूर्वाधार सहितको सुविधायुक्त व्यवस्थापन केन्द्रको स्थापना गर्न निकै जरुरी छ ।

बालबालिकाहरु समाज विकासका भावि कर्णधार भएकाले उनीहरुको पालनपोषण, स्वास्थ्य, शिक्षा आदि जस्ता आधारभूत कुराहरुको राज्यद्वारा सुनिश्चित गर्न स्थानीय तह र सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया