राष्ट्रपतिसहित अतिविशिष्टको कोरोना परीक्षण

समाधान संवाददाता २०७७ वैशाख ३० गते १९:५८

काठमाडाैं

राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहित अतिविशिष्ट महानुभावको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ ।

संघीय संसद्मा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उहाँहरुको पिसिआर विधिबाट परीक्षण गरिएको हो ।

संसद् सचिवालयबाट प्राप्त जानकारीअनुसार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित ३७, उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुनसहित ६४ र प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित १० जनाको पिसिआर परीक्षण गरिएको हो ।

Advertisement

उक्त समारोहमा सहभागी हुन आउने मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि स्वास्थ्य परीक्षण भएको छ । कोभिड–१९ का कारण सङ्घीय संसद्मा सार्वजनिक गरिने नीति तथा कार्यक्रममा सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थाका कारण यसपालि संवैधानिक निकायका प्रमुखलाई मात्र आमन्त्रण गरिएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

उक्त समारोहमा सहभागी हुन आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । कोभिड–१९ को जोखिमका कारण उक्त समारोहमा यस पटक नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई भने आमन्त्रण नगरिने बुझिएको छ । सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, सांसद, कर्मचारी तथा सुरक्षाकर्मीसहित ७११ जनाको नयाँ बानेश्वरस्थित संसद् भवनमा यसअघि नै स्वास्थ्य परीक्षण भइसकेको छ ।

Advertisement

कोरोना परीक्षण गर्न बाँकी १६ सांसदमध्ये पाँच जना निलम्बित हुनुहुन्छ । परीक्षण गर्न बाँकी सांसदलाई टेकुस्थित राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा गएर पिसिआर परीक्षण गराउन सचिवालयले आग्रह गरेको छ । यसैबीच स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर सदन नभएका समयमा काठमाडौँ उपत्यका बाहिर नजान सांसदलाई सचिवालयले अनुरोध गरेको छ । रासस

तपाईको प्रतिक्रिया