सीमाका विषयमा बोल्न नजानेको कि नेपालीलाई हेपेको मन्त्री ज्यू ?

समाधान संवाददाता २०७७ जेठ ६ गते १२:१०

अनिशा श्रेष्ठ

हुन त नेपालमा पनि कोरनाका कारण २ जनाको मृत्यु भइसकेको छ । यो बेला अन्य विषयका कुरा गर्नु त्यति राम्रो र समय सापेक्ष हुँदैन होला किन भने मानवीय जीवनभन्दा ठूलो अन्य कुरा हुँदैन । तर पनि कोरना कहरलाई एक छिन मनभित्र थाती राख्दै राष्ट्रियताको कुराले मन कटक्क परेको मात्रै हो ।

त्यसैले यो लेखिरहँदा समयसापेक्ष भएन भने माफी पनि माग्छु । आफ्नै छिमेकीले बोलेका कतिपय कुराले मन नमज्जाले कुँडिदा समय सापेक्ष नभए पनि लेखिहालें ।

Advertisement

सानैमा होस् वा उमेर बढेपछि पनि धेरै पटक पढेको कथा हो झाँसीकी रानी । सायद म महिला भएर पनि होला सुनाउनेले पनि मलाई महिला पात्रकै कथा धेरै सुनाए कारण उनीहरुको ममाथिको अपेक्षा पनि यस्तै खालको थियो ।

सायद उनकै जस्तै आँट र साहसको अपेक्षा पनि थियो होला ममाथि मेरो परिवार अनि समाजको । हुन त झाँसीकी रानीले ब्रिटिसको कब्जामा रहेको भूमिको रक्षाका लागि गरेको योगदान ठूलै चर्चा थियो ।

Advertisement

चीनको वुहान प्रान्तबाट सुरुभएको कोरोना भाइरस फ्री भिसा लिएर विश्वका कयौ्र देशमा मजाले घुमिरहेको छ । लाखौंको संख्यामा मानिसहरु कोरोनापीडित भएका छन् भने कयौले ज्यान गुमाएका छन् ।

संसार कोरनाले बिसन्चो भएको मौका छोपेर आफूलाई असल छिमेकी भन्ने देशले थोरै जमीनमा गिद्धे दृष्टि लगाउँदा मनमा आक्रोश बढ्नु स्वभाविक नै हो ।

देशको बागडोरको जिम्मा लिएका सरकारका प्रतिनिधिहरुबाट नेपाली भूमिमा विदेशीको धावालाई प्रतिवाद गर्छन् र सारा नेपालीको दुखेको मनलाई मलम लगाउने छन् तर नेपाली सर्वसाधारणको कर्म नै खोटो जे सोच्यो ठिक उल्टो ।

भारतले नेपालको सदियौंदेखिको जमिन लिम्पियाधुरा लिपुलेकमा भारतीय स्वामित्वको सडक निर्माण गर्दा अधिकतम नेपालीको छाती चिरिएको छ तर नेपालकै भूमिको रक्षार्थ निकाय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले त्यो भूमि नेपालकै होइन भन्दा कुन राष्ट्रवादी नेपालीको मन नदुख्ला र ?

गत वैसाख २८ गते १ रेडियोमाबहसपूर्ण कार्यक्रममा मन्त्री अर्यालले ‘नेपालको नक्सामा लिम्पियाधुरा छैन र लिम्पियाधुरा इतिहासदेखि नै छैन । लिपुलेक र कालापानीको नक्सा अहिले पनि हामीले प्रचलनमा ल्याएको नक्सा हो,’ भनिन्। जब उनको यो अभिव्यक्ति आयो तब सारा नेपाली मिचिएको सीमा सुरक्षार्थभन्दा पनि मन्त्रीको अभिव्यक्तिको विपक्षमा जनआवाज गुञ्जियो ।

एक जना जिम्मेवार व्यक्तिले यस्तो खालको अभिव्यक्ति होसमा दिएको हो भन्ने कुरा कुनै नेपालीले पत्याउने कुरै भएन । त्यसैले उनको अभिव्यक्ति रेडियोबाट प्रसार भएर नसकिँदै सामाजिक सञ्जालमा अनेकौं प्रकारका प्रतिक्रियाहरु आएका छन् ।

धेरै प्रतिक्रियाहरुमा उनलाई तुच्छ गाली गरिएको छ । उनकै दल नेकपाका नेता तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज तथा पूर्वगृहमन्त्री भीम रावलले उनको अभिव्यक्तिको संसदमै विरोध गरे ।

यो देशको राष्ट्रप्रमुख महिला भएकाबेला अर्को महिलाले जिम्मेवारपूर्ण तरिकाले जनपक्षीय निर्णय मात्रै गर्न सक्ने हो भने जनताको हाइहाइपाउन खासै ठूलो केही गर्नु पर्दैन । देशको सिमानाका बारेमा तपाईं एक जनाले बोल्ने कुराले परिवर्तनमा खासै असर नपर्ला । तर पनि समयमा एक आवाज मात्रै किन नहोस् राष्ट्रवादका पक्षमा बोल्नै पर्छ अनि बढ्ला तपार्इंको उचाइ ।

कालापानीको सिमाना अतिक्रमणको बेला तत्कालीन समयका भरोसालाग्दा तपाईकै सहकर्मी युवा नेतृत्व योगेश भट्टराईको नेतृत्वमा कालापानीमा मार्च भयो, जसको कमान्ड रवीन्द्र अधिकारीले गरेका थिए ।

उनीहरुले कालिपानीमा भारतले नेपालको भूमि मिचे पनि सरकार मौन बसेको भन्दै एउटा दबाब सिर्जना गरे । कालापानीमा भारतीय सरकारले नेपाली भूमि मिचेको भन्दै विरोध गरेर काठमाडौंबाटै मार्च पासको नेतृत्व गर्दै रविन्द्र अधिकारीले हिम्मत गरे ।

रवीन्द्र र योगशको राजनीतिक टर्निङ प्वाइन्टमा यो आन्दोलनले पनि धेरथोर सघायो । उनीहरुले केही गर्न सकेनन् तर र पनि नेपालीजनको वाहीवाही पाए । योगेश अहिले तपाईं सम्मिलित मन्त्रीपरिषद्मा छन् । रवीन्द्र भने अहिले हामीबीच छैनन् ।

अझै पनि केही बिग्रिएको छैन माननीय ज्यू हिम्मत गर्नुहोस् देशको नक्सा सधैभरीको लागि नमिचिने गरी पहल गर्न हामी तपाईंको साथमा छौं । हामी घर केन्द्रित काम र सौन्दर्यका पर्याय मात्रै होइनौं आवश्यक पर्दा देशको कायापलट गर्न र राष्ट्रिय स्वाधिनता र अखण्डताको पक्षमा छाती चौडा पार्न पनि सक्षम छौ ।

साँच्चै भनेको मन्त्री ज्यू यो सुनौलो अवसर हो तपाईं र समग्र महिलाको लागि पनि । हिम्मत गर्नुहोस् र नेतृत्व गर्नुहोस् डेढ करोड महिला तपाईंको पछि लाग्न तयार छौं । तपाई संसार जित्ने हिम्मत गर्ने क्लियोपेट्रा र भारत एकीकरणका पक्षमा कुर्वानी गर्ने झाँसीकी रानीको कथा होइन, हाम्रा छोरा छोरी तथा नाती नातिनीहरुले तपाईंको कथा सुन्ने छन् । अनि हामीले पनि गर्व गर्ने छौं छोरी भएर जन्मेकोमा ।

तपाईको प्रतिक्रिया