सार्दीखाेलाकाे सेती नदी जलविद्युत् आयोजना निर्माण व्यवस्थापन हाइड्रो कन्सल्टले गर्ने

समाधान संवाददाता २०७७ असार ९ गते ६:२६


कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा निर्माण गर्न लागिएको सो आयोजनाको निर्माण कार्य गत वैशाख २२ गतेदेखि शुरु भएको हो ।

काठमाडौं

सेती नदी जलविद्युत् आयोजनाको परामर्श सेवा तथा निर्माण व्यवस्थापन र सुपरिर्वेक्षणको काम हाइड्रो कन्सल्ट इञ्जिनीयरिङले गर्ने भएको छ ।

Advertisement

भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीमा निर्माण शुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको निर्माणलाई थप प्रभावकारी बनाउन र गुणस्तरमा ध्यान दिन हाइड्रो कन्सल्टको सहभागिता महत्वपूर्ण हुने प्रवद्र्धक कम्पनीले विश्वास लिएको छ ।

द्विपक्षीय सम्झौतामा भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल, हाइड्रो कन्सल्टका प्रमुख कार्यकारी अधिकृत मनोहर श्रेष्ठले हस्ताक्षर गरेका छन् । परामर्श तथा निर्माण व्यवस्थापनका लागि भिजन लुम्बिनीले हाइड्रो कन्सल्टलाई ५ करोड ५५ लाख ४१ हजार ५ सय बराबरको रकम उपलब्ध गराउने छ ।

Advertisement

निर्माण कार्यमा कुनै सम्झौता नगर्ने, आयोजनाको सबै काम प्रभावकारीरुपमा गर्ने तथा अन्य व्यवस्थापकीय कामका लागि सो रकम खर्च हुनेछ । आयोजनालाई हरेक कोणबाट सबल, गुणस्तरीय बनाउने ध्येयका साथ आफूहरुले हाइड्रो कन्सल्टसँग सम्झौता गरेको अध्यक्ष पोखरेलले जानकारी दिए । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा निर्माण गर्न लागिएको सो आयोजनाको निर्माण कार्य गत वैशाख २२ गतेदेखि शुरु भएको हो ।

कूल ५ अर्ब लगानीमा निर्माण गरिने आयोजनाको सुरुआतमा सिभिल निर्माणतर्फको सेटलिङ बेसिन खन्ने काम भइरहेको छ । आगामी २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार कोरोना सङ्क्रमणको त्रासका बीचमा समेत आवश्यक सुरक्षाका उपाय अवलम्बन गरेर काम शुरु गरिएको छ ।

भराभरीमा आयोजनाको बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका–१९ सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत् गृहमा १८७ मिटर उचाइबाट पानी खसालिनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । १ अर्ब २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्ने गरी गत माघमा भौतिक निर्माणको जिम्मा रसुवाले पाएको हो ।

सिभिल वर्कको कामसँगै आयोजनाको हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल्स र ट्रान्समिसन (प्रशासरण लाइन) को काम अघि बढाउन निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान भइसकेको छ । आयोजनाले उत्पादन गरेको विद्युत् वर्षायाममा ६ महिना ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता यसअघि नै भइसकेको छ ।

आयोजनाको कूल लागतमध्ये ७० प्रतिशत विभिन्न बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रबाट जुटाइनेछ भने बाँकी रकम स्वपूँजीका रुपमा लगानी हुनेछ । आयोजनामा स्थानीयबासीको समेत शेयर लगानी रहेको छ । बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलाप गर्दै आइरहेको भिजन लुम्बिनी मातहतमा आयोजनाको कार्य भइरहेको हो ।

प्रवद्र्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्ति मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरुले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताको रुपमा सहभागी गराएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया