ओली र प्रचण्डबीच वारपार–वार्ताको तयारी

समाधान संवाददाता २०७७ असार १८ गते १३:४९

समाधान संवाददाता

सत्तारुढ दल नेकपा (नेकपा)को विवाद चरम विन्दुमा पुगेको छ । स्थायी कमिटीका दुई तिहाई सदस्यले केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा गर्नु पर्ने निर्णय पारित गर्न थालेपछि पार्टी फुटको संघारमा पुगेको छ ।

संसदमा महत्वपूर्ण विधेयक माथि छलफल र ती विधेयक पारित गर्नु पर्ने विजनेस हुँदा हुँदै विहीबार मध्यान्ह बसेको मन्त्रिपरिषद बैठकले ससद अधिवेशन अन्त्य गर्न सिफारिस गरेसंगै नेकपा विभाजको संघारमा उभिएको हो ।

Advertisement

प्रचण्ड–माधव नेपाल पक्ष र ओली पक्ष आ–आफ्नै अडानमा रहेपछि बालुवाटरमा जारी रहेको स्थायी कमिटीको बैठक रोकिएको छ । विहीबार प्रधानमन्त्री ओली स्थायी कमिटी बैंठकमा सहभागी नै भएनन् ।

नेकपा श्रोतका अनुसार अहिले दुई अध्यक्ष ओली र प्रचण्डबीच निर्णायक वार्ताको तयारी भैरहेको छ । यसका लागि केही मध्यमार्गी नेताहरुले भूमिका खेलिरहेका छन् ।

Advertisement

यो वार्तामा कुरा नमिले प्रधानमन्त्री ओली दल विभाजन सम्बन्धि अध्यादेश फेरि ल्याउने तयारी गरेको श्रोतको दावी छ । अहिलेको दल विभाजनसम्बन्धि अध्यादेशमा संसदीय दल र पार्टीको केन्द्रिय कार्यसमिति दुवैमा ४० प्रतिशत पुगेपछि मात्र दल विभाजन गर्न पाइन्छ । त्यसलाई संशोधन गरे दुई मध्ये एक मा ४० प्रतिशत पुर्याएमा दल विभाजन गर्न पाइने अध्यादेश ल्याइने चर्चा छ ।

पार्टीको केन्द्रिय समितिमा ओली पक्षधरको ४० प्रतिशत नपुगे पनि संसदीय दलमा ४० प्रतिशत पुग्ने विश्वास ओली पक्षको छ ।

तपाईको प्रतिक्रिया