मुस्ताङमा कामदार भित्र्याउँदा ग्रिनजोन भत्किने डर

समाधान संवाददाता २०७७ भदौ १२ गते ६:५४

एसके थकाली
जोमसोम

गण्डकी प्रदेशको कोरोनामुक्त जिल्ला मुस्ताङमा निर्माण कम्पनी र ठेकेदार लगायतले बुझाएको निवेदनको आधारमा जथाभावी जिल्ला बाहिरबाट कामदार भित्र्याउने परिपाटीले मुस्ताङ कोरोना भाईरसको उच्च जोखिममा पर्नसक्ने मुस्ताङ उद्योग वाणिज्यसंघका अध्यक्ष खगेन्द्र तुलाचनले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकको ८ बुदे निर्णयपछि अध्यक्ष तुलाचनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

Advertisement

उद्योग वाणिज्य संघका अध्यक्ष तुलाचनले बैठकपछि आफू विकास विरोधी नभएको र अहिलेको पछिल्लो विषम कोरोना माहामारीको समयमा जिल्लामा अन्धाधुन्द कामदार भित्र्याउने अवस्थाले मुस्ताङ कोरोना भाइरसको उच्चजोखिम सिर्जना गर्ने दाबी गरे । उनले जिल्ला सीमानाकामा प्रवेश गर्ने व्यक्तिहरुको उपयुक्त स्वास्थ्य परीक्षण गर्ने भौतिक पूर्वाधारको कमी रहेकाले केहीसमयका लागि कामदार ल्याउन नहुने बैठकमा सुझाएको बताए ।

पछिल्लो समय दिनहुँ कोरोना संक्रमित बृद्धि भइरहेकोतर्फ ध्यानाकर्षण गर्दै अध्यक्ष तुलाचनले मुस्ताङ प्रवेश गर्ने नाकामा कडाई गर्ने खालको निर्णय बैठकमा आउन नसकेको जनाए ।

Advertisement

‘मुस्ताङ जिल्ला कोरोनामुक्त भनेका छौं, यसमा लापरवाही भइरहेको छ ,‘अध्यक्ष तुलाचनले भने ‘मुस्ताङमा काम गर्ने स्थानीय मजदुर छैनन्, जिल्ला बाहिरका मजदुर आउँदा कोरोना जोखिम बढ्छ ।’ उनले मुस्ताङले कोरोना रोकथामका लागि कडा निर्णय लिएमात्र कोरोनाका रोकथाममा राम्रो सन्देश प्रवाह हुने उल्लेख गरे ।

जिल्ला सिसिएमसीले गरेको ८ बुँदे निर्णयमा आफ्नो आंशिक सहमति भए पनि कामदार ल्याउने प्रक्रियामा आफ्नो चित्त नबुझेको उनले बताए । उनले गत भदौ ८ गते अवरुद्ध बेनी—जोमसोम सडक सूचारु भएसगै जिल्लामा अपरिचित व्यक्तिको प्रवेश भइरहेकोले यसले समस्या उत्पन्न हुनसक्ने जनाए ।

गत चैत ११ गते देखि भएको कोरोना माहामारीपछिको लकडाउन र लकडाउन अन्त्यसंगै पछिल्लो समय देखिएको कोरोना विकराल समस्यालाई लिएर मुस्ताङमा जिल्ला सिसीएमसीको बैठक बसेको हो ।

बैठकले कतिपय विगतका निर्णयलाई पछ्याउँदै केही नया निर्णय समेत गरेको छ । बैठकले म्याग्दी र मुस्ताङको सीमानाकामा पास नभएका सवारी साधन र व्यक्तिलाई प्रवेशमा रोक लगाउने, पास भएका व्यक्ति जिल्ला भित्रिएमा उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने, कोरोना माहामारीको समयमा जिल्लामा अतिआवश्यक सेवा/वस्तु ढुवानी संञ्चालन तथा अनुमति लिई प्रवेश गर्ने व्यक्तिको कार्ययोजना बनाइने निर्णय गरेको छ ।

५ वटै स्थानीय तहले पालिकाभित्र प्रि—आइसोलेसन र क्वारेन्टाइन स्थापना गर्ने र सोको जानकारी ७ दिनभित्र गराउने, मुस्ताङमा उत्पादित फलफूल तथा तरकारीको बिक्री तथा खरिद व्यवस्थापनका लागि बगैंचा धनीको जिम्मेवारीमा सम्वन्धित वडामार्फत् सिफारिस गर्ने र त्यसका लागि आएका ठेकेदार र बिक्रेतालाई क्वारेन्टाइनमा रहँदै भौतिक दुरी कायम गरेर बगैंचा हेर्ने निर्णय पनि भएको छ ।

यसैगरी स्याउ टिप्ने कामदार सम्भव भएसम्म जिल्लाभित्रकै परिचालन गर्नुपर्ने, कोरोना संक्रमितको दाहसंस्कारका लागि स्थान पहिचान गर्न पालिकाहरुलाई अनुरोध गर्ने, विकास निर्माण र आवश्यक मर्मत समेतको काममा कामदार ल्याउँदा ठेकेदारको जिम्मेवारीमा साविकको ११ बुँदे निर्णयलाई कार्यान्वयनमा लैजाने र जिल्ला भित्र सभासम्मेलन, पार्टी, सेमिनारजस्ता कार्य निषेध गर्ने निर्णय भई कायान्वयनमा लगिएपनि कार्यान्वयन चरणमा कहिँकतै कमजोरी भएकाले त्यसलाई कडाइका साथ थप निगरानी बढाइने लगायत निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले कोरोना रोकथामका लागि सबैको सामूहिक प्रयास आवश्यक भएको बताइन् । मुस्ताङ ग्रिनजोन कायमै राख्न बैठकका निर्णय कार्यान्वयन हुने विश्वास व्यक्त गरिन् । उनले कोरोना रोकथाम तथा प्रतिकार्यका लागि सबैको साथ सहयोग र समन्वयन आवश्यक पर्ने जनाइन् ।

तपाईको प्रतिक्रिया