बेनी नगरपालिकाको भवन निर्माण शुरु

समाधान संवाददाता २०७७ भदौ १९ गते १५:०५

म्याग्दीको बेनी नगरपालिकामा नयाँ कार्यालय भवन निर्माण शुरु भएको छ । नगरपालिकाअन्तरगतका विभिन्न शाखाहरुका लागि नयाँ भवन निर्माण शुरु गरिएको हो ।

हाल नगरपालिका कार्यालय रहेको परिसरमा नयाँ पाँच कोठे एक तले भवन निर्माण शुरु भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए। भवन निर्माणका लागि जयमा लक्ष्मी निर्माण सेवा बागलुङले रु ४८ लाख ४९ हजार ४२ मा ठेक्का सम्झौता गरेको छ ।

गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको भवन यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । कोरोनाको जोखिमका बीच पनि निर्माण कम्पनीले स्थानीय मजदुर परिचालन र निर्माण सामग्री जुटाएर भवन निर्माणलाई तीव्रताका साथ अघि बढाएको छ ।

Advertisement

यसैगरी बेनी नगरपालिकाको वडा नं ७ को कार्यालय र सहरी स्वास्थ्य क्लिनिकका लागि पुस्तकालय चोकमा अर्को भवन पनि निर्माण भइरहेको छ । तीन तले भवनको गत वर्ष कालीगण्डकी निर्माण सेवासँग २४ लाखमा सम्झौता भएअनुसारको काम सकिएको छ । यो वर्ष थप बजेटको व्यवस्थापन गरेर भवनलाई पूर्णता दिइने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सुनाए ।

यसैगरी अर्थुङ्गेमा वडा नं ६ को कार्यालय भवन निर्माण शुरु भएको छ । ५१ लाख ७४ लाख २५३ मा तिलक निर्माण सेवाले ठेक्का लिएको थियो । गत आर्थिक वर्षमा कोरोना र बन्दाबन्दीका कारण काम प्रभावित भएपछि म्याद थप गरेर निरन्तरता दिइएको लेखा अधिकृत मीनबहादुर बानियाले बताए ।

Advertisement

बेनी नगरपालिकाको मुख्य प्रशासनिक कार्यालय खारेज भएको तत्कालीन भुसंरक्षण कार्यालयका लागि निर्माण भएको भवनमा छ । यसैगरी तत्कालीन अर्थुङ्गे गाविसको पुरानो भवनमा तला थप गरिएको छ । धेरै शाखा र कर्मचारीका लागि कार्यकक्ष अभाव भएपछि नयाँ भवन निर्माण थालिएको हो ।

तपाईको प्रतिक्रिया