अनुदानमा हिउँदे तरकारीको बीउ

समाधान संवाददाता २०७७ भदौ २० गते ७:०१

समाधान संवाददाता
पोखरा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले २ हजार ५०० घरधुरीमा ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बीउ वितरण गरेको छ ।

परम्परागत कृषि प्रणालीलाई त्याग्दै आधुनिकीकरणमार्फत स्थानीयवासीलाई उत्पादनसँग जोड्न ९ जातका हिउँदे तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । कृषिका माध्यमबाट स्थानीयवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ गाउँपालिकाले कृषकलाई बीउ वितरण गरेको हो ।

Advertisement

उनका अनुसार गाउँपालिकाले कृषकलाई मार्फा चौडा पाते रायो, मूला (मिनुअर्ली र चालिसे), सिमी, पालुंगो, धनियाँ, काउली, बन्दा र केराउको बीउ अनुदानमा उपलब्ध गराएको हो ।

यसअघि अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाभित्रका जमीनमा उत्पादन हुनसक्ने कृषिजन्य वस्तुको पहिचानका लागि यहाँका ११ वटै वडामा माटो परीक्षण गराइएको थियो । गाउँपालिकाले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै स्थानीयवासीलाई आत्मनिर्भर बनाउनका लागि फलफूललगायत बिरुवा पनि वितरण गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया