शिक्षामा प्रश्न

समाधान संवाददाता २०७७ भदौ २१ गते ६:०६

प्रा. विश्वराज अधिकारी

शिक्षा जीवनपर्यन्त मानिसले आर्जन गर्ने सबैभन्दा ठूलो शक्ति हो । शिक्षाको प्राप्ति गर्नु भन्नाले मानिसले आफ्नो जीवनलाई अगाडि बढाउने क्रममा साहित्य, कला र सभ्यता, संस्कृति र इतिहास, ज्ञान र विज्ञानको अध्ययन, अनुसन्धान, प्रसारण तथा जगेर्ना गर्नु पनि हो ।

यी र यस्तै विषय वस्तुको प्राप्ति पछि मानिस विवेकी, उच्च विचार, आशावादी तथा आदरभावले सुसंस्कृत बनि सत्यप्रति निष्ठावान् हुँदै समाजलाई समृद्ध बनाउँदै लैजान्छ । औपचारिक किसिमले शिक्षालय वा महाविद्यालयमा अध्ययन गरेर प्रमाणपत्र प्राप्त गर्नु भनेको ज्ञानको सानो परिधिमा रम्नु र रमाउनु हो । शिक्षाले सत्य र सम्भावनाको खोजी गर्ने, आविष्कार र अनुसन्धानलाई उत्प्रेरित गर्ने तथा जीवन र जगत्लाई सूक्ष्म अध्ययन गरी उत्तम जीवन जिउने कला प्रदान गर्दछ ।

Advertisement


सकारात्मक सामाजिक चेतको विकास शिक्षित समुदायबाट हुन नसक्नु शिक्षाप्रति गैरजिम्मेवार हुनु हो ।

तसर्थ शिक्षा दिनु भनेको उचित वातावरणको सिर्जना गर्नु हो न कि विद्यार्थीहरूलाई ज्ञानको आवरणमा जबरजस्ती भार बोकाउने र सकि नसकि लामो दौडमा मात्र लिन लगाउनु नै हो ।

Advertisement

अहिलेको परिस्थिति बस सिर्जित अवस्थामा हामीलाई प्रश्न गर्ने ठाउँ के छ भने, अबको शिक्षा गुरुकुल, समुदाय वा घरमा नै केन्द्रित अनौपचारिक हुने हो कि ? शिक्षाका नाममा स्रोत र साधनको सरल पहुँच विना नक्कली शिक्षा दिन र लिन हामी तयार भएका हौँ त ? बेलाबखत आइ पर्ने रोग, व्याधि तथा विकृतीको बेला औपचारिक शिक्षा सहज नहुँदा के कस्ता प्रविधि प्रयोग गरी पठन पाठन र मूल्यांकन प्रणाली अवलम्बन गर्ने हो ? अथवा सम्पूर्ण शैक्षिक सत्र स्थगत गर्ने हो भन्ने आशंका धेरैको मनमा उब्जिएको छ ।

यस लेखमा शिक्षामा वितृष्णा कसरी निम्तिदै छ र यसका कारणहरु के हुन सक्दछन् तथा अहिलेको परिस्थितिमा के गर्दा उपयुक्त होला भन्ने आफ्ना धारणा समावेश गर्न खोजिएको छ ।

शिक्षा प्राप्त गर्नु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । हामीले प्राप्त गरेको औपचारिक शिक्षा मात्र शिक्षा होइन । अनौपचारिक रूपमा प्राप्त गर्ने जस्तै अनुभवले तिखार्ने, हाम्रा इन्द्रियहरुले ग्रहण गरेर राम्रो नराम्रो, ठीक बेठीक छुट्याउने, दैनिक व्यवहारमा आइपर्ने समस्या समाधान गर्ने सिप र ज्ञान पनि शिक्षाका अभिन्न चरणहरु हुन् । तसर्थ शिक्षा भनेको मानिसको सर्वांगीण विकास भनेर भनिन्छ । यस्तो प्रक्रियामा मानिसले ज्ञान र सिपहरु साथै मूल्य मान्यता, बानी व्यवहार, इतिहास, संस्कृति, कला, साहित्य जस्ता आधुनिक र सभ्य समाजलाई चाहिने सम्पूर्ण पक्षको निरन्तर प्रयोग गरिरहेको हुन्छ जसलाई हामी शिक्षा भन्ने गर्दछौं ।

नेपालमा शिक्षा प्राप्त गर्ने परम्परा सदियौंदेखि सुरु भएको गुरुकुल अथवा ठूला बडाले घरमै पण्डित राखेर पढाउने संस्कृत शिक्षा थियो । औपचारिक शिक्षाको सुरुआत १९१० वि.सं. मा श्री ३ जंगबहादुर राणाले दरबार हाइस्कुल स्थापना गरी सुरुआत गरे । तर सम्पूर्ण देशभर शिक्षाको लहर फैलाउने काम २००७ सालको प्रजातन्त्रको उदयसँगै भयो । तर पनि हामीले अवलम्बन गरेको शिक्षा प्रणाली छिमेकी भारतको नक्कल थियो जुन शिक्षा बेलायती उपनिवेशले भारतमा अभ्यास गराएको थियो ।

२०२८ सालदेखि नयाँ शिक्षा योजनाको सुरुआत गरेको भए पनि पाठ्यक्रम निर्माणमा व्यवहारिक तथा व्यवसायिक विषयलाई प्राथमिकतामा नराख्दा शैक्षिक बेरोजगारी भयावह अवस्थामा देखा पर्‍यो । दसौं पटकसम्म शिक्षा नियमावली परिवर्तन गरेर पनि खासै उल्लेखनीय परिवर्तन नेपाली समाजले पाउन सकेन । सरकारी स्कुलहरुमा देखिएका अनेकन समस्याहरु जस्तै राजनीतिक हस्तक्षेप, स्रोत र साधनको अभाव, तालिम प्राप्त जनशक्तिको कमी, निर्माणात्मक तथा समालोचनात्मक शैक्षिक पद्धतिको प्रयोग विहिनता, गरिबी तथा भेद्भाव र बहिष्करण जस्ता थुप्रै पार लाग्न मुस्किल परिस्थितिबाट गुज्रिएका छन् ।

हाल आएर कक्षा १–८ सम्म आधारभूत, ९–१२ माध्यमिक शिक्षा र स्नातकदेखि विद्यावारिधिसम्म विश्वविद्यालय शिक्षाका रूपमा वर्गीकरण गरिएको छ । माध्यमिक शिक्षासम्मका महत्त्वपूर्ण अधिकार स्थानीय तहलाई छ भने विश्वविद्यालय स्तरका शैक्षिक संस्थाहरुलाई प्रदेश तथा संघले व्यवस्थित गर्ने प्रयत्न गरिरहेको छ । तर पनि बारम्बार संशोधन गरिने शिक्षा नीतिले मात्र शिक्षामा सुधार हुने होइन भन्ने हेक्का राख्नु उचित हुन्छ ।

हाम्रो वर्तमान शिक्षाले स्पष्ट रूपमा २ किसिमका जनशक्ति उत्पादन गरिरहेका छन् किनभने आधारभूतदेखि विश्वविद्यालय शिक्षासम्म सरकारी र संस्थागत गरी हाम्रा विद्यार्थीहरूलाई वर्गीकरण गरेको छ । मूलतः सरकारी लगानीमा स्थापित विद्यालय हुन् वा उच्च महाविद्यालयहरु सबैमा विद्यार्थीहरू तथा अभिभावकहरुको रुचि, विश्वास र आशामा क्रमशः क्षयीकरण देखा परेको यथार्थ हो । यस्तो हुनुमा यी संस्थामा गरिने प्रत्यक्ष वा अप्रत्यक्ष राजनैतिक हस्तक्षेप नै हो । निजी शैक्षिक संस्थाहरुमा व्यक्ति विशेषले आफ्नो लगानी गरेका हुँदा त्यसको प्रतिफल प्राप्तिका लागि स्वतन्त्र रूपमा काम गर्ने वातावरण प्राप्त हुने गर्दछ ।

अझ केही दशक यताको अपरिपक्व शैक्षिक नीति, राजनैतिक अन्योलता, समग्र शिक्षाको मूल्याङ्कन र बेरोजगार जनशक्ति उत्पादन गर्ने उच्च शिक्षा प्रणालीबाट धेरथोर निजी शैक्षिक संस्थाहरु प्रभावित नभएका भने होइनन् ।
वास्तवमा संसार भरिका शैक्षिक संस्थाहरुको मूलभूत उद्देश्य भनेको आजको आवश्यकता अनुसार शिक्षालाई परिवर्तन गरी बदलिएको समाज र यसका प्राथमिकतालाई परिपूर्ति गर्ने, ज्ञान सिप र प्रविधि क्षेत्रमा उच्चतम जनशक्ति उत्पादन गरी मानव समाजलाई समुन्नत बनाउने ध्येयले संचालित छन् र हुनु पर्दछ । त्यसैले प्रत्येक वर्ष वा सेमेस्टरका पाठ्यक्रम र अध्यापन मूल्यांकन विधि परिवर्तित भइरहेका हुन्छन् । जसले गर्दा के कस्तो जनशक्ति देश वा विदेशमा आवश्यक छ भन्ने पूर्वाअनुमान गरेर शिक्षालाई विशिष्टीकृत गरी अध्ययन अध्यापन गरिन्छ । त्यसरी शिक्षा प्राप्त गरेको जनशक्ति बेरोजगार बन्ने कुरा नै भएन र आर्थिक उन्नति र प्रगति सहज प्राप्त गर्दछन् ।

तर विडम्बना हामीले हाम्रो शिक्षालाई प्रयोग गर्ने थलो मात्र हैन, शिक्षा र यससँग सम्बन्धित व्यक्ति र संस्थालाई समेत कहिल्यै नउठ्ने गरी थला पार्ने काममा तल्लिन भइरह्यौ । फलतः उल्लेखित व्यक्ति र संस्थाप्रतिको आम विश्वास र धारणा नकारात्मक हुँदै जानु अनौठो लाग्दैन । एकाध शैक्षिक संस्थाहरु तथा त्यसका प्राचार्य र प्राध्यापकहरु उच्च कोटिका नभएका पनि होइनन् । कैयौँ स्वदेशबाट उच्च शिक्षा प्राप्त नागरिक विदेशी विश्वविद्यालयका नीति निर्माता तथा उत्कृष्ठ अध्यापन र अनुसन्धानमा संलग्न छन् भन्ने कुरा हाम्रो जानकारीमा आएकै हो ।

तर विभिन्न बाध्यताले विदेशिने उत्कृष्ट जनशक्तिलाई स्वदेशमा राख्ने वातावरणको निर्माण कहिले र कसरी हुने अनिश्चित नै छ ।

माथि कोट्याइएका प्रसंगका आधारमा शिक्षालाई आकर्षक, समयानुकूल, प्रविधियुक्त रोजगार दिने र राष्ट्र निर्माणका खातिर भरपर्दा उच्च जनशक्ति उत्पादन गर्ने बनाउनु आजको आवश्यकता हो । जसका लागि केही विषयको चर्चा गर्नु सान्दर्भिक ठान्दछु । सर्वप्रथम शिक्षासँगै आउने पक्ष भनेको रोजगार हो । शिक्षा प्राप्ति पछिको मानवीय चाहना रोजगार प्राप्त गर्नु हो किनभने आफूले प्राप्त गरेका विशिष्ठ ज्ञान र सिपको प्रयोग गर्ने थलो रोजगारी हो । तर हाम्रा शिक्षित बेरोजगार युवाहरु दिनहुँ हजारौंको संख्यामा खाडी मुलुक र अन्य देशमा श्रम बेच्न बाध्य छन् । जसका कारण साधारण शिक्षामा युवाहरुको अरूचि प्रकट हुने गरेको पाइन्छ ।

दोस्रो कुरा शिक्षा र पाठ्यक्रमसँग अन्तरनिहित छ । हाम्रा शिक्षाका आधारहरूको अवलोकन गर्दा प्राविधिक विषयहरु जस्तै स्वस्थ, कृषि, वन तथा इन्जिनियरिङ मुख्य रोजाइका विषयहरु हुन् र ती विषयमा सीमित सङ्ख्यामा प्रतिस्पर्धा गरी भर्ना तथा शिक्षण गरिने हुँदा तुलनात्मक रूपमा सक्षम, योग्य र अत्यावश्यक जनशक्ति उत्पादन भएका छन् ।

यी बाहेक साधारण विषयहरु जस्तै मानविकी, शिक्षा, व्यवस्थापन र कानुनमा अध्ययन गरी उच्च शिक्षाको प्रमाण पत्र लिने विद्यार्थीहरूको ठूलो भीड वर्षेनी लाग्ने गरेको छ । यिनै विषयबाट उच्च तह पार गरेका अधिकांश विद्यार्थीहरू शैक्षिक बेरोजगार छन् । शिक्षित बेरोजगार बढ्दै गएपछि शिक्षाप्रतिको आकर्षण स्वतः कम हुँदै जान्छ ।

तेस्रो कुरा शिक्षा र सम्मान देखापरेको छ । शिक्षित व्यक्ति भन्दा अध्ययन विनाको राजनीति गर्ने, धन कमाएका, प्रतिष्ठित व्यापारी घरानाहरु तथा सुविधा सम्पन्नताले पूर्ण भएका नबधनाढ्यहरुलाई समाजले उच्च सम्मान दिने गरेको छ । शिक्षित व्यक्ति पनि राजनीतिक पार्टी वा पार्टी निकटका व्यक्तिको पुच्छर नसमाती कुनै पनि पद र व्यक्तित्व विकास गर्न नसक्ने परस्थिति जन्मिएको छ । कार्यालय सहायकदेखि सचिव सम्म, शिक्षकदेखि प्राध्यापकसम्म राजनीतिक भागवन्डा र दाउपेचको शिकार भएको अनगिन्ती उदाहरण छन् । जसले गर्दा शिक्षा प्राप्त गर्ने श्रम, समय र झन्झटभन्दा राजनीति वा अन्य पेसा व्यवसाय गरेर समाजमा प्रतिष्ठित हुने बाटोमा लाग्नु शिक्षा प्रतिको उदासिनता हो ।

चौथो पक्ष भनेको शिक्षालाई आर्थिक उपार्जन र गुणस्तरीय जीवन यापन गर्ने साधन मान्नु हो । हाामीले भन्ने गरेका ‘विद्या धनम् सर्वधनम् प्रधानम्’ पूर्वीय परम्परा थोत्रो भइसकेको छ । शिक्षित व्यक्ति एकाध बाहेक आफ्नो जीवन निर्वाह गर्ने भन्दा माथि उठ्न सकेको देखिँदैन । तर अन्य पेशा, व्यवसाय वा राजनीति गरेरै आर्थिक हैसियत माथि पु¥याउनेहरूको जमात निक्कै ठूलो छ । यस्तो सामाजिक मनोविज्ञानले गर्दा शिक्षाप्रति वितृष्णा आउनु स्वभाविक नै हो ।

पाँचौं महत्त्वपूर्ण पक्षमा शिक्षा र संस्कारको अन्तरसम्बन्ध हो । शिक्षा प्राप्त गर्नु भनेको ज्ञानको भण्डार बढाउने मात्र होइन, व्यवहारमा शिक्षाको प्रयोग पनि हो । हाम्रा अधिकांश शिक्षित युवाहरु आफ्ना संस्कार, सभ्यता र संस्कृतिको व्यहारिक प्रयोग गर्नमा ज्यादे कमजोर देखिएका छन् ।

नैतिक शिक्षाको खडेरी तलदेखि माथिसम्म देख्न पाइन्छ । स्वधर्म र स्वकर्म गर्न अरूचि राख्ने तर विदेश तिर भासिएर जे पनि गर्न तयार हुने शिक्षित जमातले शिक्षाको लोकप्रियतालाई घुमिल बनाएको छ ।

छैटौं अनि सर्वाधिक आवश्यक पक्ष भनेको शिक्षा र यसले दिने स्वतन्त्रता हो । शिक्षित व्यक्ति स्वतन्त्र हुन्छ भन्नुको तात्पर्य स्वस्थ दिमाग र स्वस्थ शरीर निर्माण गरी ‘सत्यम् शिवम् सुन्दरम्’ को भावना विकास गर्न र घमण्ड विहीन, निःस्वार्थ परोपकारी बन्न हो । अझ सत्यलाई सत्य र झूटोलाई झूटो भन्नु शिक्षित व्यक्तिको गहना हो । तर हामीले देखेका भोगेका अधिकांश विद्वान्जनहरु स्वार्थले प्रेरित भएर सत्यलाई सजिलै झूट र भ्रममा रुपान्तरित गर्ने प्रकृति देखिनु शिक्षा माथिको अन्याय र व्यक्ति, विशेषको कर्तव्य च्यूत अभिमानको प्रकटीकरण हो । स्वविवेक प्रयोग नगरी अन्य कसैको निर्देशन र आशीर्वाद ग्रहण गरेर मात्र निर्णय गर्नु शिक्षित व्यक्तिको बहुलठ्ठीपन भन्दा बाहेक केही होइन । त्यसैले स्वतन्त्रता विनाको शिक्षा समाजमा गरुंगो भएको छ ।

यहाँ उठाउन खोजिएका धेरै पक्ष मध्येमा अन्तिम विषय भनेको शिक्षा र सामाजिक चेतना हो । हामीले समाजमा शिक्षित तथा अशिक्षित सबै किसिमका व्यक्ति विशेषसँग अन्तक्र्रिया गरिरहेका हुन्छौं । कतिपय परिस्थितिमा हामीले भन्ने गरेका अशिक्षित व्यक्तिहरु पनि शिक्षित व्यक्ति भन्दा धेरै विषयमा जानकार पनि हुन्छन् । तर पनि अशिक्षित मानिस एकोहोरो, तर्क गर्न नसक्ने, आफ्ना धारणा निर्माण गर्न नसक्ने हुँदा ऊ शिक्षित व्यक्ति वा समुदायसँग निर्भर हुन्छ ।

त्यसैले समाज परिवर्तनको अगुवाई शिक्षित व्यक्तिले लिनुपर्ने आजको प्रमुख आवश्कयता हो तापनि निहित स्वार्थ र व्यक्तिगत फाइदा बेफाइदाबाट प्रेरित हुँदा समाजले बारम्बार प्रश्न चिन्ह लगाउँदै आएको छ । तसर्थ सकारात्मक सामाजिक चेतको विकास शिक्षित समुदायबाट हुन नसक्नु शिक्षा प्रति गैर जिम्मेवार हुनु हो ।

माथि उल्लेखित विषय वा प्रसंगहरु कुनै पनि शिक्षित व्यक्ति वा समुदायलाई जानकारी नभएका होइनन् । हामीले आफ्नो देशको मौलिक र विशिष्ट पहिचान बोक्ने खालको पाठ्यक्रम र शिक्षण प्रणाली मात्रै प्रयोगमा ल्याउनु पर्छ भन्न पनि मिल्दैन । संसारका उच्च र आदर्श स्थापित गरेका शैक्षिक केन्द्रले गरेका राम्रा अभ्यासहरूलाई हाम्रो देश अनुकूल उच्च जनशक्ति उत्पादन गर्ने खालको शिक्षा प्रणालीको विकास गर्नु आजको आवश्यकता हो ।

उच्च शिक्षामा सबैको पहुँच भन्दा विशिष्ट क्षमता भएका विद्यार्थीहरूलाई मात्र संलग्न गराइ सामान्य विद्यार्थीहरूका लागि तुरुन्त रोजगार मिल्ने प्राविधिक तथा व्यवसायिक शिक्षातर्फ केन्द्रित गर्नु सान्दर्भिक हुने छ । माध्यमिक तहसम्म निशुल्क र अनिवार्य शिक्षा प्राप्त गरेपछि व्यावसायिक तालिम, प्रविधि मैत्री छोटा र लामा समयका प्राविधिक जनशक्ति उत्पादन तर्फ हाम्रो शिक्षा प्रणाली उन्मुख हुनु जरुरी छ । अहिलेको विषम परिस्थितिमा आवश्यकता अनुसार सकेसम्म प्रविधिको प्रयोग गरी शैक्षिक सत्रको निरन्तरता दिने, शिक्षकले गर्दै आएको मूल्याङ्कन पद्धतिलाई स्वीकृत गर्ने, पाठ्यवस्तुलाई संकुचन गरी एक वर्षको शैक्षिक सत्रलाई चार÷छ महिनामा र एक सेमेस्टरलाई दुई महिनामा सक्नु महामारीमा ज्यान जोगाए जस्तो हुने छ । यसका सामान्य संकेत देखा परेका छन् तर परिवर्तन यथासम्भव छिटो हुनु राष्ट्रका लागि हितकर हुने छ ।

तपाईको प्रतिक्रिया