पहिराका कारण लमजुङमा ५ घर उच्च जोखिममा

समाधान संवाददाता २०७७ भदौ २५ गते १२:३१

लमजुङ 

डुम्रे–बेसीशहर सडकखण्ड नजिकै लमजुङ बेँसीशहर नगरपालिका–२ बोहोरा बेँसी गाउँका पाँच घर पहिराको उच्च जोखिममा छन् ।

घर तल गत साउन महिनाको पहिलो सातादेखि जान थालेको पहिरो गएको थियो । फेरि बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो जान थालेपछि ती घर उच्च जोखिममा परेको वडाध्यक्ष गणेश कँडेलले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार रामजी बोहोरा, सुरेन्द्र बोहोरा, बाबुराम बोहोरा, बिबी बोहोरा र बुद्धि बोहोराका घर उच्च जोखिममा छन् । घर तल पहिरो गएको र बेलाबेला वर्षा हुँदासमेत अलिअलि पहिरो जाने गरेको वडाध्यक्ष कँडेलको भनाइ छ ।

घर वरिपरि एकएक मिटरको जमिन चर्किएको र ठूलो वर्षासँगै घर नजिकै गइरहेको पहिराले घर नै तान्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ । बोहोरा बेँसी गाउँ नजिकैबाट करिब २०० मिटर लामो पहिरो गत साउनदेखि नै जान थालेको छ ।

Advertisement

पहिराले पटकपटक डुम्रे–बेँसीशहर सडकसमेत अवरुद्ध बनाउँदै आएको छ । सडकमाथि पहिरो आएको नजिकै रहेका तीन घरलाई गत महिना नै स्थानान्तरण गरिएको छ ।

नगरपालिकाले तत्कालका लागि प्रत्येक परिवारलाई रु ३० हजारका दरले आर्थिक सहयोगसमेत गरिसकेको वडाध्यक्ष कँडेलले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया