पोखरा रोयल र चन्द्रागिरीबीच भगिनी सम्बन्ध

समाधान संवाददाता २०७७ भदौ ३० गते ८:१५

समाधान संवाददाता
पोखरा

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र काठमाडौको चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको छ ।

Advertisement

पोखरा रोयल साकोसका अध्यक्ष तुलसीप्रसाद गुरुङ र चन्द्रागिरी साकोसका अध्यक्ष शिव शंकर मानन्धरले जुम बैठक मार्फत् दुवै संस्थाको भगिनी सम्बन्ध स्थापित गर्ने घोषणा गरेका हुन् ।

जुम प्रविधि मार्फत दुवै संस्थाका सञ्चालक समित, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनका कर्मचारी गरी ३५ जनाको सहभागिता रहेको अनलाइन परिचयात्मक कार्यक्रमबीच उक्त घोषणा गरिएको हो । कार्यक्रममा पोखरा रोयल साकोस र चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृतद्वय भीमबहादुर गुरुङ र कृष्णकुमार श्रेष्ठद्वारा आ आफ्नो संस्थाको वर्तमान अवस्था र कोभिड १९ को महामारीको अवधिमा संस्थाले सदस्यलाई प्रदान गरेको सेवा तथा अवलम्बन गरिएका असल अभ्यासका बारेमा प्रकाश पारिएको थियो ।

Advertisement

कार्यक्रममा पोखरा रोयल साकोसका मुख्य प्रवन्धक मीलन ढकालले भगिनी सम्वन्ध कायम गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको मुख्य उद्देश्य अन्तर सहकारी सम्बन्ध र सहकार्यको संस्कार स्थापित गर्ने, कार्य सञ्चालनमा व्यवसायीकता तथा नीति, विधि र प्रविधिको अभ्यासमा एकरुपता कायम गर्ने, गुणस्तरीय सेवालाई प्राथमिकता प्रदान गर्दै ब्रान्डिङमा समेत एकरुपता कायम गर्ने र असल अभ्यास तथा अनुभवहरुको नियमित आदान प्रदान गर्ने छन् ।

भगिनी सम्बन्धलाई व्यवस्थित बनाउनको लागि दुवै संस्थाको प्रतिनिधि रहने गरी पिसिआरटी गठन गरिएको छ ।

दुवै सहकारीहरु समुदायमा आधारित रहेर कार्य गरिरहेका छन् । पोखरा रोयल साकोस २०५९ सालमा स्थानीय २८ जना सदस्यहरुबाट स्थापित भई कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्ला कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।

संस्थामा ७ हजार ६ सय सेयर सदस्य र ४२ जना कर्मचारी छन् । त्यसरी नै संस्थाको चुक्ता सेयर पुँजी १७ करोड ४१ लाख, जगेडा कोष १० करोड ४४ लाख, कुल वासलात १ अर्ब ८६ करोड पुगेको छ । संस्थाले एटिएम सेवा, रोयल स्मार्ट बैकिङ र एसएमएस बैकिङ मार्फत् सेवा प्रदान गरि रहेको छ भने हाल संस्था प्रोबेसेन ब्रान्डमा आवद्ध भएको छ ।

साथैै चन्द्रागिरी साकोस २०५८ सालमा स्थानीय २५ जना सदस्यबाट स्थापना भएको समुदायमा आधारित सहकारी संस्था हो । संस्थाले हाल काठमाडौ र ललितपुर जिल्लालाई कार्यक्षेत्र बनाएको छ । संस्थामा हाल ३४ जना कर्मचारी र १० हजार ८ सय ७५ सेयर सदस्य छन् । संस्थाको हालको चुक्ता सेयर पुँजी १० करोड ६४ लाख, जगेडा कोष ६ करोड ८३ लाख, कुल वासलात २ अर्ब १० करोड पुगेको छ ।

तपाईको प्रतिक्रिया