ठिनी फालोमा कोरोना अन्त्यको कामना

समाधान संवाददाता २०७७ असोज १ गते १९:३५

एसके थकाली
जोमसोम

मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनी गाउँमा स्थानीयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ अन्त्यको कामना गर्दै थकालीहरुको महान सांस्कृतिक पर्व फालो विभिन्न कार्यक्रमका साथ अनौपचारिक रुपमा मनाएका छन् ।

स्थानीय थकाली कला संस्कृतिक महत्वले भरिएको फालो पर्वमा चाँडै नै महामारीको रुपमा उत्पन्न रोग कोरोना अन्त्यको कामना गर्दै स्थानीयबासीले फालो पर्व हर्षउल्लासका साथ अनौपाचारिक रुपमा मनाएको ठिनी गाउँका युवा निरज थकालीले जानकारी दिए ।

Advertisement

मंगलबारदेखि सुरु भएको फालो पर्व बुधबारसम्म मनाइएको छ ।ठिनी गाउँ थकालीहरुले यसपटक कोरोना माहामारीकाबीच गाउँबासीकै मात्र सहभागितामा परम्परा धान्न फालो पर्व मनाएको जनाएका छन् ।

यसअघिको वर्षहरुमा ठिनी गाउँको थकाली फालो पर्व धुमधामले मनाउने गरिन्थ्यो । उक्त फालो पर्व अवलोकन गर्न तल्लो मुस्ताङ्गी ठिनी गाउँमा ओईरिन्थे । पछिल्लो समय लगातार ३ दिनसम्म नियमित विविध कार्यक्रम गरी मनाइँदै आएको यसप्रकारको पर्व गतवर्ष देखि छोट्याउँदै २ दिन मात्र कायम गरिएको थियो ।

Advertisement

बर्खायाममा खेतीपातीको कामकाज सकेर फुर्सदिलो महिनामा थकाली फालो मनाइने चलन रहेको ठिनीका स्थानीय नारायणप्रसाद थकालीले जानकारी दिए । थकाली पात्रोको आठौं महिनालाई फालो महिना भनिने उनको भनाइ छ । फालो पर्व भदौ महिनामा पर्ने भएकाले यसलाई ठिनी भदौ मेला भन्ने पनि गरिन्छ ।

परापूर्वकालमा तिब्बतियन मुलुकका तीनआँखे राजा थर्कोचेनका दाजुभाइ चारै दिशातर्फ फैलिने क्रममा राजा थर्कोचेन ठिनी गाउँमा प्रवेश गरेको स्थानीय कुलबहादुर थकालीले सुनाए । उनका अनुसार राजा थर्कोचेन मुस्ताङ आउने क्रममा याकमा खाने, बस्नेलगायत बन्दोबस्तीका सामान लिएर ठिनी गाउँमा प्रवेश गरेको उनको भनाइ छ ।

त्यसकालमा ठिनी गाउँमा आएका त्यससमयका राजा थर्कोचेनले भारी बोकाएर ल्याएको याक ठिनी गाउँमै थचक्कै रोकियो र त्यसपछि लामो समय राजा ठिनीमै बसेको भन्ने धार्मिक किंवदन्दी छ । त्यसपछि उक्त राजाको याक कुछ्प तेरंगा गुम्बातर्फ जानेक्रममा याकले कुछ्प नजिक श्राम लिएकाले त्यहाँ थर्कोचेन राजाका इतिहास अझै जीवित छन् ।

ऐतिहासिक ठिनीका राजाले याक लिई ठिनी गाउँ आएको सम्झना गर्ने क्रममा ठिनीका थकाली समुदायले फालो पर्व मनाउने गरेको ठिनी गाउँका अंगज बुढापाका थकालीको भनाइ छ ।

फालो पर्वमा सदियौं पुरानो ऐतिहासिक विशेषता झल्कने सांस्कृतिक गतिविधि देखाउने चलन छ । फालो पर्वमा ठिनीका उमेर नाघेका थकाली समुदायका महिला र पुरुषले आफ्नो सांस्कृतिक भेषभूषामा विवाह ब्रतबन्धमा गाइने गीत गाउँछन् । भदौमा फालो पर्व मनाए पछि जाडो मौसमको सुरु हुने ठिनीका थकालीहरुको ठम्याई छ । ठिनीका थकालीले वर्षको आखल्हा र त्युङ्ल्हा पर्व पनि विशेष रूपमा मनाउने गर्छन् । ठिनीका थकालीको गाउँ माथि कुलदेवता अवस्थित छ । यसपटक पनि उनीहरु सामूहिक रुपमा घोडा चढेर गाउँ माथि रहेको आफ्नो कुलदेवताको पूजापाठ गर्न पुगे । त्यहाँ महिलालाई पूजा गर्न बन्देज छ । फालो पर्वअघि स्थानीयले कुलदेवताको पूजाआजा गर्दै पितृलाई सम्झने गर्छन् ।

फालो पर्वमा तीनआँखे राजा थर्कोचेनका युद्ध कौशल तथा याक देवताको नाच देखाउने चलन छ । फालोमा व्यंग्यात्मक याकनृत्य, जोगी नृत्य र विभिन्न प्रहसन देखाइन्छ । राजा थर्कोचेनको उपस्थितिमा उनका सेनाले त्यो समय धनुषबाण, खुकुरी र ढाल लिएर गरिने मनोरञ्जनात्मक सांस्कृतिक नाटक अवलोकनका लागि स्थानीयको उल्लेख्य उपस्थिति थियो । तर कोरोना कहरका कारण गाउँभित्रमा मात्रै सीमित जनशक्तिले फालो देखाईने सांस्कृतिक गतिविधि देखाएका छन् ।

तपाईको प्रतिक्रिया