महानगरका लेखा प्रमुख पौडेलको सरुवा नियमविपरीत भएको जिकीर

समाधान संवाददाता २०७७ असोज ५ गते १०:१९

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिकाका लेखा प्रमुख जयराम पाैडेलकाे रुवाप्रति नियम विपरीत रहेको भन्दै नेपाल निजामती कर्मचारी युनियन संघले आपत्ति जनाएको छ ।

संघका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले विज्ञप्ति जारी गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३० गतेको मितिमा पोखरा महानगरपालिकाका लेखा अधिकृत (नवौं तह) पाैडेललाई समायोजन भएकै कार्यालयबाट तलबभत्ता खानेगरी मन्त्रालयमा खटाइएको विषय नियम विपरीत भएको जनाएका हुन् ।

Advertisement

‘पौडेललाई काजमा खटाएको विषय समायोजन ऐन, निजामती सेवा नियमावली तथा समायोजनको मर्म विपरीत भएकाले यस विषयमा नेपाल निजामती कर्मचारी युनियन संघ केन्द्रीय कार्यसमितिको विषेश ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पोखरा महानगरको आर्थिक सुशासनमा अहोरात्र खटिने, संस्थागत भ्रस्टाचारलाई न्यून गर्न र आर्थिक हिनामिना रोक्ने लेखा प्रमुखलाई आस्थाका आधारमा गरिएको कार्य गैरकानुनी भएकाले यथाशीघ्र समायोजनको मर्म अनुरुप गराउन र सुधार नगरेमा संघ कडा कदम चाल्न वाध्य हुने विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

पोखरा महानगरपालिकाका भित्र भएका राजश्व हिनामिनाको विषयमा विवाद आएपछि लेखा प्रमुख पौडेलको नाम समेत समावेश गरी कारवाही गर्न महानगर प्रमुख मानबहादुर जिसीले प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई निर्देशन गरेपछि विवाद सतहमा आएको हो । राजश्व हिनामिना गर्ने कर्मचारीलाई कारवाहीको सिफारिस गरेको, गुम्न लागेको केही राजश्व आफ्नै पहलमा उठाएको दाबी लेखा प्रमुख पौडेलको छ ।

पौडेल कर्मचारी समायोजनका क्रममा स्थानीय तह रोजेर पोखरा महानगर पालिकामा आएका हुन् । अधिकृतस्तर नवौं तहको लेखा अधिकृत रहने स्थानीय तह गण्डकीमा पोखरा महानगरमात्रै हो । उपमहानगर नभएको यो प्रदेशमा नगरपालिका र गाउँपालिका मात्रै छन् ।

तपाईको प्रतिक्रिया