‘अब ग्रामीण पर्यटन, तर सहरको विकल्पमा होइन’

समाधान संवाददाता २०७७ असोज १२ गते ९:०५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सरकारले ग्रामीण गरिबी निवारणसमेत गर्ने भन्दै गाउँगाउँमा होमस्टेको कार्यक्रम ल्याउँदा पोखराका पर्यटन व्यवसायीले नाक खुम्च्याएका थिए ।

मुखै फोरेर नभने पनि पोखरेली पर्यटन व्यवसायीले प्रदेश सरकारबाट होमस्टे प्रवद्र्धन गर्न चलाइएका अभियानको कुरा काटिरहे । तर संयोग कस्तो परेको छ भने राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) यस वर्षको विश्व पर्यटन दिवसको नाराको लक्ष्य ग्रामीण पर्यटन प्रवद्र्धन छ । नारा छ, ‘पर्यटन र ग्रामीण विकास’ ।

Advertisement

अर्काे संयोग के भने अहिले दुनियाँ कोरोना भाइरस रोग कोभिड १९ महामारीले भयाभव छ । सबैभन्दा धेरै चपेटामा छ पर्यटन क्षेत्र । गण्डकी भ्रमण वर्ष कार्यक्रमका संयोजकसमेत रहेका संरक्षण÷पर्यटनविद् जुद्ध गुरुङ अमेरिकी प्रोफेसरको भनाइ उद्धृत गर्दै भन्छन्, ‘कोरोना भाइरसको खोप आएपछि सुरु गरौंला भनेर बस्ने हो भने पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन १० वर्ष लाग्न सक्छ ।’

कोरोनाको चपेटामा पिल्सिसकेका युरोपेलीदेखि पूर्वी एसियासम्मका मुलुकमा पर्यटन क्षेत्र विस्तार खुला भइसकेको छ । तर नेपालमा के गर्ने ? अन्योल छ । गुरुङ भन्छन्, ‘युएडब्लटिओको नारा र गण्डकी प्रदेशको होमस्टे अभियानको उद्देश्य मिलेको छ, अब होमस्टे नै ग्रामीण पर्यटन प्रवद्र्धनको आधार हुन्छ ।’

Advertisement

तर, ग्रामीण पर्यटन भनेको सहरी पर्यटनको विकल्प होइन भन्छन् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । पर्यटन दिवसका अवसरमा आइतबार प्रदेशको पर्यटन मन्त्रालयले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा उनले भने, ‘गाउँको समृद्धि गर्ने भनेको कृषि र पर्यटनले नै हो, त्यो हामी औद्योगिकरण गर्न सक्दैनौं ।’

उनले गण्डकीमा ग्रामीण पर्यटन प्रवद्र्धन हुँदा आउने पर्यटक आउँदा र जाँदा पनि पोखरामै बस्ने बताए । मुलुककै एकमात्र सिकार आरक्ष ढोरपाटनको ब्रान्डिङ गरिनुपर्ने विचार उनले व्यक्त गरे । ‘यसै वर्षदेखि फेवाताल संरक्षणको काम हुने विश्वास दिलाउँछु,’ उनले भने, ‘फेवातालको संरक्षण भयो भने यहाँको पर्यटनमा त्यो माइलस्टोन (कोसेढुंगा) नै हुनेछ ।’

पर्यटन मन्त्री विकास लम्सालले पर्यटनको क्षेत्र पुनरुत्थान गर्न प्रदेश सरकार लागिपर्ने बताए । मन्त्रालयका सचिव महेश्वर ढकालले कोरोनाका कारण सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रलाई जगाउन ठूलै मेहनत आवश्यक रहेको बताए ।

पर्यटन बोर्डको पोखरा कार्यालय प्रमुख काशीराज भण्डारी अब पर्यटनको आयाम फरक हुने बताउँछन् । भन्छन्, ‘अब माइस टुरिजम केही समय हुँदैन होला, टुरिजम अब अर्बान (सहर) बाट रुरल एरिया (ग्रामीण क्षेत्र) तिर जाने हुन्छ । नेचर (प्रकृति)तिर जाने हुन्छ ।’ उनले पर्यटन प्रवद्र्धनका लागि ब्रान्डिङमा जोड दिए । ‘तर लोगो निकालेरमात्रै हुँदैन, सबैले अपनत्व ग्रहण गर्नुपर्छ,’ उनले भने ।

पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले बिमालेखका लागि तिरेको रकम घटाएपछिको पैसामा कर लागेजस्तै भ्रमण खर्चमा पनि त्यस्तै सुविधा दिनुपर्ने माग गरे । ‘त्यस्तो व्यवस्था भइदियो भने घुमफिर संस्कृति बढ्छ,’ उनले भने ।

सापकोटाले अब योग, ध्यान, स्पा, वेलनेस लगायत पर्यटन बढाउनुपर्ने विचार राखे । ‘ग्रामीण पर्यटन गरिबी निवारणका लागि असाध्य उपयुक्त छ,’ उनले भने, ‘नेपालीहरुको प्रतिव्यक्ति आयभन्दा खुम्बुक्षेत्रका बासिन्दाको प्रतिव्यक्ति आय बढी छ, किनभने त्यो पर्यटनले गर्दा नै हो ।’ उनले ग्रामीण पर्यटनका लागि क्यासलेस पेमेन्ट र वायरलेस इन्टरनेट जस्ता पूर्वाधार विकास गर्नुपर्ने पनि सुझाए ।

ग्रामीण क्षेत्रमा प्रविधि विस्तारका अभियन्ता महावीर पुनले पर्यटनमा अनुसन्धान र नवप्रवर्तन (इनोभेसन) को खाँचो औंल्याए । उनले भने, ‘अब जिरो कार्बन इमिसन पर्यटन सुरु गर्नुपर्छ ।’ त्यसो गर्दा ब्रान्डिङ पनि सजिलो हुने उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले पहिलो चरणमा आन्तरिक पर्यटकलाई नै लक्षित गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले ल्याएजस्तै पेडहोलिडेको कार्यक्रम संघीय सरकारले पनि ल्याउनुपर्ने माग गरे ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)की अध्यक्ष जमुना पराजुलीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड पालना गरी पर्यटन व्यवसाय चलाउनुपर्ने बताइन् । पर्यटनका जानकार गुरुङका अनुसार अब पर्यटनलाई उकास्न तात्कालीक, मध्यकालीक र दीर्घकालीन कार्यक्रम बनाएर अघि बढ्नुपर्छ ।

तपाईको प्रतिक्रिया