क्रिकेट मैदान र आशा

समाधान संवाददाता २०७७ असोज १४ गते ११:४१

सम्पादकीय

गण्डकी प्रदेश सरकारका केही महत्वाकांक्षी योजनामध्ये हो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला । पोखरा ३३ को पशुपतिघाटको १ सय २३ रोपनीमा क्रिकेट रंगशाला निर्माण गर्न विस्तृत परियोजना बनिसकेको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जिम्मेवारी अनुसार बिआरएस इन्जिनियरिङले ४ महिनामा डिपिआर तयार गरेर मन्त्रालयलाई बुझाएको छ ।

Advertisement

संघ सरकारले प्रदेशलाई क्रिकेट मैदानका लागि १७४ रोपनीको भोगाधिकार दिइसकेको छ ।

फुटबल स्टेडियम, विशिष्टीकृत अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायत अरु महत्वाकांक्षी योजनामा भने संघ सरकारले सहयोग गरेको छैन । तसर्थ प्रदेश सरकारका ती काम अघि बढ्न सकेका छैनन् । क्रिकेटमा भने काम अघि बढ्ने ढोका संघले खोलिदिएको छ ।

Advertisement

अब बल प्रदेश सरकारकै कोर्टमा छ । क्रिकेट मैदानका लागि १ अर्ब ६३ करोड ६३ लाख रुपैयाँ लाग्ने देखिएको छ । यतिका बजेट प्रदेश सरकारले एकैवर्ष एकैपटक हाल्न नसक्न सक्छ । बहुवर्षीय आयोजना बनाएर लैजाँदा यो काम गर्न कठिन छैन ।

प्राकृतिक हिसाबले अत्यन्तै सुरम्य पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बन्नु भनेको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्न सकिने हुनु हो ।

त्यसले अन्तर्राष्ट्रिय चर्चित खेलाडीहरुलाई पनि पोखरा निम्त्याउन सकिने हुन्छ । क्रिकेट मैदान पोखरामा बन्नु भनेको यो खेलको विकासका लागि ठूलो फड्को मार्नुमात्रै होइन पर्यटनका लागि पनि कोसेढुंगा निर्माण गर्नु हो ।

पक्कै पनि अन्तर्राष्ट्रिय स्तरका खेलहरु केवल खेलमा सीमित हुँदैनन्, तिनका दर्शकहरुको ओइरो पनि सँगसँगै लाग्छ । जस्तो दुबईमा अन्तर्राष्ट्रिय स्तरका मैदानहरु बनाइएको छ, त्यही कारण आज लाखौं पर्यटक दुबई ओइरहन्छन् ।

आज क्रिकेटको अवस्था दुबई र नेपालको उस्तै हो, अझ नेपालले दुबईका भन्दा बेसी राम्रो गरिरहेको छ । तर क्रिकेटलाई क्यासचाहिँ दुबई ले ग¥यो ।

जब कि त्यहाँको मौसम त्यस्तो अनुकूल होइन, जति नेपालको हो । झन् त्यसमाथि पोखराको त भन्नै परेन । जहाँ पानी परे पनि मैदान हिलाम्य हुने चान्सै रहन्न । टिसर्ट लगाएर हिमाल हेर्दै क्रिकेटको दर्शक बन्न पाउने अवसर पोखरामा मात्रै हुन्छ ।

नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट संस्था आइसिसीले मान्यता दिएको क्रिकेट मैदान कीर्तिपुर काठमाडौंको हो, तर त्यहाँ पनि व्यवस्थित दर्शकस्थल वा प्यारापिट लगायत थुप्रै पूर्वाधार छैन ।

नेपाल सरकारले क्रिकेट मैदान बनाउने भनेर काठमाडौं मुलपानीमा जमिन लिएको २ दशक हुन लागिसक्यो तर त्यहाँ काम हुन सकेन ।

धुर्मुस र सुन्तली (सीताराम कट्टेट र कुञ्जना घिमिरे)ले क्रिकेट मैदान निर्माणको अभियान चलाएर अहिले चितवनमा निर्माण हुँदैछ । त्यसबाहेक अब क्रिकेटको आशा पोखरामै देखियो ।

योजना बन्नु, डिपिआर बन्नु पनि अर्काे कुरा तर निर्माण अघि बढ्नु झन् अर्काे कुरा हो । अहिले जे उपलब्धि देखिएको छ, त्यो स्वागतयोग्य छ ।

क्रिकेटका गतिविधि हुँदा खेलको स्तरोन्नति त पक्कै हुन्छ, हुन्छ । सँगसँगै पर्यटन उकास्न सघाउ पुग्छ पोखराको अर्थतन्त्रमा धेरै कोणबाट त्यसले योगदान गर्ने अपेक्षा गर्न सकिन्छ ।

यस्तो असल योजना छिटो सुरु भएर छिटै पूरा भइदियो भने धन्य मान्नुपर्छ । मुलपानी काठमाडौंको जस्तो अलपत्र चाहिँ नपरोस् ।

तपाईको प्रतिक्रिया