आवाजको रक्तदानमा १८ युनिट रगत संकलन

समाधान संवाददाता २०७७ असोज १५ गते १९:४४

समाधान संवाददाता
पोखरा, १५ असोज

पोखरेली युवाहरूको संस्था आवाजले आयोजना गरेको रक्तदानमा १८ युनिट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका १४ को वडा कार्यालय प्रांगणमा संस्थाले रक्तदान कार्यक्रम गरेको हो ।

Advertisement

पोखरा १४ का अध्यक्ष प्रेमबहादुर कार्कीले २५ औं पटक रक्तदान गरिसकेका खड्कबहादुर विश्वकर्मालाई ब्लड ब्याग हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष कार्कीले रगत अभावकै कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने प्रयास स्वरुप आंशिक लकडाउनका बीचमा रक्तदान गरेकोमा संस्थालाई धन्यवाद दिए ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार प्रमुख अर्जुन ज्ञवालीले रगतदानभन्दा ठुलो अरु दान हुन नसक्ने भन्दै रचनात्मक कार्यहरु सबै ठाउँमा गरिनु आवश्यक रहेको बताए ।

स्वस्थ व्यक्तिले ३/३ महिनाको फरकमा रक्तदान गर्दा राम्रो हुने र त्यसले ३ देखि ४ जनाको समेत ज्यान बच्ने भएकाले रक्तदान गर्न उनले आग्रह गरे ।

कार्यक्रममा स्थानीय उत्थानशिल दलित महिला सञ्जालले सहकार्य गरेको थियो । संस्थाका अध्यक्ष प्रकाश सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य अर्जुन परियारले गरेका थिए ।

तपाईको प्रतिक्रिया