मुम्बईकाे विष्फाेटक ब्याटिङ, पञ्जाव पराजित

समाधान संवाददाता २०७७ असोज १६ गते ७:०६

एजेन्सी

इन्डियन प्रिमियर लिग(आईपीएल क्रिकेटको यो सिजन साविक विजेता मुम्बईले दोस्रो जित हात पारेको छ। बिहीबार राती भएको खेलमा मुम्बईले किङ्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित ग¥यो।

एक सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४३ रनमात्र जोड्न सक्यो।

Advertisement

पन्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए। मायांक अग्रवालले २५, केएल राहुलले १७ र ग्लेन म्याक्सवेल ११ रन बनाएर आउट भए। मुम्बईका जसप्रित बुमराह, जेम्स प्याटिन्सन र राहुल चाहरले दुई दुई विकेट लिए। ट्रेन्ट बोल्ट र कुनाल पाण्याले एक एक विकेट हात पारे।

बुमराहले चार ओभरमा १८ रन मात्र दिए। मुम्बईले चार खेल खेल्नेक्रममा दोस्रो जित हात पारेको हो। त्यति नै खेल खेलेको पन्जाबको भने तेस्रो हार हो।

Advertisement

पन्जाबले टस जितेर पहिला बलिङ रोजेपछि मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९१ रन जोड्यो। मुम्बईले अन्तिम समयमा विस्फोटक ब्याटिङ ग¥यो। कायरन पोलार्डले २० बलमा ४ छक्का र ३ चौकासहित अविजित ४७ रन जोडे।

यस्तै हार्दिक पाण्ड्याले ११ बलमा २ छक्का र ३ चौकासहित अविजित ३० रन बनाए। २० औँ ओभरमा कृष्णप्पा गोथामलाई पोलार्डले लगातार तीन छक्का प्रहार गरे।

त्यस ओभरमा पाण्ड्याले पनि एक छक्का प्रहार गरे। १९ औँ ओभरमा मोहम्मद सामीलाई पोलार्डले लगातार तीन चौका प्रहार गरेका थिए।

त्यस ओभरमा पाण्ड्याले पनि एक चौका हिर्काए। मुम्बईले अन्तिम पाँच ओभरमा मात्र ८९ रन जोड्यो। त्यसमा पनि अन्तिम तीन ओभरमा मात्र ५९ रन जोड्यो।

टोलीका लागि सर्वाधिक रन भने कप्तान रोहित शर्माले जोडे। उनी ७० रन बनाएर आउट भए। उनले ४५ बलमा तीन छक्का र ८ चौका प्रहार गरे।

तपाईको प्रतिक्रिया