मन्त्री लम्सालमाथि सा‌ंसदकाे गम्भीर आराेपः याेजना पार्न प्रमुख अतिथि बनाउनुपर्ने सर्त राखियाे

समाधान संवाददाता २०७७ असोज १८ गते १८:१९

समाधान संवाददाता
पोखरा

विकास लम्साल गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री हुन् । सुरुकै वर्षबाट उनको मन्त्रालयले खर्च प्रगति राम्रो छ । खर्चसँगै उनको मन्त्रालयको बेरुजु पनि उस्तै छ ।

धेरैथरि मन्त्रालयको जिम्मा पाएका मन्त्री लम्सालसँग योजना माग्न जानेको लर्को लामै हुन्छ । जिल्लामा ससना योजनाका लागि रकम माग्न जाँदा कांग्रेस सांसद मेखलाल श्रेष्ठले उत्तर पाए, ‘तपाईंहरु मलाई प्रमुख अतिथि बनाएर बोलाउँदै बोलाउनुहुन्न ।’

Advertisement

यो जवाफ आफूलाई मात्र होइन प्रदेशकै सांसदहरु र स्थानीय तहका जनप्रतिनिधिलाई पनि मन्त्री लम्सालले दिने गरेको सांसद श्रेष्ठले बताए ।

मन्त्रीको जवाफबाट अवाक भएपछि सांसद श्रेष्ठले आइतबार प्रदेश सभा बैठकमा विषेश समय नै लिएर यो बारेमा असन्तुष्टि पोखे ।

Advertisement

प्रदेशसभामा सांसद श्रेष्ठले मन्त्री लम्सालको नामै किटेर भने, ‘अब त जनताले न्याय पाउँछन भन्ने विश्वास सबैतिर छाएको थियो । तर, अहिले त फेरि सामन्तहरू नयाँ राजा र राणाकालमा जस्तै, आफूलाई जी हजुरी गर्ने, सधैं आफ्नो वरिपरि घुमिरहोस् भन्ने चाहना नेतृत्ववर्गमा पलाउन थालेको जस्तो देखिन्छ । त्यसको ज्वलन्त उदाहरण हाम्रै प्रदेशका उद्योग, पर्यटनमन्त्रीज्यूले देखाइरहनुभएको छ ।’

स्थानीयस्तरमा विकास निर्माणका योजना खोज्दै मन्त्रालय पुग्नेहरुलाई ‘तपाईंहरु मलाई चिफ गेस्ट बनाउँदै बनाउनुहुन्न । मलाई तपाईंहरूको क्षेत्रमा बोलाउँदै बोलाउनुहुन्न । योजना मागेर मात्रै पाइन्छ ?’ भनेर जवाफ दिने गरेको सांसद श्रेष्ठले बताए ।

मन्त्रीको यस्तो कार्यशैलीले संघीयता र लोकतन्त्र नै खतरामा परेको टिप्पणि सांसद श्रेष्ठको छ । यस्ता क्रियाकलापले प्रदेश सरकारलाई नै असफल बनाउनतर्फ अग्रसर भएको हो कि आफूलाई लागेको उनले बताए । उनले प्रश्न गरे, ‘तपाईंले हामीकहाँ आएर हामीलाई सेवा गर्न पर्छ भन्ने भाव प्रकट गर्नुभएको छ । यही हो लोकतन्त्र र संघीयता ?’

हामीले ल्याएको लोकतन्त्र कसैलाई सामन्त बन्नलाई र कसैले पुर्खाको जस्तो आफूलाई सधैं सेवामा तल्लीन बनाउन, आफूलाई शासक र जनतालाई सेवक बनाउने खालको भाव प्रकट भएको त होइन भन्ने प्रश्न उनले गरे ।

स्थापनाको दोस्रो वर्षमै मन्त्रालयको बेरुजु बग्रेल्ती भएकोतिर ख्याल नगरी मन्त्रीले सम्मान खोज्ने र पहुँच देखाउने शैली लोकतन्त्र सुहाउँदो नभएको उनले बताए ।

मन्त्रालयमा छुट्टाइएको परामर्शको नाममा खर्च भएको ३ करोड रकम महालेखा परीक्षकले बेरुजुको नाममा देखाउँदा त्यसको जिम्मेबारी लिन नचाहाने, वन पैदावरमा राजस्व संकलन गर्नतर्फ ध्यान नदिने प्रवृत्ति प्रदेशकै लागि घातक हुने सांसद श्रेष्ठको भनाइ थियो ।

नजिकिएका चाडपर्वसँगै बजारमा सामानको अभाव, कालाबजारी मौलाउँदा अनुगमन गर्न ध्यान नपु¥याएर मन्त्री मन्त्री लम्सालले सत्ता जोगाउन र सम्मान खोज्नेतर्फमात्रै ध्यान दिएको आरोप उनको छ ।

जनता रोग, भोकबाट पीडित हुँदा मन्त्री भने पदको घमण्ड देखाएर गाउँ घुम्न फुर्सद नभएको आरोप सांसद श्रेष्ठले लगाए ।

‘राष्ट्रियताको ठूलो ढ्वाङ रची जनतालाई विकास निर्माणका पपुलर योजना बाँड्ने तर काम भने नगर्ने, यसअघिका सरकारले ल्याएका क्रमागत योजनाको शिलान्यास गर्ने र हाम्रो सरकारले ल्याएको हो भनेर जनतालाई ढाँट्न थालिएको हो भन्ने ठम्याइ छ,’ उनले भने ।

केपी शर्मा ओलीले चुनावको बेलामा पोखरामा रेल आउने भने पनि डिपिआरका लागि समेत पहल नभएकोप्रति उनले कटाक्ष गरे ।

उनले भने, ‘केन्द्रीय सरकारले पनि झुटो कुरा नभनोस् ।’ पाठ्यक्रममा छापिएको नक्सा रोक्ने र आफूलाई महान राष्ट्रवादी देखाउन खोजेको आरोप लगाउँदै उनले के कारणले रोकियो त्यसबारे उनले जवाफ पनि माग गरे ।

तपाईको प्रतिक्रिया