बिक्दैन मुस्ताङमा खाद्यको चामल

समाधान संवाददाता २०७७ असोज २५ गते २०:५७

एसके थकाली
जोमसोम

मुस्ताङमा खाद्य संस्थानको शाखा डिपो झण्डै ४ दसक अगाडि स्थापना गर्दा त्यसको महत्व निकै बढी थियो ।

त्यतिबेला जनता खाद्यको १ बोरा चामलका लागि स्थानीय प्रशासनको कुपन पाउँदा निकै खुसी हुन्थे । सडक सञ्जालसँग नजोडिएको त्यतिबेलाको अत्यन्तै विकट र दुर्गम मुस्ताङको अहिले समय र परिवेश फेरिएको छ । अहिले उत्तरी कोरलानाकासम्मको सडक पहुँच पुगेको छ । सडक सञ्जाल जोडिएसँगै मुस्ताङीको जीवनशैली फेरिएको छ ।

Advertisement

पहिला पहिला मुक्तिनाथ आउने तिर्थालुको खर्चबाट बँचेको चामल किन्दा भाग्यमानी ठान्ने मुस्ताङीलाई अहिले खाद्य डिपोको चामललाई महत्व दिन छोडेका छन् । सस्तो मूल्यभन्दा गुणस्तरको खोजी गर्दा यहाँका सेवाग्राहीको खाद्य डिपो भन्दा बजारिया मंहगो चामलप्रति मोह बढेको छ ।

एक दसकअघि सडक सञ्जाल जोडिएपछि स्थानीयले टेलिफोनको भरमा खाद्यान्न लगायतका सामान झिकाउन सक्ने भए । खाद्यको चामल न्यून गुणस्तरको हुने मानसिकताको कारण कम आयश्रोत भएकाले पनि स्थानीय बजारमा महंगो र गुणस्तरीय चामल प्रयोग गर्न थाले ।

Advertisement

आफैले खानका लागि भन्दा पनि पशुचौपाया र घरेलु मदिरा उत्पादनका लागि खाद्यको चामल प्रयोग हुन थालेको छ । खाद्य कम्पनी मुस्ताङका निमित्त प्रमुख विनोद चन्दले संस्थान हुँदा गुणस्तरको सवाल उठे पनि कम्पनीले गुणस्तर कायम गरेको बताए । दसैंमा स्थानीय किसानका भेडा च्यांग्रा खरिद गरी बजारसम्म पु¥याउने काम खाद्यले गर्दै आइरहेको छ ।

केही सीमित कामदारका परिवारले खाद्यको चामल उपयोग गर्दै आएका छन् । स्थानीयले खाद्यको चामल घरेलु मदिरा उत्पादन, गाईगोरु लगायत पशुचौपायालाई खुवाउन प्रयोग गरेका छन् । खाद्यका निमित्त प्रमुख चन्दले पछिल्लो २÷४ वर्षको तथ्यांक हेर्दा खाद्यको बिक्रीदर घटेको बताए । उनका अनुसार मुस्ताङ खाद्यमा वार्षिक औसत १ हजार क्विन्टल चामल बिक्री भएको छ । कोरोना कहरका कारण विकास काम रोकिएको र काम गर्ने मजदुर घर फर्किएकाले बिक्री दर घटेको उनको भनाइ छ ।

खाद्य कम्पनीमा आर्थिक वर्ष २०७५/०७६ को मौज्दात चामल २ सय ३६ क्वीन्टल र आव २०७६/०७७ मा आएको ९ सय ६० क्विन्टल चामल जोडेर १ हजार १ सय ९६ क्विन्टल चामलमध्ये अहिले ३६ क्विन्टल चामल मात्र बाँकी छ । आव २०७६/०७७ सालमा ८ सय ७२ क्विन्टल, २०७५÷०७६ मा १ हजार २ सय ८५ क्विन्टल र २०७४÷०७५ मा १ हजार ८ सय २ क्विन्टल बिक्री भएको कार्यालय प्रमुख चन्दले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७÷०७८ का लागि एक हजार क्विन्टल सोना मन्सुली चामलको विभागबाट टेन्डर स्वीकृत भएको बताए । खाद्य कम्पनीले प्रति क्विन्टल ४ हजार ३ सय ५० रुपैयाँमा चामल बिक्री गरेको छ ।

खाद्य कम्पनीले पछिल्लो ६ महिनाको अवधिमा मुस्ताङमा ४ सय २० क्विन्टल चामल स्थानीयलाई बिक्री गरेको जनाएको छ । जिल्ला कारागार मुस्ताङलाई साविक ठेक्का बमोजिम २७ क्विन्टल चामल बिक्री भएको हो ।

तपाईको प्रतिक्रिया