गण्डकी संसदको अधिवेशन आजबाट अन्त्य हुने

समाधान संवाददाता २०७७ असोज २६ गते ११:१३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभाको चालु बर्खे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ ।

गण्डकी प्रदेश सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी गराए ।

Advertisement

प्रदेश सभाको चालु अधिवेशन जेठ ११ गते सुरु भएको थियो । नदीपुरस्थित प्रदेशसभाको हल साँघुरो भएकाले कोभिड महामारीसँगै पोखरा सभागृहमा संसद बैठक बस्दै आएको छ ।

सभागृहको हल मर्मतका लागि मात्रै सरकारले ३० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ । बर्खे अधिवेशनमा ६२ वटा बैठक बसेको र आजसमेत गरी १४ वटा विधेयक पारित भएका छन् । कोभिडको महामारीका कारण बीचमा १ महिनाभन्दा बढी बैठक अबरुद्ध भएको थियो ।

Advertisement

बीचको केही समय प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसले बैठक अवरुद्ध गरे पनि सरकारसँगको सहमति पछि बैठक सञ्चालन भएको थियो ।

मन्त्रिपरिषदको बैठकले गण्डकी विश्वविद्यालयमा आवश्यक कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । उपकुलपति नियुक्तिसँगै काम अगाडि बढाउनुपर्ने भएकाले हालका लागि ९८ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको मन्त्री बस्नेतले बताए ।

यसैगरी गण्डकी विश्वविद्यालयलाई शिक्षक तथा कर्मचारी नियमावली, संगठन र शैक्षिक प्रशासन नियमावली र आर्थिक प्रशासन नियमावली बनाउन स्वीकृति प्रदान गरिएको मन्त्री बस्नेतले जानकारी गराए ।

हालैमात्र प्रदेश मातहत आएको लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन आदेश आजको बैठकले स्वीकृत गरेको छ । ७ सदस्यीय समिति रहने र अध्यक्ष प्रदेश सरकारले तोक्ने गरी गठनआदेश पारित भएको उनले बताए ।

तपाईको प्रतिक्रिया