माछापुच्छ्रेमा एन्फा एकेडेमी !

समाधान संवाददाता २०७७ कार्तिक ३ गते १६:३८

अनिष भट्टराई, पोखरा

Advertisement

एन्फाको साधारणसभाले पारित गरे फिफाले सदर गरेपछि मात्र एन्फा एकेडेमी बन्ने नबन्ने टुंगो लाग्छ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाल ५ ठाउँमा ट्रेनिङ सेन्टर सञ्चालन गरिरहेको छ ।

च्यासल, सातदोबाटो, रौतहट, धरान र बुटवलमा एन्फा ट्रेनिङ सेन्टर छन् । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले निर्वाचन दौरान ७ प्रदेशमा १४ ट्रेनिङ सेन्टर बनाउने, संघ शुद्धीकरण गराउने संकल्प लिएका थिए ।

निर्वाचन जितेर अध्यक्ष भएपछि उनै नेतृत्वको एन्फाले कास्की माछापुच्छ्रे गाउँपालिका ६ भेंडाबारीमा बहुउद्देश्यीय ट्रेनिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

Advertisement

निर्णय अनुरुप सेन्टरमा मैदान, होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय रहने छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरेर सेन्टरलाई ४ चरणमा सक्ने तयारी छ ।

फिफाले एन्फाका लागि पठाएको २० लाख डलरबाट उक्त सेन्टर बनाउने योजना एन्फाको छ ।

पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ प्रयोग गरिनेछ ।

भेँडाबारीका स्थानीय सेन्टर बनाउने पक्षमा छन् । नेपाल सरकारका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको क्षेत्र भएकाले समेत सो ठाउँमा सेन्टर बन्नेमा स्थानीय उत्साहित छन् ।

सेन्टरका लागि २ सय ५२ रोपनी जग्गा गाउँपालिकाले उपलब्ध गराइसकेको छ ।

तर मर्दी नदीले २ तर्फ कटान गर्ने भएकाले तटबन्धनको काम स्थानीय आफैं गर्नुपर्ने हुन्छ ।

फिफाले जग्गा संरक्षणका लागि पैसा प्रदान नगर्ने हुँदा तटबन्धन गरेर सेन्टर बन्ने जग्गा स्थानीय सरकारले संरक्षण गर्नुपर्छ ।

यसैका लागि केही दिन अगाडि एन्फाका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा पोखरा आएका थिए ।

एन्फा अध्यक्ष शेर्पा सेन्टर निर्माणका लागि दौडधूप बढाइरहेका छन् । शेर्पाले पोखरामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेका थिए ।

भेटमा भेँडाबारीमा जग्गा तटबन्धनका लागि प्रदेशसँग शेर्पाले सहयोग मागेको बुझिएको छ ।

एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापा अब ट्रेनिङ सेन्टर जुनसुकै हालमा बनाइने बताउँछन् ।

सेन्टर बनेको खण्डमा कास्कीको खेलकुद धरातल बलियो बन्ने र आर्थिक अवस्था झनै आकासिने उनको टिप्पणी छ ।

‘तटबन्धको काम पछि टेन्डर प्रक्रियामा जान्छौं । स्थानीयको धेरै साथ छ, मुख्यमन्त्री पनि सकारात्मक हुनुहुन्छ,’ थापाले भने ।

तर अहिले तटबन्ध भइहाले पनि सेन्टर निर्माणको काम अगाडि भने बढ्न सक्दैन ।

एन्फाका कुनै पनि योजना बन्नु अगाडि साधारणसभाबाट पास हुनुपर्छ । अहिले कोरोनाका कारण एन्फाको साधारणसभा बस्न सकेको छैन ।

यसकारण भेंडाबारीमा सेन्टर बनाउने प्रस्ताव समेत लगिएको छैन, पास भएको पनि छैन । यो अवस्थामा तत्कालै तटबन्धको काम सकिएपनि निर्माण भने सुरु हुँदैन ।

साधारणसभाले पास गरिहालेको खण्डमा पनि एन्फाले फिफाको स्वीकृति पर्खनु पर्ने हुन्छ ।

एन्फाले यो विषयमा फिफाको स्वीकृति भने अहिलेसम्म लिएको छैन । फिफाले दिएको करिब २० लाख अमेरिकी डलरको पैसाले बन्ने संरचनाको बारेमा फिफालाई आधिकारिक जानकारी गराइएको छैन ।

साधारणसभाले पास गरेर फिफामा प्रस्ताव पठाएपछि फिफाले योजना अगाडि बढाउने वा रोक्ने बारे निर्णय दिन्छ ।

जिम्मेवारी खोसिएका एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ कार्यसमितिमा थाहै नदिई शेर्पाले ‘एकलौटी ढंगले’ योजना ल्याएको बताउँछन् ।

उनले खेलकुद मन्त्रीलाई प्रफुल्ल पार्न अध्यक्षले दौडधूप गरिरहेको जोडे । निर्वाचनका बेला ७ प्रदेशमा १४ सेन्टर बनाउने प्रतीज्ञा लिएका अध्यक्षले अहिले फिफाबाट आएको बजेटको ७० प्रतिशत बजेट खोलाको बीचमा लगेर फाल्न लागेको गुनासो गरे ।

‘चुनाव जित्ने नारा नै भुलेर मन्त्री फकाउने काममा अध्यक्ष लाग्नुभयो, सानो सेन्टर बनाएर अरु ठाउँमा बजेट प्रयोग हुनुपथ्र्यो,’ उनले भने,‘प्रक्रिया मिचेर अध्यक्षले मिडियाबाजी गरेर आफ्नो योजना अगाडि बढाउनुभयो ।’

एन्फाका प्रवक्ता किरण राईले अहिले भेंडाबारीमा मैदान बन्छ भन्ने पक्का नभएको प्रतिक्रिया दिए ।

‘साधारणसभाले निर्णय गर्ने हो, मैले अहिले नै बन्छ÷बन्दैन भन्न सक्दिनँ । होमवर्क भइरहेको छ,’ राईले भने ।

‘ड्रिम प्रोजेक्ट’ को रुपमा निर्माण गर्ने भनिएको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

८० जना बालबालिकालाई अभ्यासका लागि पनि राख्ने योजना छ ।

तटबन्ध प्रदेश सरकारले गरिदिने

एकेडेमीका लागि प्रस्तावित स्थलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीले अनुगमन गरेको छ ।

इदी र मर्दी खोलाको बीचमा रहेको उक्त ठाउँमा मर्दीखोलाले बर्सेनि कटान गर्ने भएकाले तटबन्धका लागि प्रदेश सरकारसँग आग्रह गरिएकाले मुख्यमन्त्री प्राविधिकसहितको टोलीका साथ अनुगमन गरिएको हो ।

मुख्यमन्त्री गुरुङले शुक्रबार एन्फा टेक्निकल सेन्टरका लागि प्रस्तावित स्थलको निरीक्षण गर्र्दै परियोजना सुरुआत गर्नुअघि मर्दी र इदी खोलाले कटान गरेको जमीन संरक्षणका लागि प्रदेश सरकारले काम अघि बढाउने प्रतिबद्धता जनाए ।

प्रदेशको गौरवको आयोजना प्रस्तावित ठाउँमै बन्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेकाले आवश्यक काम अघि बढाइने उनको भनाइ थियो ।

‘नदी कटानको जोखिमलाई देखाएर यो परियोजना अन्यत्र जान्छ कि भन्ने आशंका रहेकामा त्यसअघि प्रदेश सरकारका तर्फबाट कटान नियन्त्रणका लागि के गर्न सकिन्छ भनेर हामी निरीक्षणका लागि आएका हौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘पोखरा नजिकको यस ठाउँमा गण्डकी प्रदेशकै गौरवको परियोजना एन्फा टेक्निकल सेन्टर बनाउन आवश्यक कार्य गर्न सरकार प्रतिबद्ध छ ।’

यो वर्षका लागि बजेट विनियोजन नभए पनि तटबन्धका लागि रकम उपलब्ध गराउने आश्वासन उनले दिएका छन् ।

सोही क्षेत्रका प्रदेश सांसद रामजीप्रसाद बरालले सडक पहुँचबाट सुगम र रमणीयस्थलमा एकेडेमी बन्दा यसले फुटबल विकासमा योगदान पुग्ने बताए ।

एन्फा एकेडेमीको प्रस्तावित स्थलसँगैको मर्दी र इदी खोलाको दुबैतर्फ नै कटान नियन्त्रणका लागि तटबन्धन गर्नुपर्नेमा उनको जोड छ ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले एकेडेमीको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर), जमीन नाप जाँच लगायतका कार्य सम्पन्न भएर निर्माणका लागि बोलपत्र आह्वानको तयारी भए पनि त्यसअघि प्रस्तावित स्थलको दुबैतर्फ नदी तटबन्धनको कार्य गर्न एन्फाले प्रदेश सरकारलाई आग्रह गरेको बताए ।

अध्यक्ष गुरुङले परियोजना माछापुच्छ्रे मात्र नभएर गण्डकी प्रदेश तथा समग्र देशको फुटबलको श्रीवृद्धिका लागि महत्वपूर्ण रहेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया