पृनाको नेपाली विभागमा ‘उखरमाउलो’

समाधान संवाददाता २०७७ कार्तिक ४ गते ४:४८

समाधान संवाददाता
पोखरा

लामाे समय प्राध्यापनमा बिताएका साहित्यकार पीताम्बर नेपालीले लेखेको उखरमाउलो निबन्धसंग्रहमाथि सोमबार पृथ्वीनारायण क्याम्पस पोखराको नेपाली विभागले परिचर्चा गरेको छ । नेपाली विभागकै पूर्व प्राध्यापक हुन् ।

विभागकै सदस्य उपप्राध्यापक गिरबहादुर खड्काले उखरमाउलो निबन्ध संग्रहमा केन्द्रित भएर ‘वैचारिक कोणबाट उखरमाउलो संग्रहकोे विश्लेषण’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।

निबन्धसंग्रहमा म बाहुन हुन चाहन्नँ, इज्जत, राष्ट्रियता र हाम्रा संस्कारहरु, आँधीको सुस्केरा, भ¥याङ, खोल, जुत्ता, यहाँ के छैन ?, मर्द, केही गन्थन भीमदत्त पन्तसँग, जात, आफ्नो बाटो, थुइक्क मान्छे, कुरा र कुरा, खिर्चो, नेता र जनता गरी १६ वटा निबन्ध छन् ।

Advertisement

यिनै निबन्धहरुमा केन्द्रित भएर तयार पारिएको गोष्ठीपत्रमा प्रस्तोताले संग्रहका निबन्धमा सामाजिक, सांस्कृतिक र राजनीतिक विषय आएको र आत्मपरक शैलीमा लेखिएको बताए ।

राष्ट्रियताप्रति गम्भीर हुनुपर्ने बेला आएको भन्दै उनले राजनीतिक बेइमानी तीव्र रुपमा बढेको र जातीय झैझगडाको वातावरण बनेका बेला निवन्धले यी र यस्तै सन्दर्भ जोडेकोको बताए । खड्काले भने, ‘समाजको सद्भाव खल्बलिँदै छ । थिचोमिचो, शोषण र उत्पीडनको अन्त्य भएको छैन । जातीय विद्रोह जन्माएर राष्ट्रलाई क्षति पुर्‍याउने काम भइरहेको छ । यस्ता विकृतिको निराकरण नगरे नेपाली र नेपालीको अस्तित्व समाप्त हुन्छ भन्ने विचार यस निबन्धले बोकेका छन् ।’

Advertisement

गोष्ठीपत्रमाथि पृथ्वीनारायण क्याम्पस, नेपाली विभागका उपप्राध्यापक डा.पुण्यप्रसाद शर्माले टिप्पणी गरेका थिए । टिप्पणीपछि डा.लक्ष्मीशरण अधिकारी, बोधराज ढकाल, डा.यमनाथ तिमिल्सिना, यादवराज उपाध्याय, शोभाकान्त गौतम, परशुराम कोइराला, श्रीधर न्यौपाने, विष्णु शर्मा, नारायणी अधिकारी, सजना आचार्य, विद्यावती शर्माले छलफलमा भाग लिए । निबन्धकार पीताम्बर नेपालीले पनि जीवन भोगाइलाई समेटेर लेख्दालेख्दै निवन्धसंग्रह तयार भएको बताए ।

विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभागीय सदस्य उपप्राध्यापक सजन आचार्यले स्वागत र उपप्राध्यापक निर्मल सापकोटाले सञ्चालन गरेका थिए । यस्तै प्रतिवेदन लेखनको जिम्मेवारी उपप्राध्यापक विद्यावती शर्माले वहन गरेका थिइन् ।

तपाईको प्रतिक्रिया