मुसा मानुषः अनुवाद अनुभूति

समाधान संवाददाता २०७७ कार्तिक १८ गते ११:२१

गनेस पौडेल

जोन स्टेबेकको यो उपन्यास ‘अफ् माइस एन्ड मेन’लाई सन् १९९६ को कुनै गर्मी महिनामा पढेको थिएँ मैले, पिएन क्याम्पसभित्रको क्षेत्रीय पुस्तकालयमा ।

प्राध्यापकले सूचना समेत नदिइकन कक्षा हापिँदिँदा होस् या राजनीतिक दलका विद्यार्थी संगठनले कक्षा भित्र पसेर ‘आज पढाई नहुने’ सूचना दिएपछि होस्, जगेडा बचेको मेरो समय प्रायः पुस्तकालयमा बित्थ्यो ।

यस्तै कुनै करकापले प्राप्त समयको एक बसाईमा सकेको थिएँ स्टेनबेकको यो मायालु पुस्तिका ।

तिनताका मैले अमेरिकी शास्त्रीय आख्यानका केही उत्कृष्ट किताब पढ्ने मौका पाएको थिएँ । एफ स्कट फिट्जराल्डको ‘द ग्रेट ग्याट्स्बी’, जेडी स्यान्जिरको ‘द क्याचर इन द राय’, केन केसीको ‘वन फ्ल्यू ओभर द कुक्कुज नेस्ट’, मार्क ट्वेनको ‘एडभेन्चर अफ् हकलबेरी फिन’, विलियम गोल्डिङको ‘लर्ड अफ् फ्लाइज’ आदि जस्ता आख्यानले मेरो किशोरवयका क्याम्पसी दिनलाई निरास–निरास, उदास–उदास हुनबाट जोगाएका थिए ।

तीमध्ये पनि अमेरिकी सपनाको सतहमा कोरिएका दुइ किताबले मलाई आनन्दित गरेका थिए : ‘द ग्रेट ग्याट्स्बी’ र ‘अफ् माइस एन्ड मेन’ ।

‘द ग्रेट ग्याट्स्बी’ले महामन्दी ठीक अगाडिको समयमा अमेरिकी समाजले देखाउने सपनाको उन्माद र तुजुकलाई देखाउँछ भने ‘अफ् माइस एन्ड मेन’ले महामन्दीको चेपमा दापिएको सपना–विघटनको कारुणता ।

तिनताका मलाई लाग्थ्यो कुनै दिन मैले यी किताबहरुको नेपालीमा अनुवाद गर्नेछु र मजस्तै तमाम नेपालीभाषि किशोरहरुलाई उमेरजन्य उन्मादबाट जोगाएर विरेचित आनन्द दिनेछु ।

कसैलाई ‘जोगाउने’जस्तो बोझिलो भ्रम उमेरसँगै मेटिँदै गयो । जोगाउने धोको जोगिने वाध्यतामा परिणत भयो ।

उपन्यासलाई अनुवाद गर्ने मेरो किशोरकालीन रहर बिस्तारै बिर्सिइदैँ गयो । यसरी कैयन बर्ष कटे ।

सिनेमाको एक झिल्को सिन फेरिएजस्तो गरिकन झिलिक्कसँग सकिए २ दशक ।

यतिका बर्षपछि अचानक एकदिन पोखरामा क्रियाशिल युवाहरूको पढक्कु समूह ‘ह्वाट द बुक क्लब’ले यसका बारेमा बोलिदिन मलाई निम्तो पो ग¥यो १ अनि मैले उपन्यासलाई फेरि पढेँ ।

दोस्रो पटक पढ्दा मलाई किशोरकालीन पठनको पूर्वस्मरणले यति गाँज्यो कि किताब बोकेर म पिएन क्याम्पस भित्रै छिरैँ र पुस्तकालयको त्यही कुनो ९संभवत त्यही टेबल पनि० मा बसेर पढेको पढ्यैँ गरेँ ।

दिनभरीमा पाना फड्की फड्की कति पटक पढेँ, पढेँ । र, त्यही दिन घर फर्केर मैले पहिलो पृष्ठको अनुवाद गरेँ । त्यसउप्रान्त आफ्नै सिर्जनात्मक लेखन नफुर्दाको हरेक बिहान मैले यसका केही न केही पृष्ठलाई अनुवाद गरिरहेँ ।

यसरी पुरै अनुवाद सक्न मलाई पुरै २ बर्ष पो लाग्यो । अनुवाद सक्नेबित्तिकै त्यसलाई पुनर्लेखन त परै जाओस् पुनर्पठन समेत नगरिकन प्रकाशक भूपेन्द्र खड्कालाई पठाएपछि अन्ततः यो किताब तपाईँको हातमा छ ।

लामो समय लगाएर अनुवाद गरेको हुनाले यसको अनुसिर्जनात्मक लय तलमाथि परेको हुनुपर्छ भन्ने मलाई अनुमान छ । नभएको पनि हुनसक्छ ।

लय उछिट्टिएकै भए यसपटक मिलाएर पढ्नुहोला, ठाउँ हेरेर पछिल्ला संस्करणमा सच्याउँदै जाउँला ।

‘अफ् माइस एन्ड मेन’ अमेरिकी शास्त्रीय उपन्यासको अब्बल नमूना हो । १९३० को महामन्दी पछिको समयको नैराश्यका बीचमा यदाकदा टुसाउने ‘अमेरिकी सपना’को मुना र त्यसको तिब्रताको फेहरिस्त हो यो उपन्यास ।

त्यसो त ‘सपना’ अमेरिकी समाज र संस्कृतिको मात्रै पेवा होइन । जहाँ कहिँको नागरिक होस्, मान्छेको जात सपना देख्न अभिसप्त छ ।

सपनाको तारो ९ओरियन्टेशन० फरक हुनसक्ला तर सपनाको अंकुरण, त्यसको विस्तृति अनि अचानकसँग हुने त्यसको विखण्डिकरण हरेक पुँजीवादी समाजका आम नागरिकको साझा नियति हो ।

‘¥यान्च‘ भनिने अमेरिकी कृषि फारममा काम गर्न गएका दुई पात्रहरु लेनी स्मल र जर्ज मिल्टनको अविचलित मित्रता, तिनको साझा सपना, तिनका सपनामा जोडिन आएका अरु कामदार र सपना प्राप्तिको संघर्षमा असंलग्न तर अफ्ट्यारो बनेर उभिएका अनेकन चरित्रहरूको मिहिन चित्रणले यो उपन्यासलाई चलायमान बनाएका छन् ।

लेनी शरीरले बयष्क छ तर बुद्धिले बालक । उसलाई आफ्नै हत्केलामा लुकेको तागत र त्यसले अरुलाई पार्नसक्ने क्षतिको रत्तिभर आभाष हुँदैन । पूर्ण मानसिक विकास नभएको त्यो अजंगको लाठेप्रतिको सानो कदकाठीँको तर चतुर बुद्धीको जर्ज मिल्टनले देखाउने निशर्त प्रेम र अभिभावकत्वले हाम्रो हृदयलाई छताछुल्ल छामेर जान्छ ।

अन्तिम अध्यायको फेरमा मित्रतालाई दिइने बलिदानको कठोर संगठना यो उपन्यासको सर्वाधिक कठिन प्रसंग हो जसले हाम्रो आँखालाई सधैँको लागि भिजाइरहन्छ ।

लम्बेतान विवरण र व्याख्याले होइन घटना र संवादकै माध्यमबाट पात्रहरुको बुनोट र चरित्रको मिहिन पोट्रेट बनाउन सक्ने स्टेनबेक आख्यान लेखनमा बस्तुवादी कथावाचन शैली भित्र्याउने साहित्यीक अन्वेशक हुन् ।

‘अफ् माइस एन्ड मेन’को यही शैलीको कथावाचनका खातिर पनि उनलाई धेरैले तारिफ गर्छन् । भनिन्छ यो उपन्यासको प्रकाशनकै कारणले सिनेमा लेखनले नयाँ गोरेटो पाएको थियो ।

‘वस्तुपरक कथावाचन’ भनिने यो शैलीमा भौतिक विवरण, घटना र संवादबाट चरित्रको निर्माण गरिन्छ न कि पात्रको व्याख्याबाट । कथा वाचनको यही प्रयोगका कारण यस उपन्यासका हरेक पात्र हाम्रो मस्तिष्कमा गहिरो छापसहित स्थापित हुन्छन् ।

उपन्यासमा त्यस्ता कुनै पात्र छैनन् जसलाई पढेपछि पाठकले बिर्सियोस् । हरेक पात्रको सम्झना लामो समयसम्म रहिरहन्छ । मुल चरित्र लेनी र जर्ज मात्रै होइनन् साधारण भूमिकामा आउने पात्रहरु समेतको हेक्का हामीलाई भैरहन्छ ।

एउटा हात ठुन्किएको बुढो क्यान्डी, कहिले जोरी खोज्दै त कहिले हराएकी जोई खोज्दै हिँड्ने साहुपुत्र कर्ली, उपन्यासमा नामै समेत नदिइएकी स्वतन्त्र जीवनको खोजमा भौँतारिइरहने कर्लीकी चञ्चले श्रीमती, कालो जातीको भएकै कारणले कामदार गृहबाट पर्तिर एकलो बसेरा गर्ने क्रुक्स, ‘¥यान्च’को राजकुमार भनिने स्लिम, क्यान्डीले प्रेमपूर्वक पालेको रोगाहा कुकुरलाई गोली ठोक्ने काल्र्सन मात्रै होइनन् एक पटक मात्रै प्रसंगका आउने कृषि फारमको साहु, लेनीकी काकी क्लारा अनि बजारकी वेश्या समेतको चरित्र हरेक पाठकको आँखामा सचित्र नाच्छ ।

मानवीय वयवान्की र प्रवृत्ति दुवैलाई एकसाथ चरित्रमा घुसाउन सक्ने स्टेनबेकको बस्तुपरक कथावाचन कला साँच्चिकै लोभलाग्दो लाग्छ ।

विषयपरक वा भनौँ आत्मपरक कथावाचनबाट आजित भएको नेपाली आख्यान लेखनका लागि यो उपन्यास प्रेरणा हुनसक्छ ।

जोन स्टेनबेकले कतै भनेका छन्, यो कथा वास्तविक जीवनका पात्रहरूबाट बुनिएको हो तर बास्तविक कथामा लेनीको हातबाट भुलबस हत्या भएकी पात्र स्त्री नभएर पुरुष थियो ।

तीसको दशकको महामन्दीका बेला लेखक आफैँले पनि लामो समयसम्म सहरदेखि निक्कै परको ‘¥यान्च हाउस’मा कृषि श्रमिक भएर काम गरेका थिए ।

जीवनको नितान्त नीजि अनुभवलाई समेत यसरी गैरवैयक्तिक वान्कीका उतार्ने कला कसैले सिकोस् त स्टेनबेकसँग सिकोस् ।

यसैका कारणले पनि ‘अफ् माइस एन्ड मेन’लाई महामन्दीपछिको समाजको चित्रण, तात्कालिन जनजिब्रोको भाषाको जीवन्त प्रयोग आदिका हिसाबले सर्वाधिक सफल कृतिमध्ये एक मानिन्छ ।

बिशेष गरी सो समयमा विद्यमान जातीय र लैङ्गिक विभेदको असामाजिक व्यवहार र त्यसलाई नमान्ने वा बेवास्ता गर्ने उपन्यासका मुल पात्रहरुको प्रगतिशील चरित्रका कारणले पनि यो उपन्यासलाई धेरैले स्मरण गर्दछन् ।

जोन स्टेनबेकले यो उपन्यासको शीर्षक प्रख्यात स्कटिस कवि रोवर्ट बन्र्सले सन् १७८५ मा लेखेको कविता ‘टु अ माउस’ ९मुसालाई० बाट लिएका हुन् । यो कवितामा एउटा पङ्ति छ ः बेस्ट–लेइड स्किम्स अफ् माइस एण्ड मेन, अफ्टन गो अःवरी ९‘मुसा र मान्छेले सजाउने सुठगित सपना प्रायः सखाप हुन्छन् ।

खेतमा हलो जोतिरहँदा फालीले उधिनिएको मुसोको गुँड देखेर भावुक भएका कवि रोवर्ट बन्र्सले रचेको यो कविताबाट शीर्षक सापटी लिनुभन्दा पहिले स्टेनबेकले यो कथाको लेख्दै गर्दाको शीर्षक (वर्किङ टाइटल) ‘समथिङ द्याट ह्यापेन्ड’ अर्थात ‘त्यो एक परिघटना’ राखेका थिए ।

‘त्यो एक परिघटना’ एउटा शुष्क र सन्दर्भविहिन शीर्षक हुनसक्थ्यो तर रोवर्ट बन्र्सको कविताँशले यो उपन्यासको शास्त्रीय सन्दर्भ र कालातीत सान्दर्भिकतालाई सार्थक पारेको छ ।

‘त्यो एक परिघटना’ले एउटा भैपरी हुन आउने अवस्थालाई ईकित गथ्र्यो जसले । मान्छेका सुख र दुःख कर्मले नभई नियतीले बाँधेको हुन्छ भन्ने सन्देश दिनसक्थ्यो । तर यो कथाका पात्रहरूको दुःखान्त नियतीले होइन सामाजिक परिपाठीले पो कोरेको छ त !

नेपालीमा अनुवाद गरिसकेपछि यसको शीर्षक के राख्ने भन्ने बिषयमा निक्कै सोचेँ, सायद यतिविघ्न त मुल शीर्षक राख्नु अघि स्वयम् स्टेनबेकले पनि सोचेनन् होला ।

प्रारम्भमा मैले यसको शीर्षक हुवहु अनुवाद गरेर ‘मुसा र मान्छे’ नै राखेको थिएँ । तर नेपालीको यो शीर्षकले न रोवर्ट बन्र्सको काव्यिक विरासतलाई यता घिसारेर नेपालमा ल्याउँथ्यो न यो आर्फैँ नयाँ अर्थको आकर्षक शीर्षक हुनसक्थ्यो ।

अनिर्णयको यही सेरोफेरोमा रोवर्ट बन्र्सकै हाराहारी भावुकताले कोरिएको हाम्रा कवि शिरोमणि लेखनाथ पौडयालको ‘गौँथलीको चिरबिर’ पनि स्मरणमा आएको थियो ।

त्यही कविताबाट थुतेर ‘चिरिबिरी च्यार्र’लाई पनि केही दिनसम्म शीर्षक राखेर विचार गरिबसेको थिएँ । बन्र्सको कवितामा मुसाको गुँड भत्किएपछिको भावुकता छ, पौडयालको कवितामा चराको गुँड भत्काउन आएको घरधनीमाथि गौँथलीको प्राकृत देशना छ ।

त्यसो त पूर्व र पश्चिमका कथा–किस्सा उस्तै भए पनि त्यसको तारो (ओरियन्टेशन)फरक थिए र अझै पनि छन् । आफैँ हेर्नुस् न, उता पिता लायस र पुत्र एडिपसको द्वन्द्वमा पुत्रले पिताको हत्या गर्छ । यता पिता यायातीले आफ्नो पाचौँ पुत्र पुरुको पुंषत्व हडप्छ ।

पिता र पुत्रको अचेतन द्वन्द्व शास्वत भए पनि द्वन्द्वको सुई कताबाट कता सोझिएको हुन्छ भन्ने कुराले सांस्कृतिक मूल्य राखेको हुन्छ ।

लामै समयसम्म शीर्षकले डेरा जमाउन नसकेपछि प्रकाशक तथा मित्र भूपेन्द्र खड्कालाई त्यसको छिनोफानो गर्ने अधिकार दिएर म आफ्नै सिर्जनात्मक लेखतिर लागेँ । एक दिन मिस्टर खड्काले फोन गरेर आधि दर्जन शीर्षकहरू टिपाए । मलाई अहिलेको शीर्षक ‘मुसा– मानुष’ मन पर्न गयो ।

त्यसो त तपाईँले यो किताबलाई ‘अफ् माइस एण्ड मेन’ भनेरै पढेमा म अझ खुसी हुनेछु । म त ठान्छु, शीर्षक भनेको किताबको बोलाउने नाम हो ।

बोलाउने नामको अनुवाद किन गर्ने रु के कसैले कृष्ण बहादुर पण्डितलाई अंग्रेजीमा ‘ब्ल्याक ब्रेभ स्कलर’ भनेर बोलाउला र ?

किताबको काया कम्प्युटरमा तयार गर्दै गर्दा प्रकाशकको अनुरोधमा यसभित्रका ६ वटा अध्यायलाई छुट्टाछुट्टै उपशीर्षक दिएको छु ।

मुल ग्रन्थमा यस्तो शीर्षक नभए पनि पठनलाई रोचक बनाउनका खातिर मात्रै यसो गरिएको अर्थमा बुझिदिन प्रबुद्ध पाठकहरूलाई अनुरोध गर्छु ।

‘अफ् माइस एन्ड मेन’ बाहेक ‘टर्टिल्ला फ्ल्याट’, ‘क्यानबेरी रो’, ‘इस्ट अफ एडेन’ लगायतका १६ उपन्यास सहित ३३ वटा विश्व प्रसिद्ध कृतिका रचनाकार जोन स्टेनबेकले सन् १९६२ मा साहित्यका लागि नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

ओक्लोहमा डस्ट बोउलदेखि क्यालिफोर्नियासम्मको बसाईँसराईको कथा उनिएको उनको उपन्यास ‘द ग्रेप्स अफ् ह्व्राथ’ले सन् १९३९ मा पुलित्जर पुरस्कार तथा नेशनल बुक अवार्ड प्राप्त गरेको थियो ।

एउटा नोवेल पुरस्कार विजेता देखकको सुप्रसिद्ध किताबको स्वाद नेपाली पाठकलाई त्यो पनि आफ्नै बोलीबान्कीमा चखाउन पाउँदा म निक्कै प्रफुल्ल छु ।

यो मेरो पहिलो अनुसिर्जना हो । तपाईँको सिर्जनात्मक आलोचना र प्रेमको पर्खाइ रहनेछ ।

सबैको जय होस् १

तपाईको प्रतिक्रिया