(अर्काइभ) जसले दक्षिण एसियामै पहिलो चाउचाउ उद्योग खोले

समाधान संवाददाता २०७७ कार्तिक १८ गते १३:१६

केशवशरण लामिछाने

भन्नै पर्दैन, पोखरा लाहुरेहरूको सहर हो । उनताका हङकङ, सिंगापुरका कुरा सुन्न पाइने भनेकै लाहुरेबाट थियो ।

अचेलजस्तो जोकोही पुग्दैनथे हङकङ, सिंगापुर र मलेसिया । इष्टमित्र नातागोतालाई मात्रै होइन लाहुरेले साथीभाइलाई पनि कोसेलीपात बोकेर घर फर्कंन्थे ।

Advertisement

आजभन्दा ४० वर्षअघि लाहुरेले ल्याउने कोसेलीमा नछुट्ने खानेकुरा हुन्थ्यो, चाउचाउ ।

आफ्ना साथी लाहुरे भएकैले सूर्यबहादुर केसीले त्यो बेलै चाउचाउ चाख्न पाएका थिए ।

Advertisement

पछिपछि त पोखराकै ठूल्ठूला किराना पसलले पनि विदेशबाट ल्याएर चाउचाउ बेच्न थाले ।

ठेक्कापट्टाका काममा साँझबिहानको खाना नभनी कुदाकुद गर्ने केसीलाई पछि पोखराकै प्रोभिजन सपबाट चाउचाउ किनेर खाने बानी लाग्यो । सम्झन्छन्, ‘कामै त्यस्तो थियो, फुर्सद कम हुन्थ्यो, फास्टफुड खाएरै काम चलाउनुपर्थ्यो ।ु

महेन्द्रपुलमा होटेल मन्दार चलाउँथे कृष्ण आचार्य, जहाँ केसी पुगिरहन्थे । कृष्णका बुवा ब्रिटिस आर्मीमा रहेछन् ।

सूर्य र कृष्णका बाबुबीच पनि चिनाजानी रहेछ । एउटा होटेले र ग्राहकबीचको चिनाजानी यारीमा बदलियो ।

महेन्द्रपुलमै थियो एउटा प्रोभिजन सप जहाँ विदेशबाट ल्याएका चाउचाउ किन्न पाइन्थ्यो ।

त्यो प्रोभिजन सप चलाउने फणीन्द्रमान श्रेष्ठ पूर्वलाहुरे रहेछन् । त्यो पसल गएर चाउचाउ खान सूर्यबहादुर पल्किसकेका थिए । उनको दोस्तीयारी सुशील गोसलीसँग पनि थियो ।

तिनै ४ मध्येका २ जना कृष्ण र फणीन्द्रमान मिलेर सिन्के चाउचाउ उद्योग खोले।गण्डकी नुडल्स ।

तीसको दसकको सुरुआतीको कुरा थियो त्यो । गण्डकी नुडल्सले सिन्के चाउचाउ उत्पादन गर्न थाल्यो । खोल्न त खोले उद्योग तर घाटामा गयो ।

त्यो घाटा पनि बेहोर्ने गरी आधुनिक चाउचाउ उद्योग खोल्न भनेर सूर्यबहादुर, कृष्ण र फणीन्द्रमात्रै होइन सुशील गोसली पनि तम्सिए ।

अरु थुप्रैलाई भेलामा डाके । ‘सयौंजना आएका थिए साथीु, सूर्यबहादुर भन्छन्, ‘तर आउन पाछैन, घाटा बेहोर्ने १ भन्दै अरु साथीले लगानी गर्न चाहेनन् । हामी ४ जनामात्रै तयार भयौं । फणीन्द्र अध्यक्ष भए ।

प्रबन्ध निर्देशक कृष्ण । सूर्यबहादुरले निर्माणपट्टिको जिम्मेवारी लिए, जो निर्माण व्यवसायी नै थिए ।

सुशीलले होस्टेमा हैंसे गरे । छोरा चाउचाउ उद्योग खोल्न लागेछ भन्ने थाहा पाएपछि सुशीललाई उनका बुवाले भो भो नगरौं भनेछन् । लगत्तै उनले साझेदारी छाडे । बाँकी रहे ३ जनामात्रै । तर उनीहरू पछाडि हटेनन् । सुशीलको भागको सेयर सूर्यबहादुरले सकारे ।

उद्योग त खोल्ने तर चाहिने जति पैसा उनीसँग थिएन । एउटै उपाय थियो, ऋण खोज्ने । व्यक्तिसँग मागेर साद्दे चल्ने कुरै थिएन ।

त्यो बेला उद्योग व्यवसायलाई ऋण दिने एउटै बैंक थियो, नेपाल औद्योगिक विकास निगम ।

उनीहरू निगम गए । प्रपोजल दिए तर उसले पत्याएन । ‘नेपालमा उद्योग गर्ने १ त्यो पनि चाउचाउ १, त्यहाँका कर्मचारी हाँस्थे ।

ऋण दिन पटक्कै मानेनन् । झुलाएको झुलायै गरे । सूर्यबहादुरले त्यो कुरा अझै भुलेका छैनन् ।

उद्योग व्यवसाय गर्ने भनेको कि नेवार कि माडवारीमात्रै भन्ने थियो । तर, उनीहरूले लक्ष्य मोडेका थिएनन् । उद्देश्य छोडेका थिएनन् ।

हिम्मत हारेका थिएनन् । पर्खेको पख्र्यै गरे । लगातार धाइरहे । अन्ततः निगम राजी भयो ऋण दिन । ४र५ वर्षको कसरतपछि उनीहरूले ३५ लाख रुपैयाँ ऋण पाए । आफूहरूले १५ लाख रुपैयाँ हाले ।

५० लाख जम्मा भयो । जापानबाट मेसिन मगाउने तयारी गरे । अर्डर पनि गरिहाले । मेसिन आयो ।

अरु सबै भौतिक पूर्वाधार पोखरा औद्योगिक क्षेत्रभित्र तयार थियो । मेसिन फिटफाट गरेर भ्याइसकेर उत्पादन सुरु गर्दा नेपाली पात्रोमा २०३९ माघ २३ गते लागेको थियो । त्यसरी रारा चाउचाउको सुरुआत भएको थियो ।

नेपालमा मात्रै होइन, त्यो दक्षिण एसियाकै पहिलो चाउचाउ उद्योग हो ।
फेवातालको नगरीमा सुरु भएको उद्योगले उत्पादन गर्ने चाउचाउको नाम उनीहरूले रारातालबाट सापटी लिए ।

राजा महेन्द्रले रारातालमाथि लेखेको कविताको चर्चा उत्कर्षमा रहेको बेला थियो ।

‘त्यो बेला रारातालको खुब चर्चा थियो । देशकै सबैभन्दा ठूलो ताल पनि भयो, साह्रै सुन्दर छ भनेपछि त्यही नाम लियौ,’ सूर्यले प्रकाश पारे, ‘तर रारामात्रै होइन, फेवा र रूपा भनेर पनि अरु चाउचाउ निकाल्यौं ।
ब्रान्डिङचाहिँ राराकै गरियो ।’

तर उनीहरूले सोचेजस्तो भएन । चाउचाउ खाने चलन त के घरबाहिर खाजा खाने चलनै थिएन । खाजा भनेको मासु चिउरा हुन्थ्यो । आलु, तरकारी वा कताकतिमात्रै बिस्कुट खाइन्थ्यो । काठमाडौंतिर ममको चलन सुरु भएको थियो ।

गण्डकी नुडल्सले दिनमा ७ सय ५० बाकस रारा चाउचाउ उत्पादन गर्थ्यो तर बिक्रीचाहिँ ५० बाकसमात्रै हुन्थ्यो ।

एक त खाजामा चाउचाउ खाने चलनै नहुनु अर्को कतिपयले त चाउचाउलाई गड्यौला जस्तो भन्ठानेर घिन पनि मान्थे ।

सिन्के चाउचाउमै फ्लप भएका उनीहरू फेरि फसादमा परे । लगानी त्यतिका थियो, पछाडि फक्र्यो भने डुब्नुको विकल्प हुन्थेन । त्यो विकल्प रोज्नै कुरै थिएन ।

उपाय निकाले, सबैभन्दा पहिला चाउचाउ खान बानी पार्ने । चोकचोक र गल्लीगल्लीमा चाउचाउ पकाएर सित्तैमा खुवाउन थाले ।

चाख्दा चाख्दै खाँदा खाँदै धेरैलाई आकर्षित बनायो चाउचाउले । २० प्याकेट चाउचाउको खोल ९र्‍यापर० फिर्ता गरे एउटा बटुका दिने उपहार योजना ल्याए । अनि चल्न थाल्यो चाउचाउ ।

रेडियो सबैका घरमा थिएनन् । टीभीको जमानै सुरु भएको थिएन । प्रचारप्रसारको माध्यम भनेको पोस्टर पम्प्लेट आदि परम्परागत तरिका थिए ।

फिल्म हल पनि विज्ञापन गर्ने थलो हुन सक्थ्यो । त्यो माध्यममा जाने निधो गरे । तर, भिडियो विज्ञापन पोखरामा त के काठमाडौंमै बनाउन मुस्किल हुने जमाना थियो ।

४० को दशकमा हुर्के बढेको पुस्ताले अहिले पनि सम्झने रारा चाउचाउको विज्ञापन ‘आर ए आर ए रारा, मिठो भन्छन्ु सारा फिल्म हलमा देखाउन बनाइएको बताउँछन् सूर्यबहादुर ।

उनका अनुसार माइतीघर फिल्मको टोलीलाई त्यो विज्ञापन बनाउने जिम्मा दिइएको थियो ।

‘भारतमा गएर बनाएको हो,’ उनी भन्छन्, ‘संगीतचाहिँ शम्भुजीत बास्कोटाले गर्नुभएको थियो, अरु कसकसले के के गर्नुभयो, त्यति सम्झना रहेन ।’

उनीहरूले बनाएको विज्ञापन थियो तर गीतजस्तै गरी मानिसको जीब्रोमा झुन्डिन थाल्यो, ‘आर ए आर ए रारा, मिठो भन्छन् सारा । अझै पनि राराको विज्ञापन यही हो, केहीकेही मोडिफाइचाहिँ गरिएको छ ।

रारा चाउचाउको उप्पादनको कथा एउटा उद्योग खुल्नुको कथा मात्रै होइन । एक त चाउचाउको इतिहासमा दक्षिण एसियाकै पहिलो चाउचाउ हुनुको कीर्तिमानी योसँग छ ।

राराको लगत्तै २ महिनापछि भारतमा म्यागी चाउचाउ सुरु भएको थियो । नेपालमा केही वर्षपछि अर्को चाउचाउ उद्योग आयो, वाईवाई । त्यसपछि पनि चाउचाउको लहरै अद्यापि चलिरहेको छ । तर राराको गति उही छ । रारा ह्वाइट नुडल्स हो, वाईवाई ब्राउन ।

मुलुकमा सर्वाधिक चलेका यिनै दुई चाउचाउ होलान् । तर, स्वाद र पारखी भिन्दाभिन्दै भएकाले यीबीचको तुलना हुन्न ।

राराले खनेको चाउचाउ बजारको राजमार्गमा कुद्न धेरै चाउचाउ आएका पनि थिए ।

तर धेरैजसो चम्कँदै झरेका आकाशपिण्ड जस्तो गरी आकासमै बिलाए, रारा भने चाउचाउ आकाशको ध्रुव ताराजस्तो गरी अहिले पनि उस्तै गतिमा चम्किरहेको छ ।

रारा चाउचाउले देशको खाजा संस्कृतिमै यसले परिवर्तन ल्याएको उद्योगी सूर्यबहादुर केसी दाबी गर्छन् । भन्छन्, ‘खाना खाए धानकै चामलको भात, खाजा खाए धानकै चामलको चिउराको चलनबाट गहुँको परिकार खाने चलन ल्यायौं, फुट ह्याबिट चेन्ज गर्‍यौं ।’

उनको अर्को दाबी के हो भने चामलका चिजबिजमात्रै खाने संस्कृति हुँदा खाद्य संकटै आउन सक्थ्यो ।

त्यो संकट गहुँका परिकार खाने संस्कृति बसालिँदा टर्‍यो । ‘पोखराका फाँटमा एक बाली धान लगाएर बाँझै छाडिन्थ्यो, तराईमा गहुँ पनि हुन्थ्यो, पहाडतिर गहुँका खानेकुरा खाने चलन कम थियो,’ भन्छन्, ‘गहुँका परिकार खाने चलन बढ्दा चामलमाथिको निर्भरता ३० प्रतिशतसम्म घटेको हाम्रो अडकल हो ।’

सूर्यबहादुर केसी, जो अहिले रारा चाउचाउको उप्पादक उद्योग हिम श्री फुड्सका कार्यकारी अध्यक्ष हुन्, उनको व्यासायिक क्षेत्र अहिले धेरै फराकिलो भइसकेको छ ।

खास गरी जलविद्युत्को क्षेत्रमा उनको लगानी विस्तारित छ । निर्माण व्यवसाय त भइहाल्यो, त्यसबाहेक राजनीतिक पहिचान पनि उनीसँग छ । चाउचाउ उद्योग खोल्दाताकै पोखरा नगर पञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए उनी ।

पहिलो संविधान सभामा राप्रपाबाट सभासद पनि भए ।अहिले राजनीतिमा निस्क्रिय छन्, अरु व्यावसायिक क्षेत्रमा सक्रिय नै ।

कारोबारको हिसाबले अति कम प्राथमिकतामा पर्नुपर्ने अवस्थामा रारा चाउचाउ नै होला ।

तर उनलाई उद्योगीका रूपमा चिनाउने र सर्वसाधारणले चिन्ने सजिलो परिचय रारा चाउचाउले नै दिएको छ ।

आजभन्दा ४० वर्षअघि लाहुरेले ल्याउने कोसेलीमा नछुट्ने खानेकुरा हुन्थ्यो, चाउचाउ ।

रारा चाउचाउ उद्योग खुल्नुको कथा मात्रै होइन । चाउचाउको इतिहासमा दक्षिण एसियाकै पहिलो चाउचाउ हुनुको कीर्तिमानी योसँग छ ।

रारा चाउचाउले मार्केट लिएकै हुँदा भारतको म्यागीले उद्योगै किन्न खोजेको थियो ।

गण्डकी नुडल्सबाट सुरु भएको रारा हिम श्री फुड्ससम्म आइपुग्दाका कथा आरोह अवरोहका कथा हुन् ।

सूर्यबहादुर भन्छन्, ‘सुरुमा गण्डकीको क्षमता कम थियो, क्षमता बढाएर एभरेस्ट नुडल्स बनायौं, फेरि क्षमता बढाएर हिम श्री फुड्स भयो ।ु गण्डकी नुडल्सको क्षमता दैनिक २० हजार, एभरेस्टको ५० हजार र २०५८ देखि हिम श्रीको क्षमता डेढ लाख प्याकेट रहेको उनी बताउँछन् ।

हिम श्री फुड्समा लगानीको ८५ प्रतिशत हिस्सा सूर्यबहादुरकै छ । अरु पार्टनरहरु थिए, उनीहरू एक एक गरी अलग भए ।

रारा चाउचाउले मार्केट लिएकै हुँदा भारतको म्यागीले उद्योगै किन्न खोजेको सूर्यबहादुरले सुनाए ।

उसले राम्रो अफर गरेका कारण साझेदारबीच मतैक्य हुन नसक्दा तितरबितर भएको र अहिले आएर एक्लै हुनुपरेको कथा कहन्छन् ।

रारालाई बेच्ने साझेदारको निर्णयका बीच आफूमात्रै एक्लो भएपछि अर्कै चाउचाउ उद्योग खोल्ने कसरत गरेको सुनाउँछन् उनी । भन्छन्, ‘स्वदेशी उद्योग चाहिन्छ भनेर अर्कोको तयार गर्र्यौं, पछि रारा बेचिएन, अर्को चाउचाउ उद्योग रम्भा जन्मियो ।

त्योचाहिँ मेरै साथी हरि पाण्डेले अगाडि बढाउनुभयो ।ु रम्भा पनि राराजस्तै ह्वाइट नुडल्स नै हो ।

सूर्यबहादुरसँगको साझेदारी टुटेपछि फणीन्द्रमान श्रेष्ठले अर्को चाउचाउ उद्योग खोलेका थिए, फेमी । तर, त्यो उद्योग धेरै वर्ष चलेन । बन्द भएकै दसक नाघ्यो । कृष्ण आचार्य चाहिँ २०४६ को राजनीति परिवर्तनपछि सूर्यबहादुरसँगको साझेदारीबाट अलग भएका थिए ।

उनीहरूबीच राजनीतिक विचारमा मत भिन्नता जो थियो । सूर्यबहादुर छोडेर जाने सबैबाट लगानीको कैयौं गुणा बढी मूल्यमा उनीहरूको सेयर आफूले स्वीकारेको बताउँछन् ।

‘म्यागीले १५ वर्षसम्म घाटा हुने र त्यसपछिमात्रै नाफा हुने प्रपोजल दिएपछिमात्रै नबेच्न साथीहरू कन्भिन्स भएु, उनले सुनाए, ‘मैले त नेपालीले खोलेको उद्योग नबेचौं, जति धेरै पैसा दिए पनि पैसाको लागि स्वाभिमान नबेचौं भनेकै थिएँ ।’

चाउचाउको बजारमा कहाँ छ त रारा ?

‘हाम्रो हिस्सा कम होला, तर गर्व गर्न लायक छ । स्वास्थ्यप्रति सचेत पारखीले रारा मन पराइरहेका छन् ।’ मार्केटिङ नगरे पनि पारखीले मन पराइरहेको चाउचाउका मार्केटिङ म्यानेजर गोपाल केसी सुनाउँछन् ।

सुरुमा रारा चाउचाउको मूल्य साढे ३ रुपैयाँ प्याकेट थियो । ५, ८, १० हुँदै अहिले १७ रुपैयाँ पुगेको छ । चाउचाउबीच यस्तो मूल्यको मल्ल युद्ध नै छ ।

त्यसैले समयानुसार मूल्य वृद्धि हुन नसकेको हो भन्छन् सूर्यबहादुर ।
भन्छन्, ‘३ रुपैयाँमा चाउचाउ बेच्दा मुग्लिनमा २० रुपैयाँ छाक भात पाइन्थ्यो, अहिले भातको मूल्य २ सय पुग्दा पनि चाउचाउको २० पुग्न सक्या छैन, एक कप चियाभन्दा सस्तो छ ।ु कच्चा पदार्थको भाउ पनि अकासिएको छ । ऊ बेला अमेरिकी एक डलर बराबर ७ रुपैयाँ थियो,

उनीहरूले उद्योग सुरु गर्दा अहिले सय नाघेको छ । एउटा अन्डा मिसाएर एक प्याकेट चाउचाउ खाँदा भोक मज्जैले टर्ने दाबाका साथ सूर्य योभन्दा सस्तो खाना र खाजा केही नभएको ठोकुवा पनि गर्छन् ।

घिउतेल लगायत कच्चा पदार्थमा भन्सार लगायत करका कारण लागत महँगो परिरहेको उनको अनुभव छ ।

तराईबाट कच्चापदार्थ ल्याउने र पोखराबाट फेरि तराईकै बजारतिर जाने गर्दा ढुवानी भाडाले ढाँड सेक्छ पनि भन्छन् ।

नाफा खासै नभए पनि ३३ वर्षको विरासतलाई धान्न सकेकोमा सूर्यबहादुर गर्व गर्छन् ।

रारा ह्वाइट नुडल्सको उत्पादक हिम श्री फुड्सले ब्राउन नुडल्स आहा पनि उत्पादन गर्छ ।

१५ वर्षदेखि पोखरामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मुख्य प्रायोजन गर्दै आइरहेको थियो ।

पछिल्लो समय रारा पनि जोडेर हिम श्री फुड्सले उक्त प्रतियोगितालाई साथ दिएको छ ।

प्रतियोगिताको नामै छ, आहारारा फुटबल प्रतियोगिता । त्यो पनि आफूहरूको मार्केटिङका लागि मात्रै नभई फुटबलको विकासका लागि भनेर सामाजिक उत्तरदायित्व निर्वाह गरेको उद्योगी केसी बताउँछन् ।

(अन्नपूर्ण पोस्टबाट)

तपाईको प्रतिक्रिया