सज्जन थिए सूर्यबहादुर

समाधान संवाददाता २०७७ कार्तिक १९ गते १०:००

राघवलाल वैद्य

अकस्मात् उनको अवसानबाट उनीसँग फेरि भेट्ने र सुखदुखका बात मार्ने धोको त्यत्तिकै रह्यो !

कस्तो निर्विवेकी दैव ।

Advertisement

प्रकृतिको अपरिहार्यता र दैवको यस्तो निष्ठुरताले असल व्यक्ति हामीबाट खोसेर लगेको छ ।

कमी कमजोरी कस्को हुँदैन ?

Advertisement

मानिस हो भै नै हाल्छ, तर सभ्य मानिसहरुका बीच उनको अलग पहिचान थियो । विचार भिन्नताको बाबजुद सकारात्मकता र हार्दिकता सहितको मुस्कानले धेरैको मन जितेका थिए उनले ।

अरुको दुख र अभावले भित्र भित्रै रुन्थे । मानवीय सद्भावको छुट्टै विशेषता भेट्थें मैले उनमा ।

चित्त नबुझेका कुरामा तर्क, तथ्यांककै आधरमा आफ्ना कुरा राख्न पनि सिपालु थिए । तथ्यांक र हिसाब किताबको मौखिक विलक्षणताले कतिपय त विष्मित हुन्थे ।

व्यावहारिक दूरदर्शिता र कल्पनाशील दक्षताको बलबुताले नै उनले आफूलाई भिन्न र सफल व्यवसायीका रुपमा स्थापित गर्न सकेका हुन् ।

धेरै काम गर्ने धोको हुँदाहुँदै स्वास्थ्यले साथ नदिँदा नदिँदै पनि आफ्नो व्यावसायिक विरासत, सन्तति र कतिपय साथीभाइकाबारे भेट हुँदा चिन्ता गर्न छोड्दैनथे ।

धेरै कुराहरु छन् । सम्झिरहेछु, यतिखेर सबै बेलिबिस्तार गर्न मन मानिरहेको पनि छैन । मनले मात्र हैन व्यावहारिक रुपमै उनी दिलदार हितैषी थिए मेरा लागि त ।

मलाई पोखरामै आउन र बस्न गरेको उदार प्रस्ताव मैले बिर्सने कुरै भएन ।

धेरै भयो भेट नभएको, पोखरा गइएछ भने र अनुकुल मिले भेटेर दाजुभाइ बात मार्ने धोको थियो तर बिहानैको एउटा फेसबुक पोस्टले पहिरो ल्यायो । असाध्यै विष्मात लागेको छ ।

कहिल्यै नफर्कने गरी महाप्रस्थान गरेका मेरा अनन्य मित्र र भाइ दिवंगत सूर्यबहादुर केसीको अमर आत्माको शान्तिपूर्ण वैकुण्ठबासको कामना गर्दछु ।

उनको धर्मपत्नी, छोराहरु र सबै परिवारजन समक्ष सस्नेह समवेदना प्रकट गर्दछौं हामी । अन्त्यमा उनीप्रति हार्दिक श्रद्धाञ्जली !

यो पनि

कालको पदमा परेर फर्केका सूर्य

तपाईको प्रतिक्रिया