क्व्होलासोंथर गाउँपालिका भवन शिलान्यास

समाधान संवाददाता २०७७ कार्तिक १९ गते १२:२३

पाेखरा

लमजुङको क्व्होलासोंथर गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको वडा नंं. २ मालिङमा प्रशासकीय भवन निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ ।
भवनको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्मन्त्री गुरुङले गाउँपालिकाको सेवा प्रवाहलाई सहज बनाउन, शुसासनको कामलाई प्रत्याभूत गराउन भवनको अतिआवश्यक हुने बताए ।
गाउँपालिकाको आफ्नै भवन भएमा विकास निर्माणको काममा पनि अघि बढ्न सकिने भएकाले प्रदेशले गाउँपालिकासंग मिलेर साझेदारी अभियानमार्फत गाउँपालिकाको भवन निर्माण गर्न लागेको उनको भनाई छ ।
जग्गा व्यवस्थापन गाउँपालिकाले गर्ने र प्रदेशले भवनका लागि सहयोग गर्ने भनिए पनि जग्गा अभावका कारण लक्ष्य अनुसार भवन बन्न नसकेको गुरुङले बताए ।
प्रदेश र गाउँपालिकाको साझेदारी अभियान मार्फत गतवर्ष १६ वटा गाउँपालिकाको भवन निर्माण सम्पन्न भएको र यस वर्ष केही गाउँपालिकाको भवन बन्दै गरेको बताए ।
अर्को प्रसंगमा उनले प्रदेशको मुख्यमन्त्री भएपछि आफ्नो जन्मस्थान र क्षेत्रलाई मात्र विकास गरेर नहुने बताए । समान ढंगले काम गर्नुपर्दा २ वर्षसम्म आफ्नो निर्वाचन क्षेत्र, आफ्नो गाउँपालिकामा त्यति काम गर्न नसकेको मुख्मन्त्री गुरुङले स्वीकार गरे ।
मुख्यमन्त्री गुरुङले केही शक्तिहरु संघीयताको विरोधी रहेको र जनतालाई अधिकार सम्पन्न देख्न नचाहने रहेको बताए । गाउँ÷गाउँमा, जिल्ला÷जिल्लामा, प्रदेश÷प्रदेशमा सिंहदरबार देख्न नचाहनेहरुले संघीय प्रणाली धेरै महंगो भएको आरोप लगाएको उनले बताए ।

अहिले गण्डकी प्रदेश सरकार नागरिकको घरघरमा बिजुली, खानेपानी, सडक पु¥याउने कार्यमा रहेको उनको भनाइ थियो । पोखराबाट प्रत्येक गाउँपालिका केन्द्रसम्म ८ मिटर फराकिलो बाटो पु¥याउने, जनताले प्रदेशमै मुट, मृगौला, कलेजो, क्यान्सरको उपचार गर्न मिल्ने गरी अस्पताल बनाउने उनले प्रतिबद्धता जनाए । उनले नेपालको शिक्षाको गुणस्तरका कारण धेरै विद्यार्थी विदेश गएर पढ्न बाध्य भएकाले प्रदेशमा विश्वविद्यालय सञ्चालनमा लागेको बताए ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश सभा सदस्य धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नेकपा जिल्ला कार्यालय सदस्य कृष्णप्रसाद अधिकारी, नेपाल कांग्रेसका रघुनाथ गुरुङलगायतले गाउँपालिकाको भवन बनेपछि नागरिकलाई सेवा प्रवाहमा सहज हुने बताए ।
क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले गाउँपालिकाको प्रशासकीय भवनको निर्माण समय अगावै सम्पन्न गर्ने बताए । २ वर्षको समय भए पनि १५ महिनामा सकाउने दावी गर्नुभयो । ३ तले भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले गतबर्ष १ करोड र यस वर्ष ५० लाख रुपैयाँ गरी १ करोड ५० लाख विनियोजन गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा ७५ लाख ४७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आवश्यक रकम प्रदेश र गाउँपालिकाले विनियोजन गर्दै जाने जनाएको छ ।

भवन निर्माणका लागि रविना÷अविशा÷विकन जेभी निर्माण सेवा प्रदायक कम्पनीसँग ४ करोड २० लाख रुपैयाँमा सम्झौता भएको छ । २०७७ असोज ३० गते सम्झौता भएकोमा २०७९ असोज ३० गते सम्पन्न गरिसक्नुपर्नेछ ।
भवन निर्माण गर्न ३ आना जग्गा वडाध्यक्ष बुद्धिप्रसाद गुरुङले निशुल्क दिएका हुन् । २ रोपनी १ आना २ पैसा जग्गा खरिद गरी २ रोपनी ४ आना २ पैसामा निर्माण हुन लागेको हो ।
क्व्होलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनी गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारु मगरले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया