गण्डकी सरकार असफल भएकाे कांग्रेस ठहर

समाधान संवाददाता २०७७ कार्तिक २० गते २२:४९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा सरकारका कदम प्रभावहीन बनेको भन्दै गण्डकी सरकार असफल भइसकेको बताएको छ ।

कांग्रेसले कोरोना नियन्त्रणका लागि सरकारसमक्ष जनमुखी प्रस्ताव राखेको तर सरकारले भने त्यसलाई बेवास्ता गरेका कारण नै अहिलेको अवस्था आएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलले बताए ।

Advertisement

पोखरामा बिहीबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ बाट प्रदेश र जनतालाई हुनसक्ने क्षतिबाट बचाउन नेपाली कांग्रेस संसदीय दल गण्डकीले विभिन्न समयमा सुझाव दिने, माननीय मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिने, भेटेर छलफल गर्ने लगायत प्रयास भएकै हो ।’

‘एक घर, एक पिसिआर’ लगायत कोभिड १९ सम्बन्धी संकल्प प्रस्ताव समेत प्रदेसभामा दर्ता गराएको तर सरकार गैरजिम्मेवार भएर नेपाली कांग्रेसको जनमुखी सकारात्मक मागलाई नजरअन्दाज गर्ने, अस्वीकृत गर्ने कार्य गरेको दलको आरोप छ ।

Advertisement

नेपाली कांग्रेसले आंकलन गरेको कोभिड १९ को दुष्परिणाम अहिले आएर यथार्थमा परिणत भएको प्रतिपक्षी दल कांग्रेसका मुख्य सचेतक मणिभद्र शर्मा कँडेलले बताए । निर्णयमा भनिएको छ, ‘यस विषम परिस्थितीमा जनताको पिसिआर गर्ने, संक्रमित र अन्य रोगको उपचार समेत गर्न सरकार असफल भएको सिद्ध भएको छ ।’

संघ सरकारले कोरोना संक्रमितको निशुल्क उपचार र पिसिआर नगर्ने निर्णयको पनि कांग्रेसले विरोध गरेको छ । ‘नागरिकहरुको निशुल्क पिसिआर गर्ने, उपचार गर्ने तथा समस्यामा परेका अन्य नागरिकको उपचार, समस्याको सम्बोधन तत्काल गर्न गण्डकी प्रदेश सरकारलाई जोडदार माग गर्दछौं,’ दलका सचेतक ओमकला गौतमले भनिन् ।

बैठकले नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीको असामयिक निधनप्रति कांग्रेसले शोक व्यक्त गरेको छ । बिहीबार नै केसीको घरमा दलका पदाधिकारी पुगेको सांसद कुमार खड्काले बताए ।

शोकप्रस्तावमा भनिएको छ, ‘उहाँको निधनले नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेश स्तब्ध र दुखित बनेको छ । उहाँको असामयिक निधनले लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुर्‍याएको छ ।’

तपाईको प्रतिक्रिया