नेकपा सचिवालय बैठक भोलि अपराह्न ४ बजे

समाधान संवाददाता २०७७ कार्तिक २७ गते ११:३१

काठमाडौं

लामो रस्साकस्सीपछि अन्ततः प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक डाकेका छन्।

महासचिव विष्णु पौडेलमार्फत सचिवालय बैठक बस्ने समय तय भएको हो। शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको छ।

Advertisement

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालसहित पाँच जना सचिवालय सदस्यहरूले ४८ घण्टाभित्र सचिवालय बैठक डाक्न अल्टिमेटम दिएका थिए। तर, ओली जतिखेर भन्याे उतिखेर बैठक बस्न नसकिने भन्दै पन्छिँदै आएका थिए।

४८ घण्टे अल्टिमेटम सकिएपछि पनि २७ गतेसम्म कुर्ने नभए अर्का अध्यक्ष दाहालले बैठक डाक्ने गरी बहुमत सदस्यले तयारी गरेका थिए। बहुमत सचिवालय सदस्यहरू बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने पक्षमा थिए।

Advertisement

आफू अप्ठेरोमा पर्ने देखेपछि ओलीले महासचिव पौडेलमार्फत शुक्रबारका लागि सचिवालय बैठक डाकेका हुन्।

दाहालसहित नेता आज पनि सचिवालय सदस्यहरूसँग छलफल गर्ने बताइरहेका बेला प्रधानमन्त्रीले नै सचिवालय बैठक तय गरेका छन्।

केही समयअगाडि बसेको नेकपा स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएपछि नेकपामा सचिवालय बैठक बोलाउनुपर्ने माग लामो समयदेखि उठेको हो।

बैठककै विषयमा पछिल्लो १० दिनयता नेकपामा विवाद चर्किएको थियो । बैठक बस्न आग्रह गर्दा ओलीले बरु अलग भएर जाउँ भनी प्रस्ताव गरेको दाहालले अन्य नेतालाई बिफ्रिङ गरेका थिए।

तपाईको प्रतिक्रिया