नेकपाको घरझगडा

समाधान संवाददाता २०७७ मंसिर ४ गते ७:१६

सम्पादकीय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चरम घर झगडामा छ । शीर्ष नेतृत्वबीचको शक्ति संघर्ष यति साह्रो चर्केको छ कि यो पार्टी आजै फुट्छ, भोलि नै फुट्छ कि भन्ने अवस्थामा छ ।

नेपाली राजनीतिमा व्याप्त अस्थिरताको घनघोर निराशालाई चिर्दै झन्डै दुईतिहाई बहुमतका साथ बनेको पार्टीको सरकार आजै ढल्छ कि भोलि ढल्छ भन्ने आशंका चौतर्फी मडारिएका छन् ।

Advertisement

जुन पार्टीले स्थिरताको नारा दिएको थियो, सत्तामा पुगेर त्यसलाई भुसुक्कै भुलेको प्रतीत भइरहेको छ ।

खासमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको लडाइँले कम्युनिस्ट पार्टीका आफ्नै गतिविधि अघि बढ्न रोकिएको मात्रै होइन, सरकार पनि गतिहीन भएको छ ।

Advertisement

जनता कोरोनाको उपचार नपाएर मरिरहँदा पनि सरकारले त्यता ध्यान दिनुको सट्टा आफ्नै पार्टीभित्रको आन्तरिक खिचातानी किचलोमा रुमलिरहनुपरेको छ । खासमा सरकारले जनताका लागि कुनै उपलब्धिपूर्ण काम गर्न सकेको छैन ।

पार्टीले सरकार चलाउने कि सरकार आफैं चल्ने भन्ने विषय नेपाली राजनीतिमा २०४८ सालदेखि नै विवाद र बहसको विषय हो । अहिले नेकपामा देखिएको विषय पनि त्यसकै निरन्तरता हो ।

संसदीय परम्परा भएका मुलुकमा पार्टीको एजेन्डामा चुनाव लड्ने र जितेपछि सरकारले त्यसको कार्यान्वयन गर्ने गरेको देखिन्छ । पार्टीभन्दा सरकार नै बढी जिम्मेवार र मुखर हुन्छ ।

त्यसैले नै अमेरिका वा बेलायत लगायत मुलुकमा त्यहाँका पार्टी अध्यक्ष वा अरु शीर्ष नेताहरुभन्दा सरकार प्रमुखका हैसियतमा राष्ट्रपति वा प्रधानमन्त्री नै बढी क्रियाशील र जवाफदेही हुन्छन् ।

छिमेकी भारतमै सत्तारुढ पार्टी भाजपाका अध्यक्ष भइसकेका र वर्तमान अध्यक्ष नै सरकार मन्त्री बनेका छन्, प्रधानमन्त्री भने अर्कै नेता । नेपालमा बडो बिजोग छ, जो पार्टी अध्यक्ष उही प्रधानमन्त्री बन्ने सबै पार्टीमा प्रायचलन देखिन्छ ।

त्यसो नहुँदा पार्टी अध्यक्षले सरकार प्रमुखलाई दबाबमा राख्ने प्रवृत्ति प्रयास गर्छन् र झगडा निम्तन्छ । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री र गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा कांग्रेसमा त्यही रोग देखियो, शेरबहादुर देउवा प्रधानमन्त्री र कोइराला पार्टी सभापति भएका बखत पनि त्यस्तै भयो ।

कांग्रेस पनि फुट्यो र त्यसपछिका निर्वाचनमा हार व्यहो¥यो ।

निकट विगतकै शिक्षा पनि नेकपाका लागि उपयोगी हुनुपर्ने हो । तर त्यसो हुन सकेको छैन । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई र ओली अर्का अध्यक्ष दाहालालाई कमजोर बनाउन उद्यत छन् ।

दुवैका पक्षमा अरु शीर्ष नेता पनि कम्मर कसेर लागेका छन् । एउटै पार्टीका दुईथरी नेताहरुबीचको शक्ति संघर्ष मल्ल वा यदुवंशी युद्ध भन्दा फरक छैन, जो आफ्नाहरुलाई नामेट पार्ने गरी लागेका छन् ।

खासमा हुने क्षति त उनीहरु स्वयंलाई नै हो । त्यसको परिणाम देशले पनि भोग्नुपर्ने र जनताले पनि सहनुपर्ने बिडम्वना उत्तिकै नमिठो छ ।

कुनै एक पार्टी टुक्रिनु, फुट्नु वा सक्किनु नै मुलुकको इतिहासका लागि खास ठूलो विषय होइन पनि तर सरकार र जनतालाई भुंग्रामा हालेर त्यसैको आगोमा हात सेक्ने नेताको प्रवृत्ति वास्तवमै जनघाती र राष्ट्रघाती छ ।

यस्ता प्रवृत्तिमा सुधार आउँदैन र ल्याउँदैनन् भने नेकपाको भविष्य बाँकी रहन्न । जनताले आफ्नो चाहना नेतृत्व अर्काे खोज्छ, वा जन्माउँछ र निर्माण गर्छ ।

नेकपाका नेताहरुलाई चेतना हुनुपर्ने विषय यही हो ।

तपाईको प्रतिक्रिया