अस्पताल बनाउन जग्गा खोज्दै महानगर

समाधान संवाददाता २०७७ मंसिर ९ गते १०:३५
sdr

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकाले अस्पताल बनाउन जग्गा खोजी सुरु गरेको छ ।

‘एक पालिका एक अस्पताल’ बनाउने केन्द्र सरकारको नीति अनुरुप महानगरभित्र अस्पताल बनाउने जग्गाको खोजी हो ।

Advertisement

महानगरको ४ मंसिरमा बसेको नगर कार्यपालिकाको बैठकले जग्गा खोजीका लागि समिति गठन पनि गरेको छ ।

महानगरका प्रवक्ता धनबहादुर नेपालीले डाक्टर नारायण ओझाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए ।

Advertisement

नेपाल सरकारले एक पालिका एक अस्पताल स्थापना गर्न मंसिर १५ गते देशैभरि शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ ।

त्यसैका लागि महानगरले पनि सोही दिन शिलान्यास गर्ने गरी जग्गा खोजीको काम अगाडि बढाएको प्रवक्ता नेपालीले बताए ।

‘हामीले मंसिर १५ गते शिलान्यास गर्ने गरी जग्गा खोजीको काम अगाडि बढाएका छौं,’ नेपालीले भने ।

गठित समितिमा डा. सरोज पोखरेल, किर्तीसागर बराल, पोखरा २६ का वडाध्यक्ष नारायण प्रसाद बराल, पोखरा २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङ, वडा ३० का वडाध्यक्ष श्रीराम पोखरेल सदस्य छन् ।

समितिको सदस्य सचिव पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा छन् ।

बैठकले पोखरा १० रामघाटमा बन्ने भनिएको विवादित विद्युतीय शवदाहगृह निर्माणको सहजिकरणका लागि समिति गठन गरेको छ ।

पोखरा १० का वडाध्यक्ष शोभामोहन पौडेल संयोजक छानिएका छन् भने सदस्यहरुमा रामराज लामिछाने र राजकुमार गुरुङ्ग रहेका छन् ।

शान्ति वन मासेर विद्युतीय शवदाह गृह बनाउन लागेको भन्दै स्थानीयले निरन्तर विरोध गरेपछि विद्युतीय शवदाहको काम अगाडि बढ्न सकेको छैन ।

ठेक्का सम्झौता भएर महानगरले काम गर्न निर्देशन दिएपनि काम गर्न नपाएपछि सिनर्जी काठमाडौं फर्किएको छ । विद्युतीय शवदाह गृह निर्माण रोक्न भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

तपाईको प्रतिक्रिया