मुस्ताङमा चीनले दियो स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७७ मंसिर २९ गते १०:५२

एसके थकाली, जोमसोम

उत्तरी छिमेकी देश चीनले मुस्ताङलाई कोरोना रोकथामका लागि तेस्रोपटक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

चीनको स्वशासितक्षेत्र तिब्बतको ढुङ्वा काउन्टीले शुक्रबार २० हजार थान सर्जिकल माक्स, ५ हजार थान सर्जिकल ग्लोब्स र २ सय थान टेस्ट कीट जिल्ला स्वास्थ कार्यालय मुस्ताङलाई सहयोग गरेको कार्यालय प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।

Advertisement

चीनतर्फ मुस्ताङको उत्तरी कोरला नाकामा खटिएका चिनियाँ डिएसपी निमा लगायतको सुरक्षाकर्मीको टोलीले जिल्ला स्वास्थ्य कार्यालयको टोलीलाई माक्स,ग्लोब्स र कीट बुझाएको स्वास्थ प्रमुख भण्डारीले उल्लेख गरे ।

उनीहरुले सामग्री हस्तान्तरण गर्नुअघि व्यक्ति,गत सुरक्षा उपकरण (पिपिई) लगाएर डिसइन्फेक्सन गराएका थिए ।

Advertisement

चीनको ढुङ्वा काउन्टीले नेपालमा कोरोनाका कारण लकडाउनको अवधिको समयमा पहिलो र दोस्रोपट्क गरी ठूलो परिमाणमा मुस्ताङलाई माक्स,सेनेटाईजर,ग्लोब्स, पिपिई र डिसइन्फेक्सन उपकरण सहयोग गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए ।

चीनबाट उपलब्ध स्वास्थ्य सामग्री ५ वटै स्थानीय तहका स्वास्थ्य चौकी,सुरक्षाकर्मी,विद्यालय,संघसंस्था र कर्मचारीलाई माग र औचित्यको आधारमा वितरण गरिएको उनले बताए ।

चीनको तिब्बत ढुङ्वा काउन्टीले उपल्लो मुस्ताङको २ पालिकालाई २ पटकसम्म खाद्यान्न तथा विभिन्न राहत सामग्री वितरण गरेको थियो ।

यसअघि चीनले उपल्लो मुस्ताङका किसानलाई घाँस काट्ने रिफर मेसिन निशुल्क सहयोग गरेको लोघेकर दामोदरकुण्ड गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे ।

उनका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर गापालाई बर्सेनि चीनले राहत सामग्री सहयोग गर्ने गरेको बताए ।

तपाईको प्रतिक्रिया