‘रोयल्टी व्यवस्थापनमा प्रदेश उदासीन’

समाधान संवाददाता २०७७ पुष २० गते १२:११

समाधान संवाददाता, पोखरा

गायक र संगीतकारहरुले गण्डकी प्रदेश सरकारले रोयल्टी व्यवस्थापनमा तदारुकता नदेखाएको गुनासो गरेका छन् । उनीहरुले प्रदेशले रोयल्टी व्यवस्थापनका लागि कानुन नबनाएको भन्दै गुनासो गरे ।

प्रतिलिपि अधिकार कानुन कार्यान्वयन एवं रोयल्टी व्यवस्थापनमा प्रदेश सरकारको भूमिका विषय कार्यक्रममा प्रस्तोता समाज नेपालका पूर्व अध्यक्ष तुलसी पराजुलीले प्रदेश सरकारले गत वर्ष प्रतिवद्धता गरे पनि कानुन नबनाएको उल्लेख गरे ।

Advertisement

‘राजनीतिक खिचातानी आफ्नो ठाउँमा भए पनि हाम्रो सवाल कहीं कतै ओझेलमा नपरोस्,’उनले भने, ‘प्रतिलिपि अधिकार ऐन तथा नियमावली कार्यान्वयन पक्ष कमजोर छ ।’

गीत, संगीत सार्वजनिक रुपमा प्रयोग गरेवापत रोयल्टी तिर्नुपर्ने जानकारी दिँदै उनले ४७ क्षेत्रमा रोयल्टी उठ्ने ठाउँ भए पनि वितरण व्यवस्थापनमा कठिनाई भएको उल्लेख गरे ।

Advertisement

संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्काले नेपालमा ५ अर्ब रोयल्टी संकलन गर्न सकिने अवस्था रहेको जानकारी दिए । बौद्धिक सम्पत्ति संरक्षण नभए मानव जनावरसरह हुने तर्क गर्दै उनले बौद्धिक सम्पत्ति चोरी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसकेको बताए ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले सकेसम्म प्रतिलिपि अधिकारसम्बन्धी कानुन बनाएर हिउँदे अधिवेशनबाट पारित गर्ने प्रतिवाद्धता गरे । ज्ञान, सीप र स्रष्टाको सम्मान नगरे देशको सन्तुलित विकास नहुने तर्क गर्दै उनले राजनीतिक व्यवस्था फेर्न भूमिका रहेका कलाकारको अवस्था नफेरिएको गुनासो गरे ।

अर्का गण्डकी प्रदेशसभाका सदस्य इन्द्रधारा बिष्टले सबै कलाकार एकजुट भएर लागे सफलता मिल्ने बताए ।

आफू उपल्लो मुस्ताङको ल्हो संगीतको सरंक्षणमा लागेको उल्लेख गर्दै उनले प्रदेशका ऐन, कानुनमा कला, साहित्य र संगीतकर्मीको सवाललाई आवाज उठाएको दाबी गरे । प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमालले रोयल्टीलाई आर्थिक अधिकारको रुपमा लिएर कलाकारले रचनात्मक र सिर्जनात्मक आन्दोलन गर्ने घोषणा गरे ।

कार्यक्रममा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार विष्णुकुमारी भट्टराई, संगीत तथा चलचित्र उत्पादक समाज नेपाल अध्यक्ष निर्मलराज ढकाल, समाजका उपाध्यक्ष सूर्यबहादुर मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य घनश्याम रिजाल, प्रतिष्ठानका गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया